विराटनगर : पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित गर्दै मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्म तय गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ लाई लक्षित गर्दै पहिचान पक्षधर दल र संघसंस्थाहरूले बन्द आह्वान गरेको भन्दै नेकपा एमाले कोशी प्रदेश कमिटीले विरोध जनाएको छ । पहिचानवादीको नाममा एमालेको संकल्प यात्रालक्षित गरेर बन्द आह्वान गरिनु दुःखद् भएको एमालेले बताएको हो । उक्त बन्द तत्काल फिर्ता लिनसमेत आग्रह गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय नेताहरू सहभागी संकल्प यात्रा टोली मंसिर २६ गते उदयपुर र ओखलढुंगाको सीमावर्ती घुर्मी बजार हुँदै हर्कपुर प्रवेश गर्ने कार्यक्रम छ । त्यहाँबाट चिवाभञ्ज्याङसम्म कोशी प्रदेशको ४ सय ८३ किलोमिटर दुरीमा यात्रा तय भइसकेको एमालेले जनाएको छ । तर पहिचान पक्षधरहरूले पत्रकार सम्मेलन गर्दै सोही मितिमा पुष्पलाल मध्यपहाडी लोकमार्ग बन्दको आह्वान गरेका छन् ।
संकल्प यात्राबारे शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सचिव एवं कोशी प्रदेश इञ्चार्ज रघुवीर महासेठले उक्त बन्द फिर्ता हुनुपर्ने बताए । उनले पहिचानवादीका नाममा एमालेको संकल्प यात्रालाई अवरोध गर्ने गरी नियोजित रूपमा बन्द आह्वान गरिनु दुःखद् भएको बताए ।
महासेठले नेपालकै पिछडिएको हिमाली र मध्य पहाडी क्षेत्रको विकासमा ठूलो क्रान्ति ल्याउनेगरी पुष्पलाल मध्यपहाडी लोकमार्ग बनेको र त्यस क्षेक्रमा १० वटा ठूला सहर निर्माण गर्न ल्याइएको सोच कार्यान्वयन गर्न एमालेले यात्राको कार्यक्रम बनाएको बताए ।
‘नेपालकै सबैभन्दा पिछडिएको क्षेत्रमा राजमार्ग बनेकाले हाम्रो पार्टीले त्यस क्षेत्रको विकासलाई समेट्न खोजेको हो, समृद्धिको खोजी गरेको हो । बढ्दो बसाइसराई रोक्ने उपायको खोजीमा विज्ञसहितको यात्रा टोली निस्किएको हो‚’ महासेठले भने, ‘पहाडमा विकास हुनुपर्छ भनेर संकल्प यात्रा भइरहेको बेलामा बन्द घोषणा गरिनु नियोजित छ, पहिचानवादीका नाममा गरिएको बन्द फिर्ता हुनुपर्छ ।’
उनले कोशी प्रदेशको नामकरणमा कांग्रेस, माओवादी र राप्रपाले मतदान गरे पनि एमालेलाई मात्रै दोष देखाएर भइरहेको आन्दोलनमा सत्ताधारी दलकै नेता कार्यकर्ताहरूको उपस्थिति देखिनु दुःखद् भएको बताए ।
शान्तिपूर्ण यात्रालाई अवरोध गर्ने उद्देश्यले बन्द आह्वान गरिएको भन्दै त्यसको जिम्मेवारी बन्दकर्ता र सरकारले लिनुपर्ने बताए । उनले एमालेलाई मात्रै दोष थोपर्ने गरी गरेको आन्दोलन पहिचान माग गर्ने पक्षहरूकै लागि प्रत्युत्पादक बन्ने दाबी गरे ।
यात्राका क्रममा अन्य प्रदेशमा विभिन्न दल र उनीहरूकै नेताहरूले समेत स्वागत गरेको सन्दर्भ सुनाउँदै कोशी प्रदेशमा मात्रै अवरोध गर्न खोज्नुलाई पार्टीले गम्भीरताका साथ हेरिरहेको बताए ।
‘एमालेलाई गाली गरेर उहाँहरूको आन्दोलन सफल हुँदैन, त्यही भएर बन्द फिर्ता गर्नुपर्छ‚’ महासेठले भने, ‘अन्य प्रदेशमा सबै पार्टीले स्वागत गरेर सौहार्दता देखाएका छन् । कोशी प्रदेशमा अवरोध भए त्यसको जिम्मेवारी बन्द घोषणा गर्नेहरूले नै लिनुपर्छ, सरकारले बन्द अवरोध हटाउनुपर्छ, यो संकल्प यात्रा रोकिँदैन ।’
कोशी प्रदेशमा पूर्व मुख्यमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य शेरधन राईले एमालेको केन्द्रीय कार्यत्रम अनुसार यात्रा सुरू भएकाले पहिचानवादीसँग कुनै साइनो सम्बन्ध नै नरहेको बताए । उनले एमालेप्रति असहयोग गर्न खोजेको भए त्यो तत्काल फिर्ता हुनुपर्ने बताए ।
‘त्यस्तो हो भने पहिचानकै मुद्दा कमजोर हुन्छ, अर्थहीन अवस्थामा पुग्छ‚’ राईले भने, ‘यदि त्यहाँ नक्कली पहिचानवादीहरू छन् भने उनीहरूको मुखुण्डो पनि उत्रिन्छ । मुलुकको विविधतालाई सबैले स्वीकार गर्नुपर्दछ ।’
एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले कोशी प्रदेशमा प्रवेश गर्ने संकल्प याक्राका क्रममा विभिन्न कार्यक्रमहरू तय गरिएको जानकारी दिए । उनले यात्रामा सहभागी हुन आम सर्वसाधारणहरूलाई समेत आह्वान गरिएको बताए । खतिवडाले विविधता भित्रको एकता नै नेपालको बलियो पहिचान भएको बताए ।
एमाले कोशी प्रदेश कमिटीका प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण तिवारीका अनुसार कोशी प्रदेशमा यात्राको टोली प्रवेश गरेपछि विभिन्न जिल्लाहरूबाट एमालेका नेता कार्यकर्ताहरूसहित हजारौंको संख्यामा सहभागिता रहने र विभिन्न ठाउँमा भेटघाट तथा सभाहरू गर्ने कार्यक्रम तय भएको छ ।
आगामी पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा झण्डोत्तोलन र अभियानको सन्दर्भ झल्काउने स्मृति चिन्हसहितको पुष्पलालको सालिकसहितको पार्क स्थापनाको शिलान्यास गरेसँगै संकल्प यात्रा समापन हुने उनले बताए ।
View : 145
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved