विराटनगर, १४ कात्तिक : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई मुख्यमन्त्री बन्न जसले सहयोग गरेको हो उसैको कुरा मान्नु आफ्नो दायित्व भएको बताएका छन् । उनले आफूलाई सहयोग गर्ने शक्तिकै एजेण्डा पालना गर्ने भन्दै एमालेसँगको सम्बन्ध अहिल्यै नतोडिने संकेत गरेका हुन् ।
९३ सदस्यीय कोशी प्रदेश सभाको सवैभन्दा ठूलो दल नेकपा एमालेको ३९ जना सांसदहरूको समर्थनमा न्यूनतम् बहुमत ४७ पुर्याएर संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्क्री नियुत्त भएका कार्कीले सरकार विस्तारमा पनि एमालेकै एजेण्डा पालना गर्ने बताए ।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार विराटनगरमा आयोजना गरेको कृषि गणनाको कोशी प्रदेशस्तरीय नजिता सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले एमालेकै एजेण्डा अनुसार कोशीमा सहमतीय सरकार गठन हुने पनि बताएका हुन् ।
‘मलाई जसले मुख्यमन्त्री बनाउनु भयो उहाँको ऐजेण्डा मैले पालना गर्नुपर्छ, मभन्दा अगाडिको मुख्यमन्त्रीले मलाई सहमतीय सरकारको एकदमै धेरै जोड गर्नु भएको थियो, उहाँले त्यो अवसर प्राप्त गर्न सक्नु भएन’ मुख्यमन्त्री कार्कीले भने, ‘उहाँकै एजेण्डाले त्यो अवसर प्राप्त गर्न पुग्ने अभियानमा छु, त्यो बाचा मैले पूरा गर्नुपर्छ ।’
उनले सरकार विस्तारमा ढिलाई नभएको बताए । सरकार गठन लगत्तै दशैंको बिदा सुरू भएकोले त्यसलाई ढिलाई मान्न नहुने दाबी गरे । कोशीमा सानो आकारको मन्त्रिमण्डल बनाउने पक्षमा आफू रहेको बताए ।
‘अलिकति ढिलो भएको हो, हामी छिट्टै यसलाई पूरा गर्छौं, बिदा कटाउँदा त ढिला पनि भएको छैन, बिदालाई पनि सकारात्मक रूपले हेरौं’ मुख्यमन्त्री कार्कीले भने, ‘बिदाको समयमा पनि मन्त्री र मन्त्रीको सचिवालयले लाने अलिकति पैसा बच्यो नि त, पेट्रोल बच्यो, धेरै कुरा बच्यो, मन्त्रालयको काम त रोकिएको छैन ।’
उनले कोशी प्रदेशमा एमालेसहित अन्य केही दललाई पनि सरकारमा सहभागी गराउने कुराको संकेत गरे । कांग्रेसका २९ जना प्रदेश सभा सदस्यहरूमध्ये डा. शेखर कोइराला निकट आठ जनाको समूहको नेतृत्व गर्दै विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले भने, ‘कसैले केही लेख्न खोज्छ भने लेख्नलाई कलम मात्रै भएर भएन, कापी पनि चाहियो । लेख्ने साधन चाहियो, कलम, कापी दुईवटै साधन प्रयोग गर्यो भने मात्रै अक्षर बन्छ, अक्षरबाट शब्द निस्किएला, शब्दबाट अर्थ निस्किएला, त्यसकारणले लेख्ने कलमलाई पनि सामेल गराउने कोसिस गरेको हो ।’
मुख्यमन्त्री कार्कीले चाँडै मन्त्रिमण्डल विस्तार भएर बजेट प्रतिस्थापन विधेयक आउने जानकारी दिए । आफू नेतृत्वको सरकारले प्रदेशमा जनसेवा, जनअधिकारको सुरक्षा, समृद्धिसँगै सुशासनका लागि लाग्ने घोषणा गरे । उनले यो सरकार स्थिर सरकार भएकोले सरकारले सुशासनमा कमजोर नहुने दाबी गरे ।
View : 185
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved