Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

नयाँवर्षका लागि भन्दै मदिराको तस्करी

उद्‌घोष सम्वाददाता
१७ पुष २०८०, मङ्गलवार

विराटनगर । नयाँवर्ष २०८० मनाउनका लागि भन्दै भारतको बिहार राज्यका सीमावर्ती क्षेत्रका बासिन्दाले नेपालबाट सस्तो मूल्यको मदिरा ब्यापक रुपमा तस्करी गर्ने गरेको पाइएको छ ।

बिहारमा मदिरा निषेध रहेकाले त्यहाँका मदिरा पारखीले भारतकै सीमावर्ती राज्य र नेपालबाट लैजाने गरेका छन् । बिहारमा प्रतिबन्ध लगाइएकाले तस्करले चार गुणासम्म बढी मूल्यमा मदिरा बिक्री गर्दै आएका छन् । सीमावर्ती क्षेत्र नेपाल–भारत दुबैतर्फका कतिपय मानिसका लागि मदिराको कारोबार पेशा नै भएको छ ।

नयाँवर्षका लागि सुनसरीको सीमा नाकाबाट भारततर्फ लैजानलाई जम्मा गरेर राखिएको ठूलो परिमाणको मदिरासहित ८ जना मानिसलाई ९ वटा मोटरसाइकलसहित केही दिनअघि प्रहरीले पक्राउ गरेको छ । सुनसरी देवानगञ्ज–३ पाचोसिमरस्थित रुद्र मेहताको घरमा प्रहरीले छापा मारेर मदिरा, मानिस र मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेमा भारत अररिया मनिपुरा–१० का मन्टु यादव, फुल्का बजार–१२ का सिन्टु पासवान, निपुर खरिया, प्रदीपकुमार पासवान, कुन्दनकुमार यादव, हमरोरी–१४ का सुनिलकुमार यादव र निपुर खरियाका रमेश यादव छन् । उनीहरूले रक्सी बोक्न ल्याएका ९ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

भारत निकासी गर्न मेहताको घरमा जम्मा गरेर राखिएको विभिन्न १७ प्रकारका रक्सीका करिव २ हजार बोतल फेला परेको प्रहरीको भनाइ छ । बरामद मदिरा, मानिस र मोटरसाइकललाई कारवाहीका लागि प्रहरीले राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।

View : 250

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved