विराटनगर । इन्द्र–मोहन स्मृति गुठी धनकुटाले दुई–दुई वर्षमा प्रदान गरिने पुरस्कारका लागि पुरस्कृत व्यक्तिको घोषणा गरेको छ ।
गुठीले साहित्य, गीत सङ्गीत र पत्रकारिता विधामा दिएका योगदानका लागि प्रदान गरिने चार पुरस्कार र सम्मानको घोषणा गरेको हो । गुठीले यस वर्षको डा. विमला श्रेष्ठ साहित्य पुरस्कार नेपाली साहित्यको कविता र कथा विधामा दिएको योगदानका लागि कवि, कथाकार रुद्र ज्ञवालीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
यसै गरी गुठीले यस वर्षको ओम–इन्द्रमोहन स्मृति पत्रकारिता पुरस्कार, शब्दपथका प्रधान सम्पादक कवि, कथाकार किशोर पहाडीलाई र ओम–इन्द्रमोहन गीत सङ्गीत पुरस्कार गायिका कुन्ती मोक्तानलाई समर्पण गर्ने निर्णय गरेको छ ।
उक्त तीनै पुरस्कारको राशि जनही २५ हजार रहेको छ । कवि ज्ञवालीका निर्वासन, सपना फुल्ने रातहरू, विवरुका कथाहरू, उन्मुक्त आकाश, रुझेर अग्निवर्षामा, असल साथी, पात्रहरू, सीमान्त स्वर लगायतका कथा, कविता, गजल र मुक्तक कृति प्रकाशित छन् ।
यसै गरी साहित्य सिर्जनासँगै, विद्युतीय सञ्चार माध्यम शब्दपथ अनलाइन पत्रिकामार्फत साहित्यिक सूचना सम्प्रेषण, कृतिहरूको समालोचना, समीक्षा र स्रष्टाहरूको रचना प्रकाशन र प्रसारण गरी साहित्य विधामा योगदान दिएका पहाडीका बाँच्नु र बाँचेकाहरू, घर खण्डहर, विशुदाइ, किम्वदन्ती, सर्वज्ञ र सेक्स, सहरमा बत्ती निभेका बेला लगायतका कथा कविता कृति प्रकाशित छन् ।
गीत तथा सङ्गीत क्षेत्रमा समर्पित मोक्तानका ‘माथि माथि सैलुङ्गमा, धरान धनकुटा, गोठालो जाँदा, खुट्टा तान्दै गर, चोली राम्रो पाल्पाली ढाकाको लगायतका गीतहरू चर्चित छन् ।
यसैगरी यसै वर्षदेखि प्रदान गर्ने गरी स्थापना गरिएको डा. विमला साहित्य सम्मान कवि मञ्जुश्री गिरीलाई प्रदान गरिने भएको छ । सम्मान राशि १५ हजार रहेको छ ।
गिरीका अन्योल वसन्तको खोजीमा, लाखबत्ती र सपनाको सिरानी तीन कृति प्रकाशित छन् ।
गुठीका प्रमुख संरक्षक डा.विमला श्रेष्ठको उपस्थिति र गुठीका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । सो पुरस्कारको संस्थापक कलाकार स्व. ओमकार श्रेष्ठ हुनुहुन्थ्यो ।
उक्त पुरस्कारबाट दर्जनौं स्रष्टाहरू पुरस्कृत तथा सम्मानित भइसकेका छन् । पुरस्कार आगामी मंसिर १ गते विराटनगरमा प्रदान गरिने अध्यक्ष पोखरेलले जानकारी दिए ।
View : 112
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved