विराटनगर । आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने सोमबारको बैठकमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले केन्द्रको निर्देशन अनुसार सोमबारको बैठकमा सहभागी हुने जानकारी दिए ।
उनले प्रदेश प्रमुखबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकोले उक्त बैठकमा सहभागी हुन केन्द्रबाट निर्देशन आइसकेको र त्यसको औपचारिक निर्णय सोमबार बिहान बस्ने दलको बैठकले गर्ने बताए ।
मुख्यमन्त्री हिक्मत कुमार कार्की नेतृत्वको वर्तमान सरकार गठनको प्रक्रियाविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनवाई नटुङ्गिएसम्म कांग्रेसले कोशी प्रदेश सभा बैठकमा सहभागी नहुने यसअघि निर्णय गरेको थियो । तर सोमबार सरकारको नीति तथा कार्यक्रम आउने भएकोले बैठकमा सहभागी हुने प्रमुख सचेतक तामाङले बताए ।
‘केन्द्रले नीति कार्यक्रममा सहभागी हुने निर्देशन गरे बमोजिम कांग्रेस भोलिको बैठकमा सहभागी हुन्छ, सहभागी हुन निर्देशन आएको छ’ उनले भने, ‘भोलि दलको बैठकबाट पनि निर्णय हुन्छ, केन्द्रीय नेताहरूबाट भोलि औपचारिक रुपमा निर्देशन हुन्छ ।’
कोशी प्रदेश सभाको जारी पाँचौं अधिवेशनको अहिलेसम्मका तीनवटा बैठकमा कांग्रेस उपस्थित छैन ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीको आग्रहमा अहिलेसम्म दलका नेता उद्धव थापाले समेत बैठकमा सहभागिता नजनाउने विषयमा सहमति जनाउँदै आएका थिए । तर लगातार बैठकमा अनुपस्थित हुन नहुने पक्षमा सांसदहरुले धारणा राखेपछि उनले समेत पार्टीका केन्द्रीय नेताहरूसँग राय लिएका थिए ।
केदार कार्की पक्षका केही सांसदहरुले भने अझैपनि प्रदेश सभा बैठकमा उपस्थित नहुन दलभित्र दवाव दिँदै आएको जनाइएको छ ।
View : 168
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved