विराटनगर । विराटनगरस्थित विराट नर्सिङहोमभित्रको विराट इन्टरनेशनल डाइग्नोष्टिक ल्याबले अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवनबाट प्रयोगशाला सेवा सुचारू गरेको छ । सोमबार अस्पतालका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीले सो भवनमा बनाएको प्रयोगशालाको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले अत्याधुनिक सुविधा सम्पन्न भवनबाट आधुनिक उपकरणहरूबाट गुणस्तरीय सेवा दिएको बताए । नयाँ प्रविधि र स्वचालित मेसिनबाट प्रयोगशाला परीक्षण गरेर सेवा प्रदान गर्दै आएको उनले बताए ।
विराटको प्रयोगशाला आईएसओ र बायोयार्ड सर्टिफाइड प्रयोगशाला हो । अस्पतालको प्रयोगशाला स्तरोन्नती गरेर नयाँ ‘एडभान्स टेक्नोलोजी’ ल्याएर सेवा सुरू गरिएको अध्यक्ष डा कार्कीले बताए । २०५० सालमा स्थापना भएको अस्पतालमा ५० करोड भन्दा बढी लगानी रहेको उनले बताए ।
विराट इन्टरनेशनल डाइग्नोष्टिक ल्याब प्रालिका प्रशासन प्रमुख अमित कुसवाहाले बायोयार्ड र आइएसओसँग आवद्ध भएर सर्टिफाइड प्रयोगशाला भएका कारणले गुणस्तरीय सेवाप्रति पछिल्लो समय सर्वसाधारणको विश्वास बढेको बताए ।
‘विराटको ल्याब त्यस्तो प्रयोगशाला हो, जहाँबाट तयार हुने अधिकांश रिपोर्ट चिकित्सकले प्रमाणित गर्छन् । धेरैमा टेक्निसियनको साइन राखेर रिपोर्ट दिइन्छ होला । तर यहाँ चिकित्सकले प्रमाणित गर्छन् । हामीसँग प्याथोलोजिष्ट छन् । एक जना माइक्रोबायोलोजिष्ट सहितको ९० जनाको टोलीले विराटको ‘बी क्याटेगोरी’ मा देशकै नमूना प्रयोगशाला बनाउने महत्वपूर्ण सफलता हात पारेको छ,’ कुसवाहाले भने ।
उच्च गुणस्तर कायम गरेकै कारण विराटको प्रयोगशालाबाट वार्षिक हजारौले सेवा लिने गरेको वरिष्ठ प्याथोलोजिष्ट डा. श्रीपाद वालावलकरले बताए । ‘विराटले आफ्नो ल्याब्रोटोरीको क्वालिटी कन्ट्रोलमा जति ठूलो लगानी गरेको छ । अरूले सायदै गरेका होलान । यही कारण पनि हामीले दिने रिपोर्ट सधै अब्बल हुन्छ । सेवाग्राहीको फिडब्याक पनि राम्रो छ र विरामीको भरोसा पनि बढेको छ,’ उनले भने ।
विराट इन्टरनेशनल डाइग्नोष्टिक ल्याब प्रालिका निर्देशक तथा वरिष्ठ रेडियोलोजिष्ट डा.सुशील तापडियाले आईएसओले बनाएको मापदण्डअनुसार विराटको ल्याब्रोटोरीमा काम गरेकोले गुणस्तरीय सेवा दिएको बताए ।
विराट इन्टरनेशनल डाइग्नोष्टिक ल्याबमा नमूना परीक्षणका लागि प्रयोग हुने सबै उपकरणहरू अन्तर्राष्ट्रिय स्तरका रहेको उनले बताए ।
स्तन क्यान्सर पत्ता लगाउने म्यामोग्राफी पनि यहाँ रहेको छ । त्यसको लागि नयाँ मेसिन ल्याएको छ । ६४ स्लाइस सिटी स्क्यान, १.५ टेस्लाको एमआरआई, डिजिटल एक्स–रे रहेको छ ।
यस्तै ईसीजी, ईईजी, इन्डोस्कोपी, कोलोनोस्कोपी, टीएमटी, एफएनएसीलगायतका उपकरणहरूबाट सेवा प्रदान गरिदै आएको छ । बोनडेनसिटी मेसिन पनि ल्याउने तयारी गरिएको छ ।
पूर्वी नेपालमा पहिलो पटक विराटले स्वचालित एलर्जी परीक्षणको लागि अत्याधुनिक उपकरण पनि ल्याएको उनले बताए । अब रगतबाट एलर्जीको परीक्षण हुने उनको भनाई छ । यसअघि छालाबाट गरिन्थ्यो । ल्याबमा प्याथोलोजीको सम्पूर्ण सेवाहरू छन् । गुणस्तरीय सेवा दिने अल्ट्रासाउण्ड र इको रहेको अस्पतालले जनाएको छ ।
View : 429
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved