Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

संयुक्त राष्ट्रसंघको महासभाको अभ्यासमा भाग लिन एभरेष्टको टोली भियतनाम प्रस्थान

उद्‌घोष संवाददाता
२६ असोज २०८२, आइतवार

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका १२ जना विद्यार्थीसहितको १३ सदस्यीय टोली भियतनामका लागि प्रस्थान गरेको छ ।

असोज १२ देखि कात्तिक १ (१२ –१८ अक्टुबर) गतेसम्म भियतनामको होचिमिनमा हुने कार्यक्रमका लागि एभरेष्ट कलेजका सहप्राचार्य टीएन भण्डारीको नेतृत्वमा विद्यार्थीहरुको समूह प्रस्थान गरेको एभरेष्ट स्कुलले जानकारी दिएको छ ।

स्कुलका अनुसार भियतनामको हु टेक विश्वविद्यालयमा हुने नमुना सभामा चीन, थाइल्याण्ड, कम्बोडिया, भियतनाम तथा नेपाललगायतका देशका विद्यार्थीहरुले सहभागिता जनाउनेछन् ।

जसका लागि नेपालबाट ३१ जना विद्यार्थीले सहभागिता जनाउँदा एभरेष्ट स्कुलका १२ जना विद्यार्थीले भाग लिन लागेका हुन् ।

भियतनाम बसाइका क्रममा विभिन्न शहरको अवलोकन भ्रमण र त्यहाँका सांस्कृतिक परिवेशको समेत अध्ययन हुने एभरेष्टले जनाएको छ ।

विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास हुने लक्ष्य राखिएको यो नमुना महासभाले विश्वको कुटनीति, परराष्ट्र नीति, त्यहाँको संस्कृति, राजनितिक परिवेश र विकास क्रमलाई समेत बुझ्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

यसअघि एभरेष्ट स्कुलले समेत आन्तरिक रुपमा एभरेष्ट मुनको नाममा नमुना अभ्यास गराएको थियो ।

कक्षा ८ देखि १२ सम्मका दुई सय भन्दा बढी विद्यार्थीले उक्त नमुना महासभामा विभिन्न देशको प्रतिनिधिका रुपमा भाग लिएका थिए ।‘भियतनाम मुन’ नाम दिइएको यो कार्यक्रममा समेत ग्लोबल हेल्प फाउण्डेसनले प्राविधिक तथा व्यवस्थापकीय सहजीकरण गरेको एभरेष्ट सहप्राचार्य भण्डारीले बताए ।

यो कार्यक्रमले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रियस्तरका समस्या पहिचान र समाधानका लागि विकल्प खोज्न सिकाउने उनले विश्वास ब्यक्त गरे ।

View : 254

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved