Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

मोटरसाइकल चोरीको सञ्जाल, पीडित खोज्न प्रहरीलाई चुनौती

उद्घोष सम्वाददाता
२४ पुष २०८०, मङ्गलवार

विराटनगर । मोटरसाइकल चोरी नियमित हुन्छन् र पीडितले खोजीका लागि प्रहरीलाई आग्रह गर्छन् । तर, पक्राउ परेका एक व्यक्तिले चोरी स्वीकार गर्दै पीडित खोज्न प्रहरीलाई चुनौती दिएका छन् ।

सुनसरी हरिनगर–६ का ४० वर्षीय पेशेवर कारोबारी नजाम अन्सारीले पक्राउ परेपछि मोरङ प्रहरीसमक्ष चोरी स्वीकार गर्दै २५ वटा मोटरसाइकलका धनी पत्ता लगाउन प्रहरीलाई चुनौती दिएका हुन् । उनले दिएको चुनौतीमा सतप्रतिशत प्रहरीलाई सफलता हासिल हुने देखिएको छैन । 

गत मंसिर २९ गते मोरङ प्रहरीले सुनसरी भोक्राहा नर्सिङ–२ का २३ वर्षीय निकाइल अन्सारी र नजामलाई पक्राउ गरेको थियो । उनीहरुले स्विकार गरेका मध्ये ७ वटा मोटरसाइकलको प्रमाण फेला परेको प्रहरीले जनाएको छ । प्रमाण फेला परेपछि प्रहरीले आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा दुबैलाई लागुऔषध र चोरी दुबै मुद्धामा उपस्थित गराएको छ ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार चोरीमा संलग्न रहदै आएको अवस्थामा वैदेशिक रोजगारीका लागि नजाम कतार गएका थिए । सुनसरी फर्किएर उनले सहकारी सञ्चालन गरेका थिए । स्थानीयको दुई करोड रुपैयाँ संकलन गरेपछि भारत छिरेका उनी प्रहरीको खोजीमा थिए । भारत बसाइका क्रममा उनले मोटरसाइकल चोरीको सञ्जाल सञ्चालन गरेको बताइएको छ ।

‘सीमावर्ती क्षेत्रका युवालाई मोटरसाइकलको सूचना दिएर लिन पठाउने गरेका रहेछन्, एउटा मोटरसाइकल सीमा कटाएपछि ल्याउनेलाई ५ हजार भारु दिने गरेका रहेछन्’ प्रहरीका एक अधिकृतले भने । पक्राउ परेपछि नजामले २५ वटा मोटरसाइकल विराटनगरबाट चोरी गराएको स्वीकार गरे पनि क–कसको र कुन–कुन ठाउँबाट चोरी गराएको भन्ने उनले बताउन सकेनन् । 

मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार नजामको समूहले गत भदौ १० गते विराटनगर–२ बन्जारा चोकबाट को २६ प ७७७६ नम्बरको होण्डा साइन मोटरसाइकल, असोज १५ गते  नोबेल मेडिकल कलेज परिसरबाट को ३४ प ८४०४ नम्बरको स्प्लेन्डर, मंसिर ६ गते सेन्ट्रल मलको अन्डरग्राउण्ड पार्किङबाट को १० प ९५६६ नम्बरको स्पेन्डर चोरी गरेको प्रहरीको भनाइ छ ।  

मंसिर ८ गते विराटनगर–९ गुद्री बजारबाट को २८ प ७८१५ नम्बरको यामाहा, मंसिर–९मा कोशी अस्पताल परिसरबाट को २६ प १८११ नम्बरको होन्डा, २२ गते नोबेल अस्पतालबाट को २९ प ५५४ नम्बरको होन्डा र मंसिर २७ मा भाटभटेनी सुपरमार्केटको पार्किङबाट को २१ प ५८९४ नम्बरको होन्डा मोटरसाइकल चोरी गरेको उनीहरूलाई आरोप लागेको छ । 

चोरी मुद्दामा गत ३० गते जिल्ला अदालत मोरङबाट ५ हजार रुपैयाँ धरौटी माग गरेर नतिरेपछि थुनामै रहेका नजामलाई त्यसअघि मोरङ प्रहरीमा बैंकिङ कसुरमा मुद्दा दर्ता भएको थियो । २०७६ माघ २० मा पनि उनीविरुद्ध जबरजस्ती करणीमा मोरङमा मुद्दा दर्ता भएको थियो । केही सार्वजनिक अपराधमा धरौटी बुझाएर सुनसरीबाट छुटेका नजाम नियमित आपराधिक क्रियाकलापमा लागेको देखिएको छ ।

उनलाई २०७६ मा जिल्ला अदालत सुनसरीबाट ९ हजार रुपैयाँ जरिवाना भएको प्रहरीले बताएको छ ।

सहकारी ठगीपछि भारतको सीमावर्ती अररिया जिल्लामा बस्ने क्रममा उनले नेपालको मदिरा बिहारमा लगेर ब्यापार गर्ने कारोबार सञ्चालन गरेको बताइएको छ । पक्राउ परेपछि उनले अपराधहरू स्वीकार गर्दै अनुसन्धान गर्न प्रहरीलाई नै चुनौती दिएपछि उनको पृष्ठभूमि खोज्न केही दिन लागेको प्रहरीले बताएको छ ।

View : 140

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved