सांकेतिक तस्वीर ।
विराटनगर । विराटनगर महानगरपालिका– २ स्थित नेपाल टेलिकमको कार्यालय नजिकै गएराती भएको ग्याङ फाइटमा एक युवकको हत्या भएको छ । दुई समुहबीच धारिलो हतियार हानाहान हुँदा अरु दुई जना युवकहरु गम्भीर घाइते भएका छन् ।
सोमबार राति करिब १० बजेतिर विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकम नजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । उनीहरु मध्ये कटहरी गाउँपालिका– १ जमटोकीका २१ वर्षीय करण कामतको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय गम्भीर छन् । घाइतेहरु अस्पताल पुगेपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको जनाइएको छ ।
प्रहरीका अनुसार मृतक कामतको छाती र कम्मरका विभिन्न ठाउँमा धारिलो हतियारको चोटपटक देखिएको छ । प्रहरीले चक्कु वा कुनै तिखो हतियारको आक्रमणबाट उनको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । शव कोशी अस्पतालमै राखिएको छ ।
नोबेल अस्पतालमा उपचारका लागि पुर्याइएका अन्य दुईजना घाइतेहरूको शरीरमा पनि तिखो हतियारको चोटपटक देखिएको जनाइएको छ । घटनाको विस्तृत विवरण अहिले नै यकिन नभएको प्रहरीले जनाएको छ । चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक कार्कीले बताए । उनले घटनास्थलबाट एउटा मोबाइल बरामद भएको जानकारी दिए ।
View : 395
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved