Biratnagar, Morang, Nepal
२४ असार २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

दलितको क्षेत्रमा बजेट विनियोजन गर्न माग

उद्घोष सम्वाददाता
२० असार २०८१, बिहिवार

विराटनगर । दलित तथा पछाडि पारिएको समुदायका लागि तीनै तहले बजेट विनियोजन गर्नुपर्नेमा सम्बद्ध सरोकारवाला क्षेत्रका प्रतिनिधिहरूले आवाज उठाएका छन् ।

दलित महिला संघ (फेडो) मोरङले बुधबार विराटनगरमा आयोजना गरेको एक अन्तरक्रिया कार्यत्रममा दलित उत्थानको क्षेत्रमा बजेट विनियोजन नहुँदा उनीहरू राज्यको मुल प्रवाहीकरणमा नपरेको बताइएको छ ।

विकास प्रक्रियामा दलित महिलाको समाहीकरणका लागि सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रममा दलित, सीमान्तकृत, पछाडि पारिएका समुदायप्रति राज्यले पर्याप्त बजेट विनियोजन नगरेको जनाएको हो ।

कोशी प्रदेश सरकारले तयार पारेको आवधिक योजनामा दलित उत्थानका विषयलाई समेटे पनि बजेटसम्म आइपुग्दा भने त्यसलाई वेवास्ता गरिएको जनाइएको छ ।

केही स्थानीय तहमा भने अहिले दलितका क्षेत्रमा फनि कार्यक्रमहरू राख्ने र बजेट विनियोजन गर्ने त्रम सुरूवात भएको जनाइएको छ । फेडो मोरङ अध्यक्ष सर्मिला परियारले समाजमा अझैपनि जातीय भेदभाव कायमै रहेको भन्दै भेदभावमुक्त समाज निर्माणमा तीनै तहका सरकारहरूले सहयोग गर्नुपर्ने धारणा राखिन् । 

त्यसैगरी फेडोकी कोशी प्रदेश अध्यक्ष दुर्गा नेपालीले तीन तहका सरकारलाई दलित क्षेत्रमा प्राथमिकता दिएर कार्यक्रमहरू तयार गर्न र समाजमा विभेदरहित अवस्थाको सिर्जना गर्न आग्रह गरिन् । उनले विगतदेखि नै सरकारलाई ज्ञापन पत्र बुझाउँदै अधिकार प्राप्तिका लागि पैरवी गर्दै आएको जानकारी दिइन् ।

फाउण्डेशन फर अ जस्टिस सोसाइटीसँगको सहकार्यमा आयोजित कार्यक्रममा परियोजना संयोजक नरबहादुर आउजीले संस्थाले गर्दै आएको कार्यक्रमहरूबारे प्रस्तुतिकरण गरेका थिए ।

उनले फेडोको पैरवीकै कारण बुढीगंगा गाउँपालिकाले दलित जातजातीका लागि बजेट विनियोजन गरेको जानकारी दिए ।

उनले सञ्चार क्षेत्रको सहयोगमा सामाजिक रूपमा पछाडि पारिएका वर्ग समुदायको उत्थानका लागि पैरवी गर्न सकिने भएकोले कार्यक्रमका गतिविधिहरूमा सञ्चारकर्मीहरूलाई सहभागिता गराउँदै आएको बताए ।

View : 47

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved