Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले महानगरले सुरु गर्यो 'मेरो वडा आफैं बनाउँछु' अभियान

थापाको अध्यक्षतामा कार्यसम्पादन समिति गठन
उद्घोष सम्वाददाता
२८ फागुन २०८०, सोमवार

बैठकमा सम्बोधन गर्दै एमाले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापा । तस्वीर: उद्घोष

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले ‘मेरो वडा आफैं बनाउँछु’ अभियान सञ्चालन गर्ने भएको छ । सोमबार विराटनगरमा सम्पन्न एमाले महानगर कमिटीको बैठकले ३२ दिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

कमिटीको नवौ पूर्ण बैठकले अभियानलाई प्रभावकारी बनाउन बिभिन्न गतिबिधि गर्ने निर्णय गरेको महानगर अध्यक्ष सागर थापाले बताए । विराटनगरबाट सुरु हुने वडा बनाउने अभियान देशब्यापी फैलने उनको दाबी छ । वडा बने मात्रै देश बनाउन सकिने उनको तर्क छ । यसअघि वडा जिताऊँ अभियान विराटनगरबाटै सञ्चालन गरेर देशब्यापी भएको उनको भनाइ छ ।

वडा बनाउने अभियानमा महानगर भित्रका पार्टीका नेताहरु सबै वडामा परिचालित भएर जनतालाई जागरुक गराउने छन् । अभियान अन्तर्गत कमिटीहरुको सुदृढीकरण, वडाहरुको ब्यवस्थापन, टोल कमिटीहरु, जनसंगठनहरु पुनर्गठन, भेला, बैठक, जनतासँग जनप्रतिनिधिको साक्षात्कार गराइने छ ।

विराटनगर महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिको दुई वर्षीय कार्य प्रगति विवरण लिएर जनताको बीचमा जाने समेत निर्णय भएको छ ।

थापाका अनुसार एमाले महानगरले १९ वटै वडामा वैसाख मसान्तभित्र वडास्तरीय प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्ने छ । यसैबीच एमाले महानगर कमिटीले कार्यसम्पादनलाई सहज बनाउन कार्यालय समिति गठन गरेको छ । अध्यक्ष थापा अध्यक्ष र रोहित कोइराला सचिव रहेको ११ सदस्यीय समिति गठन गरिएको छ ।

बैठक तथा प्रशिक्षणात्मक कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले जनताका बीचमा उत्कृष्ट कार्यक्रम र योजना लिएर जान निर्देशन दिए ।

उनले अब जनताले गफ हैन काम हेरेर विश्वास गर्ने दिन आएको जानकारी दिंदै नेकपा एमालेका हरेक नेता कार्यकर्ता जनताप्रति उत्तरदायी भएर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा नेताहरुले बिभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

नेकपा एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्कीले जनप्रतिनिधि र पार्टीबीचको अन्तरसम्बन्ध, नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले दशौं राष्ट्रिय महाधिवेशनका फैसलाहरु र पार्टीको आगामी कार्यदिशा, केन्द्रीय सदस्य रामलाल साहले नेता र कार्यकर्ताबीचको सम्बन्ध र हाम्रो दायित्व, केन्द्रीय सदस्य तथा विराटनगर महानगरका इञ्चार्ज हेमराज राईले दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालगायतका विषयमा प्रशिक्षण दिए ।
 

View : 815

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved