विराटनगर । अन्य नेताहरूझैं विद्यार्थी राजनीतिबाटै एमालेको मूल राजनीतिमा उदाएका सागर थापा यतिबेला एमालेका केही नेताहरूको भनाइमा विराटनगर महानगर कमिटीको पूर्व अध्यक्षको हैसियतमा पुगिसके ।
तर उनी पूर्व अध्यक्ष भन्नका लागि कार्यकर्ताहरू तयार देखिएका छैनन् । किनभने उनी एमालेभित्र तल्लो तहको कार्यकर्तासँग भिजेर अझैपनि एमालेको राजनीतिक जीवनलाई मलजल गरिरहेका छन् ।
जेठ ३१ गतेको मिति उल्लेख गरिएको पत्रमा सागर थापा कारवाहीको भागिदार बनेका छन् । उनीसँगै महानगर कमिटीका उपसचिव नवराज नेपाल र वडा नम्बर ३ का वडा कमिटी अध्यक्ष लालमणि भट्टराई एमाले मोरबभित्रको राजनीतिक दाउपेचमा सामुहिक षड्यन्त्रको सिकार भएका छन् ।
मानगढ खानेपानी संस्थाको निर्वाचनमा उम्मेदवार उठाउने विषयमा एमाले नेतृत्वले ढिलो चासो देखाएर अन्तिम समयमा गरेको अस्वभाविक हस्तक्षेपका कारण आम कार्यकर्ता पंक्ति विभाजित बन्न पुगेका छन् ।
जसका कारण मानगढ खानेपानीमा नाम विशेष उम्मेदवारलाई समर्थन र प्रचार–प्रसार गरेको आरोपमा उनीमाथि प्रतिशोध साँध्ने काम भएको एमाले महानगरका कार्यकर्ताले बताएका छन् ।
थापा एमालेमा भुँई तहको कार्यकर्ताकै हैसियतमा छन् ।
जनस्तरमा कार्यकर्ताहरूसँग धेरै नजिक भएर काम गरेका उनैलाई यसअघि विराटनगर महानगरपालिकाको मेयरमा टिकट पनि दिइयो । चुनावी मैदानमा हारजितमा उनी पराजित भए । तर उनी पार्टीको सांगठानिक काममा भने रोकिएनन् ।
थापाकै कमिटीमा रहेर काम गरेका कार्यकर्ताहरू अहिले कारवाही गर्ने डिजाइनमा लागेका व्यक्तिहरूले नै मेयरमा थापालाई हराउन भूमिका निर्वाह गरेको बताइरहेका छन् ।
'उनीहरूमाथि न कसैले छानबिन गर्र्या, न कसैले त्यसको गुनासो नै सुन्यो’ ती कार्यकर्ताले भने, 'अब अहिले सागर माथि नै खानेपानीको चुनावलाई देखाएर अवैधानिक रूपमा कारवाहीको हल्ला चलाइएको छ, उनलाई राजनीतिक रूपमा सक्ने गरी नेतृत्व तहबाटै षड्यन्त्र गरिएको छ ।’
निकटहरूले जसलाई जेसुकै भनेपनि थापा एमालेभित्रका निष्ठावान कार्यकर्ता भएको आम कार्यकर्ता तहको बुझाई छ । अहिले आफूमाथि निर्मम रूपमा कारवाहीको खड्ग चलाइएको भन्दै थापा निकै चिन्तित बनेका छन् ।
उनी आइतबार विराटनगर–१२ पाञ्चालीमा रहेको सुविधा सम्पन्न एमाले मोरबको पार्टी कार्यालयको समर्थकहरूका सामुन्ने भक्कानिएका छन् । आँसु झार्न बाध्य बनाइएका छन् । हो, सागर थापा आफूमाथि भएको राजनीतिक थिचोमिथो सम्झिएर कार्यकर्ताहरूकै अगाडि रोएका छन् ।
जेठ १८ गते भएको एमाले मोरबको जिल्ला कमिटी बैठकले तत्कालीन उपाध्यक्ष बाबुराम कार्कीलाई संगठन कमिटीको अध्यक्षमा निर्वाचित गर्ने निर्णय गरेको भोलिपल्ट १९ गते मानगढ खानेपानीको असफल निर्वाचन भएको थियो ।
एमालेले आधिकारिक उम्मेदवार बनाएको दाबी गरिएका रामबहादुर घिमिरे नेतृत्वले नै गराएको त्यो निर्वाचनको न अहिलेसम्म मतदान सम्पन्न हुन सकेको छ, न त खसेको मतको मतगणना नै ।
एमालेमा महानगर कमिटीलाई सांगठनिक रूपमा जिल्ला कमिटीकै हैसियतमा कार्यकर्ता परिचालन गर्न सक्ने कमिटीका रूपमा स्वीकार गरिएको छ । थापा महानगर कमिटीको सर्वसम्मत् अध्यक्ष हुन् ।
उनी आफ्नो कार्यकालको अन्त्यतिर आइपुगेका छन् । थापाकै अध्यक्षतामा जेठ ३० मा बसेको महानगर कमिटीको दशौं पूर्ण बैठकले आगामी असोज १२ र १३ गते महानगर कमिटीको अधिवेशन गर्ने निर्णय गरिसकेको छ ।
महानगर कमिटीको नेतृत्वबाट विदा हुने तरखरमा रहेका थापा एमालेको जिल्लाकै नेतृत्वका लागि दाबेदारका रूपमा चर्चामा आइरहेका थिए । सोही कारण उनीमाथि मानगढ खानेपानीको चुनावलाई कारण देखाएर अवैधानिक रूपमा कारवाही गर्न खोजिएको हुनसक्ने धेरैको बुझाई छ ।
आफूलगायत आधा दर्जन नेता कार्यकर्तामाथि पार्टीको जिल्ला नेतृत्वले कारवाही गरेको पत्र थमाएपछि अहिले थापा कार्यकर्ताहरूकै माझमा रहेर उक्त कारवाही फिर्ता लिनका लागि नेताहरूलाई आग्रह गरिरहेका छन् । आइतबार पार्टी कार्यालयमै तालाबन्दी गर्न भन्दै पुगेका सयौं संख्यामा रहेका एमाले कार्यकर्ताहरूलाई उनैले सम्झाएर फर्काएका छन् । उनले अन्याय भएपनि एकजुट भएर पार्टीभित्रै बसेर काम गर्न आफ्ना समर्थक कार्यकर्ताहरूलाई आग्रह गरे ।
थापाले आइतबार एमाले स्थायी कमिटीका सदस्य शेरधन राई र प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडालगायतका नेताहरूलाई भेटेर आफूमाथि अन्यायपूर्ण व्यवहार भएको भन्दै गुनासो पोखेका छन् ।
'यो लडाई पार्टी बिगार्नेहरू विरूद्धको हो, कारवाहीको लट्ठी कसैले बर्साउँछ भने त्यो लट्ठी खोसेर प्रहार गर्नुपर्नेछ’ थापाले भने, ‘हामीमाथि गरिएको कारवाही विधान विपरीत छ, व्यक्तिगत कुण्ठा पोखेर गरिएको छ, पार्टीभन्दा गुट बलियो बनाउनेहरूले हामीमाथि जस्तोसुकै प्रहार गरेपनि पार्टी निर्माणमा सवैजना लाग्नु पर्दछ ।’
थापाले पार्टीको आगामी अधिवेशनमा आफूलाई अघि बढ्नबाट बंचित गराउन कारवाहीको षड्यन्त्र गरिएको आरोप लगाए । उनले आफूहरूलगायतका नेता कार्यकर्ताहरूलाई स्पष्टीकरण समेत दिने मौका नदिई कारवाही गरिएको गुनासो गरे । कार्वाही गर्नेहरू वडा तहमा जान नसक्ने अवस्थामा पुगेको बताए ।
‘यो पार्टी बिगार्नेहरू विरूद्ध लाग्नु पर्दछ, सवै मिलेर पार्टी निर्माण र खबरदारीमा लागौं’ थापाले भने, ‘सबै कार्यकर्ताहरूले सबै नेताहरूलाई फोन गरौं, मेसेज गरौं तर अहिले नै तालाबन्दी नगरौं ।’
View : 502
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved