Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

कोशी प्रदेश टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता

गण्डकीका कप्तान विपिनलाई कारबाही

उद्‌घोष सम्वाददाता
२८ फागुन २०८०, सोमवार

विराटनगर । विराटनगरमा जारी कोशी प्रदेश टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार भएको खेलमा गण्डकी प्रदेशका कप्तान विपिन खत्रीले अनुशासन उल्लङ्घनको आरोपमा कारबाहीमा परेका छन् । 

खत्रीले आइतबार विभागीय टिम नेपाल पुलिससँगको खेलमा पुलिसका खेलाडी शंकर रानाको स्टम्पिङको अपिल गरेपछि अम्पायरले आउट नदिएर गलत निर्णय गरेको भन्दै खेल सकिएपछि पनि बोलेका थिए ।

अम्पायरको गलत निर्णयले आफ्नो टोली पराजित भएको दाबी गरेपछि उनलाई कोड अफ कन्डक्ट लेबल टु अनुसार कारबाही गरिएको जनाइएको छ ।

म्याच रेफ्री मोहम्मद सफिकले उनलाई ३ डिमेरिट प्वाइन्ट दिएका छन् । उनले अब १८ महिनाभित्र यस्तै गल्ती दोहोर्‍याए नेपाल क्रिकेट एसोसिएसनले मान्यता दिएको त्यसपछिको एक खेलमा प्रतिबन्ध लाग्ने जनाइएको छ ।

पुलिसको जितमा शंकर रानाले ३० बलमा अविजित ५१ रन बनाएका थिए । यसक्रममा रानाले ३ छक्का र ५ चौका प्रहार गरेका थिए । राना १३ रनमा खेलिरहँदा गण्डकीका खेलाडीले स्टम्पिङको अपिल गरेका थिए । 

उनीहरूको अपिललाई नजरअन्दाज गरि खेल अघि बढेपछि रानाले पुलिसको जितका लागि दरिलो पारी खेले । समूह बी मा रहेको पुलिसले २ अङ्क जोडिरहँदा गण्डकी भने आफ्नो पहिलो जितको पर्खाइमा रहेको थियो । हारसँगै गण्डकीका कप्तान खत्रीले पोष्ट म्याच कन्फ्रेन्समै खराब अम्पायरिङको कारण हार ब्यहोर्नु परेको गुनासो गरेका थिए ।

View : 243

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved