Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

गोयलले बनाइदिए अदालतमा देवीको मूर्ति

उद्घोष सम्वाददाता
२९ पुष २०८०, आइतवार

भद्रपुर । वरिष्ठ समाजसेवी दीनबन्धु गोयलको सहयोगमा जिल्ला अदालत झापामा निर्माण भएको न्यायकी देवीको मूर्तिको आइतबार अनावरण गरिएको छ । 

अदालतको प्राङ्गणमा आयोजित कार्यक्रममा समाजसेवी गोयल, उच्च अदालत विराटनगर अन्तर्गतको इलाम इजलासका न्यायाधीश किरण पौडेल र झापा जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतले संयुक्त रूपमा मूर्तिको अनावरण गरेका हुन् । अभिषेक तिमिल्सिनाले निर्माण गरेको मूर्ति ६ फिट अग्लो छ ।

कार्यक्रममा न्यायाधीश पौडेलले न्यायाधीशले मात्र न्यायसम्पादन गर्न नसक्ने उल्लेख गर्दै यसमा वकिल, सरकारी वकिल, कर्मचारी, जनसमुदाय सबैको भूमिका रहने बताए । जिल्ला न्यायाधीश बस्नेतले मूर्ति दाताको अदालतसित कुनै पनि प्रकारको स्वार्थ र सम्बन्ध नभएको स्पष्ट पारे ।

न्यायाधीश बस्नेतले अदालतलाई कस्तो प्रकारको सेवा लिने वा नलिने भन्ने विषयमा असजिलो अनुभव हुने चर्चा गर्दै मूर्तिदाता गोयलको कुनै स्वार्थ नभएकाले मूर्ति ग्रहण गरिएको जानकारी दिए ।

बस्नेतले न्यायकी देवीले सेवाग्राहीमा न्याय पाएको अनुभूति गराउन र सेवाप्रदायकमा निष्पक्ष र विवेकपूर्ण न्याय प्रदान गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।

वरिष्ठ समाजसेवी गोयलले भद्रपुर आफ्नो जन्मस्थल भएको हुँदा आफूलाई यहाँको भूमिमा सधैं सेवा गर्ने इच्छा भइरहने बताए । नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरज खत्रीले न्याय भनेको अनुभूति हो भन्ने धारणा राख्दै यस अदालतमा आइपुग्ने सबैले आफूले पाएको न्यायप्रति सन्तोष गर्ने ठाउँ हुनुपर्ने जिकिर गरे ।

समाजसेवी गोयलले आफू कामविशेषले बाहिर रहने भए पनि आफू हुर्केबढेको र पढेको ठाउा भद्रपुरप्रति सधैं ऋणी भइरहने चर्चा गरे । कार्यक्रममा न्यायाधीशद्वय पौडेल र बस्नेतले समाजसेवी गोयललाई सम्मानपत्र प्रदान गरेका थिए ।

View : 229

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved