Biratnagar, Morang, Nepal
१० साउन २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदेशमा वाम सहकार्यको सहमति

कोशीमा कार्कीको निरन्तरता कि मेन्याङ्बोको उदय ?

उद्‌घोष संवाददाता
१० साउन २०८३, आइतवार

Advertisement

विराटनगर । सहयात्रा टुटेको २५ महिनापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठन र सञ्चालनसम्बन्धी तीन बुँदे सहमति भएसँगै कोशी प्रदेशको भावी मुख्यमन्त्री को बन्ला भन्ने चासो बढेको छ ।

एमाले र नेकपाबीचको सहमति अनुसार कोशी फेरि पनि एमालेकै भागमा परेको छ । 

हालका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाएर ताप्लेजुङका नेता एवम् अहिले संसदीय दलका उपनेता रहेका तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने अडानमा एमाले अध्यक्ष केपी शर्मा ओली छन् । महासचिव शंकर पोखरेलहरु कार्कीकै निरन्तरताका पक्षमा छन् ।

अब एमालेभित्रको शक्ति संघर्षमा जसको पल्ला भारी हुन्छ, त्यसैले कार्की या मेन्याङ्बो को मुख्यमन्त्री बन्ने निश्चित गर्नेछ ।

‘अहिले पहिले जसरी ओलीले एक्लै निर्णय गर्ने अनि लाद्ने अवस्था नहोला,’ एमाले कोशीका एक नेताले भने ‘पार्टी कमिटीको निर्णय अनुसार जो पनि हुनसक्छ । दुई जनाको नाममा धेरै विवाद भए तेस्रो कोही पनि आउन सक्छ ।’ 

तर, अहिले नै अर्को व्यक्तिको खोजी सम्भव नरहेको र कार्की र मेन्याङ्बो मध्ये एक जना मुख्यमन्त्री हुने अर्का नेता बताउँछन् ।

शनिबार मात्रै एमाले अध्यक्ष  ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति पत्रमा हस्ताक्षर भएसँगै प्रदेशका मुख्यमन्त्रीहरूको समीकरण प्रष्ट भएको छ  । 

सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने निश्चित भएको छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपालाई सुम्पिने तय भएको छ भने मधेस र गण्डकी प्रदेशमा प्रदेश सभामा रहेका अन्य दलहरूसँग परामर्श गरी नेतृत्व र सहभागिताको स्वरूप निर्धारण गर्ने सहमतिमा उल्लेख छ ।

प्रदेश सभाहरूमा बजेट निर्माणका क्रममा उत्पन्न गतिरोध, बजेटविहीनताको स्थिति र राजनीतिक प्रतिस्पर्धाका कारण सिर्जित अन्योल अन्त्य गर्न यो कदम चालिएको दुवै दलको दाबी छ । 

सहमतिपत्रमा भनिएको छ, ‘पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएका असमझदारी, बजेटविहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धालगायतका समस्याहरूलाई समाधान गर्दै जनताको चाहना अनुरुप राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउन हामी दुई राजनीतिक दलहरू नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी निम्तानुसारको सहमतिमा पुगेका छौं ।’

केन्द्रमा सहमति हुनुअघिसम्म कोशीमा नेकपाले मुख्यमन्त्रीमा दाबी पेस गर्दै आएको थियो । 

नेकपाका नेता इन्द्र आङ्बोले ‘हामीले बारम्बार एमालेको नेतृत्वमा सहयोग गरेका छौं, अबको नेतृत्व नेकपाले गर्नुपर्छ भन्ने हाम्रो अडान हो’ भन्दै प्रदेशमा नेतृत्व फेरबदल हुनुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए । तर, दुई शीर्ष नेताबीच भएको सम्झौताले कोशीको कमान्ड एमालेकै भागमा सुरक्षित गरिदिएपछि अब एमालेभित्रैबाट मुख्यमन्त्री को बन्छ भन्ने चासो चुलिएको छ । 

प्रचण्डले फेरि पनि कोशी एमालेलाई नै सुम्पिएको भन्दै नेकपा कोशीका नेताहरुले सामाजिक सन्जालमा असन्तोष प्रकट गरेका छन् । 

नेकपा नेता गणेश उप्रेती, कुलप्रसाद साम्बा लगायतले प्रचण्डको निर्णयप्रति असन्तोष व्यक्त गरेका छन् ।

नेकपाभित्रको असन्तोषका बीच अब कोशीमा भने एमालेले नै सरकारको नेतृत्व गर्नेछ । 

अब वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको निरन्तरता वा ओली निकट मानिने तिलकुमार मेन्याङ्बोको उदय भन्ने प्रश्नले एमाले वृत्तलाई तरंगित तुल्याएको छ । 

मुख्यमन्त्री कार्की पुनः आफ्नै नेतृत्वलाई निरन्तरता दिने तीव्र दौडधुपमा लागिपरेका छन् भने अर्कातर्फ अध्यक्ष ओली कार्कीलाई हटाएर मेन्याङ्बोलाई अघि सार्ने योजनामा छन् ।

हालका मुख्यमन्त्री कार्कीका लागि सबैभन्दा ठूलो संकट नै अध्यक्ष केपी शर्मा ओलीसँग बिग्रिएकोसम्बन्ध बन्न पुगेको छ । 

विगतमा ओलीसँग अत्यन्त नजिक रहेर राजनीतिक लाभ लिएका कार्की र अध्यक्ष ओलीको गृहजिल्ला झापाको निर्वाचन क्षेत्र समेत एउटै हो । 

ओली शक्तिमा नरहँदा पनि दृढतापूर्वक साथ दिएकै कारण कार्कीले पार्टी स्थायी कमिटी सदस्य, सचिव हुँदै तेस्रोपटक कोशीको मुख्यमन्त्री बन्ने अवसर पाएका थिए ।

तर, गत फागुन २१ को निर्वाचनपछि एमालेभित्र सुरु भएको पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहसले यी दुई नेताबीचको सम्बन्धमा ठूलो फाटो पैदा गरिदियो । 

पार्टीभित्र पुनर्गठनको पक्षमा सशक्त रूपमा उभिएका महासचिव शंकर पोखरेलको कित्तामा कार्की खुलेर उभिएपछि ओली उनीसँग गम्भीर रूपमा बिच्किएका हुन् । 

अखिलकालीन राजनीतिदेखि नै महासचिव पोखरेलसँग निकट सम्बन्ध रहेका कार्कीले अध्यक्षको साटो महासचिवको एजेन्डालाई काँध हालेपछि ओली उनीप्रति थप आक्रामक बनेको नेताहरू बताउँछन् ।

यसका साथै अन्य राजनीतिक घटनाक्रमले पनि यो दूरीलाई बढाउन मद्दत पुर्याएका थिए । 

महाधिवेशनपछि जिम्मेवारी बाँडफाँट गर्दा कार्की स्वयं कोशी प्रदेशको इञ्चार्ज र उनका दाजु दीपक कार्की झापा जिल्ला इञ्चार्ज बन्न चाहन्थे । तर, ओलीले प्रदेशमा शेरधन राई र झापामा रोमनाथ ओलीलाई इञ्चार्ज तोकिदिए । यस निर्णयबाट कार्की दाजुभाइ रुष्ट बनेका थिए ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको पार्टी पुनर्गठन कार्यदलले विराटनगरमा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा दीपक कार्कीले अध्यक्ष ओलीको कार्यशैलीका विरुद्ध खुलेरै असन्तोष पोखेका थिए ।

गत वर्ष विराटनगरमा आयोजित उद्घोषको कार्यक्रममा सहभागी हुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आउँदा मुख्यमन्त्री कार्कीले उनीसँग छुट्टै सामूहिक र व्यक्तिगत छलफल गरेका थिए । 

तत्कालीन समयमा ओलीसँग विद्यादेवी भण्डारीको राजनीतिक सम्बन्ध निकै चिसिएको थियो, जसका कारण कार्कीको सो भेटलाई ओलीले रुचाएका थिएनन् ।

अध्यक्ष ओलीसँग सम्बन्ध बिग्रेकै कारण राजकीय अवसरबाट वञ्चित हुनुपर्ने खतरा बढेपछि कार्की निकट सांसदहरू संशकित बनेका छन् । 

कार्की स्वयंले ओलीसँग सम्बन्ध बिग्रिएको सार्वजनिक रूपमा अस्वीकार गरे पनि घटनाक्रमले त्यसको पुष्टि गरिसकेका छन् । 

कार्की निकट मानिने कोशीका एक एमाले सांसद भन्छन्, ‘विश्वास गर्दा सबैथोक सुम्पने, सम्बन्ध बिग्रेपछि भित्तैमा पुर्याउने ओलीको पुरानै शैली हो । 

मुख्यमन्त्रीलाई सबैभन्दा ठूलो समस्या नै ओलीसँग बिग्रेको सम्बन्ध भएको छ ।’ तर, उनले थपे, ‘अहिले महासचिव शंकर पोखरेलसहितको टिमले प्रदेशका निर्णयहरू कमिटीगत प्रणालीबाटै गरिनुपर्छ भनेर दबाब दिइरहेका कारण परिणाम जे पनि हुन सक्छ ।’

केन्द्रको सहमतिले कोशीमा एमालेको सरकार बन्ने वैधानिक ढोका खोले पनि  मुख्यमन्त्रीको ताज कसले पहिरिने हो भन्ने अन्योल चिरिन केही दिन लाग्ने एमाले नेताहरु बताउँछन् ।

View : 51

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved