विराटनगर : आउँदो पुस ६ गतेदेखि विराटनगरमा मोरङ व्यापार संघ एक्स्पो २०२३ हुने भएको छ । १० दिनसम्म चल्ने एक्स्पोमा २५० वटा स्टलहरु रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
व्यापार प्रवर्द्धनको माध्यमबाट आर्थिक क्षेत्रको विकास गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए । उनले करीव १५ करोडको कारोवार गर्ने लक्ष्यका साथ एक्स्पोलाई भव्य बनाइने बताए ।
एक्स्पोमा ४ लाख मानिसले अवलोकन गर्ने दाबी गर्दै त्यसका लागि मनोञ्जनात्मक गतिविधि समेत पर्याप्त मात्रामा समावेश गरिने बताए ।
एक्स्पो आयोजनाका लागि संघका उपाध्यक्ष अनिलकुमार साहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको जनाइएको छ । सहसंयोजकमा सचिव सञ्जय श्रेष्ठ र सदस्य अमित सारडालाई चयन गरिएको जनाइएको छ ।
ग्रामीण क्षेत्रका कृषि उद्यमीहरुका लागि १० वटा स्टल निशुल्क गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । एक्स्पोमा आकर्षणका लागि ६० फिट अग्लो आइफेल टावर निर्माण गर्नुका साथै जाडो मौसममा पनि बच्चाहरुका लागि रमाउने स्थल निर्माण गरिने जनाइएको छ ।
एक्स्पोमार्फत स्वदेशी उत्पादनहरुसहित कृषि, पर्यटन, ऊर्जालगायत अन्य सम्भावित क्षेत्रहरुको प्रवर्द्धन एवं विकासमा जोड दिइएको संयोजक अनिलकुमार साहले बताए ।
कोशी प्रदेशको आर्थिक गतिविधिहरुलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा झल्काउन समेत एक्स्पो महत्वपूर्ण अवसर बन्नेमा विश्वास गरिएको उनले बताए ।
मोरङ व्यापार संघले हरेक बर्ष पालैपालो एक्स्पो आयोजना गर्ने सहमति अनुसार नै आफ्नै नाममा यस बर्षदेखि एक्स्पो आयोजना गर्न लागेको जनाइएको छ ।
संघले २०५३ मा कोशी महोत्सव आयोजना गरेपछि पूर्वाञ्चल औद्योगिक व्यापार मेला (२०५७), विराट महोत्सव (२०६२), विराट महोत्सव (२०७०), विराट ट्रेड एक्स्पो–२०१८ (२०७५), विराट ट्रेड एक्स्पो–२०२२ (२०७८) सफलतापूर्वक आयोजना गरिसकेको छ ।
View : 144
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved