Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

श्रृष्टि सहकारीद्वारा १३ प्रतिशत बोनस वितरण, अध्यक्षमा पोखरेल सर्वसम्मत

उद्‌घोष संवाददाता
७ मंसिर २०८२, आइतवार

विराटनगर । विराटनगर–२ स्थित श्रृष्टि सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यलाई पौने १३ प्रतिशत बोनस वितरण गरेको छ । सहकारीको शनिबार आयोजित २९ औं साधारण सभामा उक्त जानकारी दिइएको छ । 

सहकारीका अध्यक्ष मोहनप्रसाद भट्टराईले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रगति तथा २०८३÷८४ को प्रस्तावित बजेट तथा कार्ययोजना प्रस्तुत गर्दै बितेको आर्थिक वर्षमा संस्थाले गरेको मुनाफाबाट शेयर सदस्यको योगदानको आधारमा उनीहरुको बचत खातामा १२.७५ प्रतिशतका दरले बोनस बापतको रकम जम्मा गरी वितरण गरिएको बताए ।

संस्थाको २०८२ असार मसान्तसम्म शेयरपु“जी २ करोड ५० लाख ६ हजार १ सय, बचत ९ करोड ६० लाख ९१ हजार ३ सय ७६ र कर्जा लगानी १० करोड ८ लाख ४५ हजार बढी  रहेको जनाइएको छ । 

सो संस्थाको स्थिर सम्पत्ति भने विराटनगर–२ मा आफ्नै दुई तल्ले पक्की भवनसहितको ५० लाख ८६ हजार बढीको सम्पत्ति रहेको लेखा समिति संयोजक निवास पोखरेलले जानकारी दिए । 

साधारण सभामा संस्थाले ६ जनालाई जनही ३ हजार १ सय नगदसहित सम्मान गरेको छ । 

संस्थाले असल बचतकर्ताका रुपमा विराटनगर–३ का विनोद खतिवडा, बुढीगंगा–१ का लक्ष्मी परियार र ऋणीतर्फ रंगेली–२ का बिष्णुकुमार थारु र धनपालथान–३ का देवन्तीकुमारी राजवंशीलाई पुरस्कृत गरेको हो । 

यस्तै शेयर सदस्यका दुई मेधावी छोराछोरीलाई समेत सम्मान गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिका सदस्य जीवन काफ्ले र आयोजक सहकारीका अध्यक्ष भट्टराईले उनीहरुलाई नगद, दोसल्ला र सम्मापनत्रसहित सम्मानित गरे । 

सो अवसरमा बोल्ने राष्ट्रसेवक सहकारीका प्रबन्धक कृष्ण भट्टराई र सूर्योदय बहुउद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष भवनाथ कोइराला लगायतका वक्ताहरुले सहकारीहरुमा बचत जम्मा हुने तर लगानी नहुने वातावरण सिर्जना भएकोमा चिन्ता ब्यक्त गरेका थिए । 

संचालक समितिमा पोखरेल

यसैबीच, साधारण सभाले निवास पोखरेलको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा डम्बरबहादुर कार्की र सचिवमा लिलानाथ गौतम निर्वाचित भएका छन् । 

सदस्यहरुमा केदार कार्की, सावित्रीदेवी काफ्ले, बसन्तराम चौधरी, उपेन्द्रबहादुर बस्नेत, सुशीला खवास, लक्ष्मीनारायण भगत, बद्रिप्रसाद पोखरेल र देवीप्रसाद काफ्ले निर्वाचित भएका छन् । 

सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा अच्युत भट्टराई निर्वाचित भएका छन् भने सदस्यमा रामकृष्ण नेपाल र कृष्णकुमारी थापा निर्वाचित भएका छन् ।

View : 149

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved