विराटनगर । राजनीतिमा पद प्राप्त गर्नु र नेतृत्व गर्नु फरक कुरा हुन् । पदले जिम्मेवारी दिन्छ, तर नेतृत्वले संगठनलाई दिशा दिन्छ । यही बुझाइका साथ नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनमा विराटनगर महानगर सभापतिको उम्मेदवार बन्ने तयारीमा छन् सन्तोष न्यौपाने ।
२०४६ सालको जनआन्दोलनदेखि विद्यार्थी राजनीतिमा होमिएका न्यौपानेका लागि कांग्रेसको राजनीति कुनै नयाँ अध्याय होइन ।
चार दशकदेखि निरन्तर पार्टी आन्दोलनमा सक्रिय उनी विद्यार्थी, तरूण हुँदै अहिले स्थानीय तहको जनप्रतिनिधिका रूपमा कार्यरत छन् ।
नेपाल विद्यार्थी संघ विराटनगरको दुई कार्यकाल सभापति सम्हालेका न्यौपाने त्यसपछि नेपाल तरूण दलको महानगर सभापति हुँदै जिल्ला सचिवसम्म पुगे ।
२०६२–६३ को लोकतान्त्रिक आन्दोलनमा पटक–पटक पक्राउ परे । अहिले उनी विराटनगर महानगरपालिका–५ का वडाध्यक्षसँगै महानगर कार्यपालिकाको प्रवक्ताको जिम्मेवारीमा छन् ।
१४औं महाधिवेशनमा महानगर सभापतिको प्रतिस्पर्धामा झिनो मतान्तरले पराजित भए पनि त्यसलाई उनले राजनीतिक यात्राको अन्त्य होइन, अर्को अवसरका रूपमा लिए । चार वर्षपछि उनी फेरि त्यही जिम्मेवारीका लागि मैदानमा उत्रिदैछन् ।
‘अघिल्लो पटकको हारलाई मैले व्यक्तिगत हारका रूपमा लिएको छैन,’ न्यौपाने भन्छन्, ‘त्यो निर्वाचनले मलाई कार्यकर्ताको मन बुझ्ने अवसर दियो । यसपटक अझ स्पष्ट योजना र अझ बलियो संगठनात्मक आधारसहित अघि बढ्दैछु ।’
महानगर सभापति बनेपछि मेयरको उम्मेदवार बन्ने राजनीतिक सम्भावना पनि खुल्नेछ । तर न्यौपाने तत्काल व्यक्तिगत राजनीतिक लाभभन्दा संगठन निर्माणलाई प्राथमिकता दिने बताउँछन् । ‘सभापति भएर अर्को पदको टिकट खोज्ने मेरो प्राथमिकता होइन,’ उनी भन्छन्, ‘पहिला पार्टीलाई जिताउने, संगठनलाई बलियो बनाउने र कार्यकर्ताको मन जित्ने काम गर्छु । त्यसपछि आउने अवसर र जिम्मेवारी पार्टीले तय गर्ने कुरा हो ।’
उनको उम्मेदवारीको मूल एजेन्डा पार्टीभित्र विश्वासको वातावरण निर्माण गर्नु हो । ‘कार्यकर्ता चुनावमा मात्रै सम्झिने होइन, पार्टीको हरेक निर्णयमा सम्झिनुपर्छ,’ उनी भन्छन्, ‘कांग्रेसलाई नेतामुखी होइन, कार्यकर्तामुखी बनाउने मेरो मुख्य संकल्प हो ।’ महानगर सभापति बनेपछि पार्टीभित्र गुट र व्यक्तिगत प्रभावभन्दा संगठनलाई प्राथमिकतामा राख्ने उनको दाबी छ ।
‘कुन नेताको नजिक छ भन्ने आधारमा होइन, कसले पार्टीका लागि कति काम गरेको छ भन्ने आधारमा कार्यकर्ताको मूल्याङ्कन हुनुपर्छ,’ उनी भन्छन्, ‘पार्टीमा अवसरको ढोका सबैका लागि खुला हुनुपर्छ ।’
राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि लामो समयदेखि सक्रिय रहेका न्यौपाने एम्नेष्टी इन्टरनेशनल, मुनाल मनोरञ्जनालय र गोपीनाथ पुस्तकालयलगायत संस्थासँग जोडिएर विराटनगरको सामाजिक अभियानमा सहभागी हुँदै आएका छन् ।
उनको राजनीतिक यात्रा भने परिवारबाटै प्रभावित थियो । कांग्रेससँग पारिवारिक सम्बन्ध रहेकाले विद्यार्थी अवस्थादेखि नै उनलाई राजनीतिमा प्रवेश र सक्रियताका लागि पारिवारिक साथ मिल्यो ।
अहिलेको राजनीतिलाई पुरानो शैलीबाट अघि बढाउन नसकिने बताउने उनी युवापुस्तामा राजनीतिप्रति देखिएको वितृष्णालाई पार्टीका लागि गम्भीर चुनौतीका रूपमा लिन्छन् ।
‘आजको युवालाई भाषणले होइन, व्यवहारले राजनीतिमा ल्याउनुपर्छ,’ उनी भन्छन्, ‘युवाले राजनीतिमा भविष्य देख्न सक्ने वातावरण पार्टीले बनाउनुपर्छ । उनीहरूलाई दर्शक होइन, निर्णय प्रक्रियाको साझेदार बनाउनुपर्छ ।’
गत वर्षको युवा विद्रोहले दिएको सन्देशलाई पनि उनले गम्भीर रूपमा लिनुपर्ने बताए ।
‘युवाको आक्रोशलाई गलत भन्नुअघि त्यसको कारण बुझ्नुपर्छ,’ न्यौपाने भन्छन्, ‘तर आक्रोश व्यक्त गर्ने नाममा देश जलाउने, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने र निजी सम्पत्तिमा क्षति पु¥याउने बाटोले कुनै पनि पुस्ताको भविष्य बनाउँदैन ।’
उनको सन्देश स्पष्ट छ—युवाको ऊर्जा विनाशमा होइन, निर्माणमा प्रयोग हुनुपर्छ ।
‘युवाले देश बनाउनु पर्छ, नयाँ निर्माणमा लाग्नुपर्छ,’ उनी भन्छन्, ‘देश जलाएर परिवर्तन हुँदैन । एउटा पुस्ताले गरेको क्षति अर्को पुस्ताले वर्षौसम्म भोग्नुपर्छ ।’
लोकतन्त्र र संविधानप्रति युवाको विश्वास बलियो बनाउनुपर्ने धारणा राख्ने न्यौपाने लोकतान्त्रिक व्यवस्थाभित्रैबाट कमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने बताउँछन् ।
विराटनगर महानगर कांग्रेसको नेतृत्वका लागि दोस्रोपटक मैदानमा उत्रिदा न्यौपानेले आफूलाई केवल उम्मेदवारका रूपमा होइन, लामो राजनीतिक अनुभव बोकेको संगठनात्मक विकल्पका रूपमा प्रस्तुत गरेका छन् ।
‘मैले राजनीतिमा धेरै कुरा पाए, अब पार्टीलाई केही दिने समय हो,’ उनी भन्छन्, ‘मेरो लक्ष्य पदमा पुग्नु मात्रै होइन, कार्यकर्ताले ‘यो मेरो पार्टी हो’ भनेर गर्व गर्ने कांग्रेस बनाउनु हो ।’
View : 72
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved