Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बर बहादुर विष्ट सर्वसम्मत निर्वाचित

उद्घोष सम्वाददाता
२४ पुष २०८०, मङ्गलवार

विराटनगर । कोशी प्रदेश सभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अम्बर बहादुर बिष्ट सर्वसम्मत निर्वाचित भएका छन् । प्रदेश सभाको मंगलबार बसेको बैठकले बिष्टलाई आगामी चार वर्षका लागि सभामुख चयन गरेको हो ।

२०२८ सम्म बामपन्थी बिचार बोकेर हिँडेका बिष्ट त्यसपछि पञ्चायत छिरेका थिए । संघीयताको विरोधी कित्तामा उभिएर प्रदेश खारेजीको आन्दोलन गर्दै आएको राप्रपाबाट समानुपातिक सांसद बनेका बिष्ट गणतान्त्रिक संविधानको व्यवस्था अनुसार बनेको प्रदेश सभाको नेतृत्वमा पुगेका हुन् ।

७० वर्षीय बिष्टलाई सभामुख चयन गर्न कोशी प्रदेश सभामा रहेका गणतन्त्र स्वीकार गर्ने बाँकी पाँच दल पनि सहमत भएका हुन् । 

मुख्यमन्त्री केदार कार्कीले आफ्नो सत्ता टिकाउने जुक्तिका रुपमा राप्रपालाई सभामुख सहज बनेको हो । एमालेले पनि यस अघिसम्मको राप्रपासँगको सहकार्यको पैँचो बिष्टलाई सभामुख स्वीकार्दै तिरेको छ । एमालेले सत्ता गठबन्धन बाहिरको दलबाट सभामुखको उम्मेदवारी परे समर्थन रहने जुत्ती निकालेको हो ।

संघीयताको सबैभन्दा खरो पक्षपोषण गर्दै गर्दैको नेकपा माओवादी केन्द्र समेत राप्रपालाई सभामुख बनाउने विषयको बहसमा मौन रह्यो । नेकपा एकीकृत समाजवादीले पनि राप्रपालाई सहर्ष स्वीकार गरेको छ ।

राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाको प्रस्ताव र राप्रपाकै सांसद प्रेमराज थाम्सुहाङको समर्थनमा कोशी प्रदेश सभाले बिष्टलाई सर्वसम्मत रुपमा सभामुख स्वीकार गरेको हो ।

उपसभामुख सिर्जना दनुवारले कोशी प्रदेशको प्रदेश सभा नियमावली २०७४ (पहिलो संसोधन समेत) को नियम ७ को उपनियम (३) बमोजिम प्रदेश सभामा सभामुख चयनका लागि एउटा मात्र सूचना प्राप्त भएकोमा, प्रस्तावक सदस्यको प्रस्ताव र समर्थकको समर्थनबाट  प्रस्तावित सदस्यलाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिन् ।

View : 259

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved