विराटनगर । मोरङको लेटाङ नगरपालिकास्थित चिसाङ खोलामा भैरहेको उत्खनन् कार्य स्थानीयवासीको विरोधपछि रोकिएको छ ।
खोलाको चौडाइ बढाएर उत्खनन गर्न खोजिएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेपछि उत्खनन सुरू भएको हप्तादिन नपुग्दै शुक्रबारदेखि तत्कालका लागि रोकिएको हो ।
लेटाङ नगरपालिकाले उत्खनन कार्य कानुनी प्रक्रिया पूरा गर्दै राजस्व संकलन गर्ने हेतुले ठेक्का प्रक्रियामार्फत अघि बढाएको जनाएको छ । कार्यपालिकाको प्रतिवेदनअनुसार निश्चित मापदण्डका आधारमा चौडाइ निर्धारण गरिएको थियो ।
ठाउँको अवस्थाअनुसार समस्या देखिएपछि पुनः नापजाँच गर्ने क्रममा जनप्रतिनिधि निस्किएको बेलामा स्थानीयले गुनासो गर्दा विवाद उत्पन्न भएको हो ।
सो उत्खनन कार्यले विशेषगरी खोला किनार तथा खोलाभित्रै पर्ने निजी जग्गाधनीहरू बढी प्रभावित हुने देखिएको छ ।
चिसाङ खोला बग्ने बाटो विगतमा ठूलो भेल आएको बेला परिवर्तन हुँदा कतिपय व्यक्तिको नम्बरी जग्गा खोलाभित्रै परेकाले समेत उनीहरूले उत्खननप्रति असन्तुष्टि जनाएका हुन् ।
लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी पोखरेल निरौलाले भनिन्, ‘उत्खननका लागि करिब ८० मिटर चौडाइ निर्धारण गरिएको थियो । तर, खोला केही स्थानमा साँघुरो भएकाले उत्खनन गर्दा किनारनजिक पुग्ने र बस्ती तथा खेतीयोग्य जमिनमा जोखिम बढ्ने भन्दै स्थानीयले आपत्ति जनाएकाले हाल उत्खनन कार्य रोक्नु परेको हो ।’
त्यस्तै एक स्थानीयले भने, ‘उत्खनन कार्यको बेलामा ठेकेदार कम्पनीका कर्मचारीहरू मात्रै हुन्छन्, नगरको अनुगमन शून्य रहन्छ ।’ उनले थपे, ‘हामी सधैं त्यहाँ खबरदारी गरेर बस्न सक्दैनौं । जनप्रतिनिधिको तर्फबाट अनुगमन नहुँदा ठेकेदार कम्पनीका कर्मचारीहरूले मापदण्डभन्दा बाहिर गएर समेत उत्खनन गर्न सक्छन् । त्यसो हुँदा बर्खायाममा बाढी, पहिरोले जोखिम बढाउने र भविष्यमा बस्ती नै बगाउने खतरासमेत हुनसक्छ ।’
उपप्रमुख निरौलाले स्थानीयको चिन्ता हुनु जायज भएको स्वीकार गरेकी छन् ।
‘अत्यधिक उत्खनन भएमा जोखिम हुन्छ भन्ने कुरा हामी पनि बुझ्छौं,’ उनले भनिन्, ‘त्यसैले जुन दिन विवाद भएको थियो, त्यसै दिनबाट हामीले उत्खनन कार्यमा रोक लगाएका हौं ।’
उनका अनुसार खोलाको अवस्थाअनुसार कतै चौडाइ घटाउने र कतै बढाउने विषयमा पुनः मूल्यांकन गरिनेछ ।
साथै, बाढी नियन्त्रण र विपद् व्यवस्थापनका दृष्टिले आवश्यक मात्रामा मात्र उत्खनन गरिने जनाइएको छ ।
नगरप्रमुखले भूपेन्द्र लावतीले स्थानीय तहको चुनावी घोषणापत्रमै उत्खनन रोक्ने प्रतिबद्धता जनाएका थिए ।
तर, विकास निर्माण तथा विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने अवस्थामा सीमित उत्खनन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
त्यस्तै लेटाङ–३ मा रहेको कीर्तिमान सामुदायिक वन उपभोक्ता समूहले विगतका वर्षमा भएको खोला ठेक्काको प्रक्रियाप्रति आपत्ति जनाउँदै पुस महिनामा लेटाङ नगरपालिकालाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।
विशेषगरी जोखिम क्षेत्र नजिकका बस्तीमा पर्याप्त तटबन्ध र सुरक्षात्मक संरचना नबनाइ खोला ठेक्का लगाइनु गैरजिम्मेवार कदम भएको बताउँदै ज्ञापनपत्र बुझाएको थियो ।
सरोकारवालाबीच सहमति हुन नसकेको हुनाले हालका लागि चिसाङ खोलामा उत्खनन कार्य स्थगित गरिएको छ ।
View : 132
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved