Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

बीकेभीएममा पाँच दर्जन पूर्वविद्यार्थी सम्मानित

उद्‌घोष संवाददाता
२८ पुष २०८२, सोमवार

विराटनगर । विराटनगर–११ स्थित बाल कल्याण विद्यामन्दिर (बीकेभीएम) ले ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा पाँच दर्जन पूर्वविद्यार्थीहरूलाई सम्मानित गरेको छ । 

शनिबारदेखि सुरु भएको दुईदिने वार्षिकोत्सव कार्यक्रम अन्तर्गत २०७७ सालदेखि २०८१ सम्मका पूर्वविद्यार्थीहरूलाई ११ हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको हो ।

२०७७ सालदेखि विद्यालयबाट ४ जीपीए ल्याउने २४ जना विद्यार्थीहरू, एमबीबीएस तथा बीडीएसमा नाम निकाल्न सफल उत्कृष्ट विद्यार्थीहरू, राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ मा उत्कृष्ट नतिजा

ल्याउने विद्यार्थीहरू र इन्जिनियरिङतर्फ नाम निकाल्न सफल ३४ विद्यार्थीहरूलाई सम्मान गरिएको विद्यालयका शिक्षक रामहरि देवकोटाले जानकारी दिए ।

वार्षिकोत्सवको समापनका अवसरमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूले नृत्य, अभिनय, जनचेतनामूलक नाटक र विज्ञान प्रदर्शनी लगायत प्रस्तुत गरेका थिए ।

विद्यालयका प्रिन्सिपल रविन दाहाल र भाइस प्रिन्सिपल अञ्जली दाहाल, प्याब्सनका केन्द्रीय नेताहरूको उपस्थितिमा पूर्वविद्यार्थीहरूलाई सम्मानित गरिएको जनाइएको छ । त्यस्तै अभिभावकलाई समेत सम्मानित गरिएको जनाइएको छ । आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउन विद्यालयका प्रिन्सिपल रविन दाहालले शुभकामना दिए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले ठूलो मेहनत गर्दै आएको स्मरण गरे । 

उनले अझ गुणस्तरीय, प्रविधियुक्त, सीपमूलक र रोजगारमूलक शिक्षा आवश्यक भएको भन्दै विद्यालयले सोही अनुसारको जनशक्ति उत्पादन गर्न शुभकामना दिए ।

अभिभावकको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विद्यालयले शिक्षा क्षेत्रमा देखाएको गुणस्तरीय शिक्षाप्रति चासो राख्दै विद्यालयलाई अभिभावकहरूले समेत आभार व्यक्त गरेका थिए ।

View : 128

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved