विराटनगर । काठको प्रयोग र माग घट्दै गएकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गर्दै यसको उपयोग बढाउन साझा पहल आवश्यक रहेको बताएका छन् ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, कोशी प्रदेशको संखुवासभाको मुढेशनिश्चरेमा आयोजित आठौं वार्षिक साधारण सभामा बोल्ने वक्ताहरूले यस्तो धारणा राखेका हुन् ।
पछिल्लो समय घर निर्माण तथा फर्निचरका क्षेत्रमा काठको सट्टा आल्मुनियम, युपीभीसी जस्ता वैकल्पिक सामग्रीको प्रयोग बढ्दै जाँदा स्वदेशी काठको उपयोग खुम्चिदै गएकोमा व्यवसायीहरूले चासो देखाएका छन् ।
महासंघका कोशी प्रदेश अध्यक्ष निर्मल खतिवडाले वन पैदावारमा आधारित उद्योगले भोगिरहेका समस्याबारे प्रकाश पार्दै काठ संकलन तथा बिक्री गर्ने सरकारी निकायबीच समन्वय नरहेकाले ब्यवसायीहरुले थप समस्या झेल्नुपरेको बताए ।
महासंघका महासचिव माधवमणि होमागाईंले उच्च राजस्व दर, जटिल नीति–नियम तथा तीन तहका सरकारबीच समन्वय अभावका कारण समस्या झनै जटिल बन्दै गएको धारणा ब्यक्त गरे ।
सो अवसरमा बोल्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले काठको खपत बढाउन मन्त्रालयले ठोस योजना ल्याउने प्रतिबद्धता जनाए ।
उनले मन्त्रालयको बजेटबाट निर्माण हुने मठ–मन्दिर, सामुदायिक भवन र सार्वजनिक संरचनाहरूमा अनिवार्य रूपमा काठको प्रयोग गरिने नीति ल्याइने बताए ।
मन्त्री पराजुलीले काठको व्यावसायिक उपयोगलाई सहज बनाउन प्रदेश वन ऐनलाई आगामी अधिवेशनमा संशोधन गरिनेसमेत जानकारी दिए ।
मन्त्रालयका सचिव डा.इन्द्रप्रसाद सापकोटाले उपभोक्ताको बदलिंदो रोजाइलाई सम्बोधन गर्दै काठको उपयोगिता र यसका फाइदाबारे प्रचारप्रसार गर्नु मन्त्रालय र व्यवसायी दुवैको साझा जिम्मेवारी रहेको उल्लेख गरे ।
काठको प्रयोग बढाउनु वन व्यवस्थापन र आर्थिक विकासका लागिसमेत महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
View : 127
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved