विराटनगर । धरानका मेयर हर्क साम्पाङले उच्च अदालत विराटनगरको अल्पकालीन आदेश लत्याउने अभिव्यक्ति दिंदै वडाध्यक्ष नै कार्यवाहक मेयर भएको जिकिर गरेका छन् ।
आफूले जसलाई कार्यवाहक दिएको हो, उही नै कार्यवाहक मेयर हो भन्दै मेयर साम्पाङले सामाजिक सन्जालमार्फत अदालतलाई चुनौती दिएका हुन् ।
उपमेयर अइन्द्रविक्रम बेघा नगरमै हुँदाहुँदै उपमहानगरका मेयर साम्पाङ धरान ११ का वडाध्यक्ष लोकन्द्र फागोलाई कार्यबाहक दिएर दुई साताका लागि बेलायत गएका छन् ।
मेयरको निर्णयविरुद्ध अदालत गएका बेघाको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत विराटनगरले आइतबार मेयरको पत्र कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो ।
अदालतको पत्र आइनसकेको भन्दै वडाध्यक्ष फागोले सोमबार कार्यवाहक मेयरकै हैसियतमा काम गरेका थिए ।
सोमबार सामाजिक सन्जाल फेसबुकमा लेख्दै र भिडियो सन्देश दिंदै मेयर साम्पाङले आफूलाई अदालतले नभई जनताले मेयर चुनेको र सोही बमोजिम कार्यवाहक दिएको जिकिर गरेका छन् ।
मेयर साम्पाङले लेखेका छन् ‘मलाई कुनै अदालतले चुनेको होइन । लोकतन्त्रमा सार्बभौम नेपाली नागरीकको शासन गर्ने अधिकार मताधिकारले चुनेको हो । म ५ वर्षसम्म धरानको प्रमुख हुँ जुन जनताले बनाउनुभएको हो, मैले नागरीकले दिएको अधिकार दिएर ११ नं को अध्यक्षलाई कार्यबाहक छोडेको । मैले जसलाई अधिकार दिएँ उही हो कार्यबाहक, केही हल्ला नगर । मुख छाड्नु नपरोस् । धरानको विकासको लागि म दुई दिन युके आउँदा बद्नाम गर्दै नबस है ।’
View : 113
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved