सुरु भयो विराट ट्रेड एक्स्पो
विराटनगर । दुई लाख अवलोकनकर्तालाई स्वागत गर्दै र २० करोडभन्दा बढीको कारोबार गर्ने अनि सुस्त आर्थिक गतिविधिलाई नयाँ गति दिने लक्ष्यसहित विराट ट्रेड एक्स्पो २०२५ को संस्करण बुधबार सुरु भएको छ ।
संघीय सरकारका अर्थ मन्त्री रामेश्वर खनालले औपचारिक उद्घाटन गरेर सुरु भएको एक्स्पो पुस १९ गतेसम्म चल्नेछ ।
जेनजी आन्दोलनपछि सुस्ताएको आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउने अपेक्षासहित एक्स्पो आयोजना गरिएको आयोजक मोरङ उद्योग व्यापार संघको भनाइ छ ।
विराटनगर–१, शान्ति चोकमा आयोजित एक्स्पोले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न र नेपाली बजारलाई अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गर्न सहयोगी हुने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
मेला संयोजक अमितकुमार सारडाले कार्यक्रममा दिएको जानकारीअनुसार एक्सपोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादनहरू प्रदर्शनीमा राखिएका छन् ।
एक्स्पोमा २३० भन्दा बढी स्टलहरू छन् । यसपटक नेपाल, भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरू समेत समावेश छन् ।
अबको १० दिनभित्र कम्तीमा दुई लाख अवलोकनकर्तालाई स्वागत गरेर नवप्रवर्तनदेखि उद्यमशीलताका अनेकौं आयामहरूको प्रदर्शनी गर्ने, त्यसबाट नयाँ लगानीकर्ताहरूमा आशा जगाउने लक्ष्यसहित एक्स्पो बुधबारदेखि सुरु भएको हो ।
‘यो १० दिनमा यहाँ कति कारोबार हुन्छ भन्ने कुरा ठुलो कुरो होइन यहाँ देखिने उद्यमशीलताका नमूनाहरू, यहाँ साटासाट हुने आपसी विचार र आइडियाहरूले निजी क्षेत्रलाई नयाँ उत्साह प्रदान गर्नेछ,’ अध्यक्ष राठी भन्छन् ‘झण्डै–झण्डै ढलिसकेको निजी क्षेत्रको आत्मविश्वास सामूहिक रुपमा उठाउने प्रयास बन्नेछ एक्स्पो । हाम्रो मुख्य अपेक्षा यही हो ।’
जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक अन्योलले निम्त्याएको सुस्त आर्थिक गतिविधिलाई चलायमान बनाउने र मुलुकको अर्थतन्त्रलाई नयाँ गति दिन औद्योगिक नगर विराटनगरबाट होस्टेमा हैसे गर्ने आयोजक बताउँछन् ।
निजी क्षेत्रका संघसंस्थाहरूमध्ये मुलुककै जेठो मानिने मोरङ उद्योग व्यापार संघले उद्योग संगठन मोरङसँग सहकार्य गर्दै हरेक वर्ष एक्स्पो गर्दै आएको छ । एक वर्ष संघले अनि अर्को वर्ष संगठनले एक्स्पो गर्दै आएका छन् ।
यसपटकको एक्स्पो कोशी प्रदेशकै बृहद अन्तर्राष्ट्रिय स्तरको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी बन्ने अपेक्षा आयोजकको छ ।
‘एक्स्पोले कोशी प्रदेशसहित मुलुकभरिका औद्योगिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जा लगायत विभिन्न क्षेत्रका उत्पादन र सेवाहरुको राष्ट्रिय÷अन्तर्राष्ट्रिय बजार विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने छ,’ पूर्वअध्यक्ष नवीन रिजालले भने ‘त्यस्तै, नवप्रवर्तन, महिला, युवा सहित सबै वर्गका उद्यमीहरूलाई स्वदेशी एवं विदेशी लगानीकर्ताहरूसँग व्यावसायिक सम्बन्ध स्थापना गर्न र विस्तार गर्न साझा थलो प्रदान गर्नेछ।’
एक्स्पोले कोशी पर्यटन वर्ष २०८२ लाई प्रवद्र्धन गर्दै कोशी प्रदेशको संस्कृति र पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन गर्ने पनि उनले जानकारी दिए ।
एक्स्पोमा लगातार आठ दिनसम्म स्टार्टअप, महिला उद्यमशीलता, पर्यटन, एआई, सूचना प्रविधि लगायत विभिन्न विषयहरूमा थिमेटिक सेसन र सेमिनारहरू पनि सञ्चालन हुँदैछ । यसका लागि स्वीस कन्ट्राक्ट, आइडिया स्टुडियोजस्ता पेशागत संस्थाहरूले मोरङ उद्योग व्यापार संघसँग सहकार्य गरेका छन् ।
कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकाले प्रवद्र्धन गरेको एक्स्पोलाई रमपम तयारी चाउचाउ र मारुती सिमेन्टले मुख्य प्रायोजन गरेको छ ।
त्यस्तै खुकुरी रम, सेन्चुरी मसला र ग्रिन टायर्स एक्स्पोका गोल्ड स्पोन्सरका रुपमा रहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, उद्योग संगठन मोरङ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ, विराट व्यापार संघ, मोरङ अटोमोवाइल डिलर्स एशोसिएशन र मोरङ इलेक्ट्रिक संघ एक्स्पोको सहयोगी संस्थाको भूमिकामा छन् ।
‘निजी क्षेत्रका सबै संघसंस्थाहरूसँगको हातेमालो छ यो अभियानमा,’ संघका अध्यक्ष राठीले सुनाए ‘यो १० दिन मुलुककै पुरानो औद्योगिक नगर विराटनगर उद्यमशील उत्सवमा रमाउनेछ । यसले निजी क्षेत्रलाई नयाँ ऊर्जा र आत्मविश्वास भर्ने अपेक्षामा छौं ।’
View : 144
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved