Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

उदयपुरलाई ‘संकटग्रस्त जिल्ला’ घोषणा गर्न माग

उद्‌घोष सम्वाददाता
२३ असोज २०८१, बुधवार

उदयपुर । क्रियाशील राजनीतिक दलहरूले उदयपुर जिल्लालाई बाढी प्रभावित संकटग्रस्त जिल्ला घोषणा गर्न माग गरेका छन् । उदयपुरका राजनीतिक दल तथा जनप्रतिनिधीहरुको टोलीले जिल्लालाई संकटग्रस्त घोषणाको माग गर्दै मंगलबार उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सरकारको नेतृत्व गरिरहेका दलहरू नेकपा एमाले, नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला तथा प्रदेश तहका नेता, प्रदेश सभाका सदस्यहरू लगायतको टोलीले प्रजिअ घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनीहरूले जिल्लाका बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन पश्चात तयार पारेको क्षतिको विवरणसमेत प्रजिअ घिमिरेलाई बुझाएका छन् ।

दलहरूले जिल्लाको सडक सञ्जालमा ठुलो मात्रामा क्षति भएको उल्लेख गरेका छन् । उनीहरूले उदयपुरबाट भोजपुर र खोटाङ जिल्लासँग सम्बन्ध विच्छेद भएको, धेरै खेतीयोग्य जमिन बाढीले बगाएको पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । 

असोज १० देखि १२ गतेसम्म परेको अविरल बर्षाको कारण आएको बाढी पहिरोले तीन जनाको ज्यान गएको, जिल्लामा खानेपानी, सिंचाई कुलो, सडक, पुल पुलेसा लगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेकोले उदयपुरलाई प्रकोप प्रभावित जिल्ला घोषणा गरेर भत्किएका संरचनाहरु पुनर्निर्माणका लागि एमालेका संघीय सांसद अम्बरबहादुर रायमाझीले माग गरे ।

एमाले उदयपुरका अध्यक्ष भागवत राउतले बाढी पहिरो पश्चात जिल्ला शान्त देखिए पनि स्थलगत रुपमा हेर्दा धेरै स्थानमा क्षति पुगेको पाइएको बताए । 

नेपाली कांग्रेस उदयपुरका नेता भीमचन्द्र राईले उदयपुरले बाढी पहिरो प्रभावित जिल्लाको सूचीमा तत्कालै राखेर प्रभावितहरूलाई राहत र पुनर्स्थापनाको काम अघि बढाइदिन माग गरे ।

दलले बुझाएको संयुक्त ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ घिमिरेले जिल्ला विपत्त व्यवस्थापन समितिको बैठक राखेर राजनीतिक दलले तयार पारेको क्षतिको विवरण र अन्य मागहरूलाई तत्कालै केन्द्रमा पठाउने बताएका थिए ।

View : 107

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved