Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

मन्दिर व्यवस्थापन समिति र गुठीका कारण रामधुनी मन्दिरको विवाद उत्कर्षमा

उद्‌घोष सम्वाददाता
६ फागुन २०८०, आइतवार

सुनसरी । सुनसरीको रामधुनी मन्दिरमा व्यवस्थापन समिति र गुठीबीचको विवाद उत्कर्षमा पुगेको छ । नेपालकै प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र मानिएको मन्दिरमा व्यवस्थापन समितिले तालाबन्दी गरेपछि तीन दिन पूजापाठ रोकिएको रामधुनी बाबा बनसखण्डी मन्दिरका महन्त कालिदास उदासीले बताए ।

गुठीमार्फत सञ्चालन रहेको मन्दिर व्यवस्थापन समितिको नाममा दैनिक पूजापाठ नै अवरोध गर्ने गरी हस्तक्षेप भएको बाबा बनसखण्डी उदासिन आश्रमले शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

गुठी संस्थान ऐन २०३३ को दफा १६ को उपदफा २ गुठी संस्थान कार्यव्यवस्था विनियम २०४९ को नियम ३६ को उपनियम १ र महन्त पुजारीलगायत जनशक्ति व्यवस्थापन निर्देशिका २७७ बमोजिम महन्तले काम गरिरहेको अवस्थामा व्यवस्थापन समितिको नाममा पटक–पटक अवरोध भएको रामधुनी मठले आरोप लगाएको छ ।

व्यवस्थापन समितिमा अध्यक्ष डिल्ली कार्कीको समूहले गत पुस १ गते विवाह पञ्चमीका दिन मन्दिरमा ताला लगाएपछि तीन दिन दैनिक पूजापाठ रोकिएको मठाधीश कालिदास उदासीले बताए । 

गुठीबाट मन्दिर सञ्चालन हुने स्पष्ट कानूनी व्यवस्था हुँदाहुँदै पनि गैरकानूनी रुपमा गठन भएको मन्दिर व्यवस्थापन समितिको नाममा हुलहुज्जत गर्ने, पुजारीलाई धम्काउने, मन्दिरका लागि आवश्यक दूध, धुनी बाल्ने दाउरा लगायतका सामग्री नदिने लगायतका दुष्प्रयास भैरहेको गुठीका पदाधिकारीको आरोप छ ।

सुनसरीको रामधुनी नगरपालिका–४ प्रकाशपुरको जंगलको मध्यक्षेत्रमा रहेको सो मन्दिर धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा चिनिन्छ । त्रेयायुगमा अयोध्याका राजा दशरथका जेठा छोरा रामचन्द्र वनवास गएका बेला सो क्षेत्रमा आएर एकरात बास बस्दा जलाएको अखण्ड धुनी अहिलेसम्म जलिरहेको जनविश्वास छ ।

View : 301

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved