Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विराट बहिरा माविका बालबालिकासँग पतञ्जलीले मनायो होली

उद्‌घोष संवाददाता
१६ फागुन २०८२, शनिवार

विराटनगर । पतञ्जली योग समिति विराटनगर महानगरले यस पटकको होली पर्व विशेष र सामाजिक सेवाभावका साथ सम्पन्न गरेको छ ।

विगतका वर्षहरूमा पतञ्जली परिवारका सदस्यहरू मात्र भेला भएर होली मनाउने परम्परालाई तोड्दै यस वर्ष समितिले विराटनगरस्थित विराट बहिरा माध्यमिक विद्यालयका बालबालिकाहरूसँग रङ खेलेर खुसी साटेको हो ।

 बोल्न र सुन्न नसक्ने भए तापनि अद्भुत क्षमता भएका देशभरका २७ जिल्लाका छात्रछात्राहरू अध्ययनरत यस विद्यालयमा सप्ताहव्यापी योग तथा ध्यान शिविरको आयोजना गरिएको थियो ।

सोही शिविरको समापन समारोह पश्चात् पतञ्जली परिवार र विद्यार्थीहरूबीच होली कार्यक्रम आयोजना गरिएको थियो ।

समापन समारोहमा बोल्दै व्यवस्थापन समितिका सदस्य तथा पूर्व शिक्षक तारा भट्टराईले विद्यालयमा योग र ध्यानको महत्त्व बुझाउँदै नियमित योग केन्द्र स्थापना गरेकोमा महानगर समितिलाई धन्यवाद ज्ञापन गरे ।  

कार्यक्रममा पतञ्जली योग समिति कोशी प्रदेशका सह–प्रभारी गोविन्द खड्का, विद्यालयकी प्राचार्य मिनु अधिकारी दाहाल, मोरङ जिल्ला उपाध्यक्षद्वय ऋषि खतिवडा र दामोदर पोखरेल लगायत चारै तहका पदाधिकारीहरूको बाक्लो उपस्थिति थियो ।

 करिब दुई सय विद्यार्थीहरूको सहभागिता रहेको सो कार्यक्रमको समापनमा पतञ्जली योगपीठ नेपालका आजीवन सदस्य चन्द्रमणि गुरागाईंले होम–होमादि गराएका थिए ।

योग र आध्यात्मिक अनुष्ठानको समापनसँगै सबैले सामूहिक रूपमा होली खेल्दै कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गरेका थिए ।

यसैगरी गत बुधबार पतञ्जली योग समिति कोशीका सहप्रभारी गोविन्द खड्काले आफ्नो जन्मदिनमा केक नकाटी बहिरा बालबालिकासँग सामान्य तरिकाले रमाइलो गरी जन्मदिन मनाएका थिए । 

View : 303

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved