Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरमा श्री सत्य साई  ‘नौ सूत्रीय आचारसंहिता गोष्ठी’ सम्पन्न

उद्‌घोष संवाददाता
१६ फागुन २०८२, शनिवार

विराटनगर । श्री सत्य साई सेवा सङ्गठन नेपाल, कोशी प्रदेश समिति ‘ख’ को आयोजनामा शनिबार विराटनगरमा ‘नौ सूत्रीय आचारसंहिता गोष्ठी’ भव्यताका साथ सम्पन्न भएको छ। विराटनगरस्थित त्रिमूर्ति चोकमा आयोजित सो गोष्ठीको संयोजन त्रिमूर्ति भजन समूहले गरेको थियो।

कार्यक्रमको विधिवत् सुरुवात ओमकारम्, ब्रह्मगायत्री र भगवान् श्री सत्य साई बाबाको दिव्य चरणमा पुष्पगुच्छा अर्पण गरी गरिएको थियो। गोष्ठीको सञ्चालन शिक्षा उपसंयोजक रीमा थापा मगरले गरेकी थिइन् ।
 

कोशी प्रदेश समिति ‘ख’ का अध्यक्ष किशोर मल्लिकले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र दैनिक जीवनमा आचारसंहिताको अपरिहार्यताबारे प्रकाश पारेका थिए ।

गोष्ठीको मुख्य सत्रमा नौ जना विज्ञ वक्ताहरूले बाबाद्वारा निर्देशित नौ सूत्रीय आचारसंहिताका विभिन्न पक्षमा आफ्ना गहन प्रस्तुतिहरू गरेका थिए ।

 दिनहुँ जप र ध्यानका सम्बन्धमा पूर्व क्षेत्रीय अध्यक्ष सानुकाजी श्रेष्ठले प्रस्तुति दिएका थिए  भने सातामा एक पटक परिवार भजनको महत्त्वबारे क्षेत्रीय युवा उपसंयोजक पूजा विश्वासले प्रष्ट पारेकी थिइन् ।

 त्यसैगरी शिक्षा संयोजक सुनिता ओडारी रिजालले बालबालिकाको चरित्र निर्माणमा साई शिक्षाको भूमिकाबारे चर्चा गरे भने पूर्व उपाध्यक्ष ललिता श्रेष्ठले भजन र नगरसङ्कीर्तनमार्फत प्राप्त हुने सामूहिक गायनको आध्यात्मिक शक्तिबारे जानकारी दिए ।

सामुदायिक सेवाका सम्बन्धमा राष्ट्रिय युवा उपसंयोजक निशिल लम्सालले ‘मानव सेवा नै माधव सेवा’ भन्ने मूल मन्त्रमा आधारित प्रस्तुति दिएकी थिइन् ।

यस्तै, क्षेत्रीय युवा उपसंयोजक सुजन केसीले साई साहित्य अध्ययन र स्वाध्यायको आवश्यकता औँल्याए भने नवआगन्तुक संयोजक विष्णुकुमारी गुरुङले सादा जीवन र उच्च विचारका लागि इच्छा कटौतीको सूत्रबारे जानकारी दिए । 

सम्पर्कमा भएका सबैसँग प्रेमपूर्वक कुरा गर्ने सम्बन्धमा राष्ट्रिय शिक्षा उपसंयोजक अमिता निरौलाले मधुर भाषा र प्रेमपूर्ण व्यवहारको महत्त्वबारे प्रकाश पारेका थिए भने पूर्व राष्ट्रिय सूचना तथा सञ्चार समिति उपसंयोजक अनन्तराज न्यौपानेले अरूको निन्दा त्यागेर आत्मिक शुद्धता कायम राख्ने विषयमा प्रस्तुति दिएका थिए ।

त्रिमूर्ति भजन समूहकी अध्यक्ष पुष्पा खड्काको विशेष उपस्थिति रहेको सो कार्यक्रममा विराटनगर र आसपासका क्षेत्रका उल्लेख्य सङ्ख्यामा साई भक्तहरूको सहभागिता थियो।

वक्ताहरूले साई भक्तहरूले पालना गर्नुपर्ने यी नियमहरूले व्यक्तिमा आध्यात्मिक अनुशासन र समाजमा सद्भाव कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमको समापन आतिथ्य केन्द्रद्वारा धन्यवाद ज्ञापन र सामूहिक आरतीका साथ गरिएको थियो।

View : 274

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved