Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

माल्दिभ्सविरुद्ध नेपालको ११ गोल

रेखाले ५ गोल गर्दा प्रीतिको पनि ह्याट्रिक पूरा
उद्घोष सम्वाददाता
५ कार्तिक २०८१, सोमवार

विराटनगर । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तरगत केहीबेर अघि सम्पन्न भएको खेलमा माल्दिभ्सविरुद्ध नेपालले ११ गोल गरेको छ । 

दशरथ रंगशालामा भएको नेपालको दोस्रो खेलमा शानदार प्रदर्शन गरेको हो । नेपालका लागि स्ट्राइकर रेखा पौडेल एक्लैले ५ गोल गरिन् । उनलाई पछ्याउँदै प्रीति राईले पनि ह्याट्रिक पुरा गरिन् । 

नेपालका लागि सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक–एक गोल गरे ।

नेपालले ४ गोल गर्दै पहिलो हाफ टुङ्ग्याएको थियो । दोस्रो हाफमा ५ गोल थपेको हो ।

छैटौँ मिनेटमा सविता रानाको कर्नर पासमा प्रीति राईबाट नेपालले गोलको खाता खोलेको थियो । 

खेल अवधिभर मैदान आफ्नो नियन्त्रणमा लिएको नेपालका लागि सविताले २९ औं मिनेटमा अग्रता दोब्बर पारिन् ।

रेखाले पुनः ३२ औं र ४२ औं मिनेटमा गोल गरिन् ।

दोस्रो हाफमा पनि नेपालले माल्दिभ्स विरुद्ध चर्को दवाव बनायो । मैदानमा एकपक्षीय देखिएको नेपालका लागि ४८ औं मिनेटमा रेखाले गोल थप्दै ह्याट्रिक पुरा गरिन् ।

उनी त्यतिमा रोकिइनन् । ६३ औं र ७८ औं मिनेटमा रेखा गोल गरिन् ।

यता ६५ औं मिनेटमा प्रीति राईले आफ्नो दोस्रो गोलमार्फत ह्याट्रिकको सम्भावना कायमै राखिन् । उनले ८७ औं मिनेटमा पेनाल्टीको अवसर सदुपयोग गर्दै त्यो इच्छा पनि पुरा गरिन् ।

प्रितिको ह्याट्रिकसँगै नेपालले एकै खेलमा दोहोरो ह्याट्रिकको पनि रेकर्ड बनाएको छ । त्यसो त जारी च्याम्पियनसिपमा पहिलो पटक ह्याट्रिक गर्ने टोली पनि नेपाल नै बनेको छ । 

नेपालबाट पहिलो पटक राष्ट्रिय टिममा परेकी सजनी थोकरले यही खेलबाट डेब्यु पाइन् । ६७ औं मिनेटमा उनले गीता रानालाई आराम दिलाएकी थिइन् । 

सोमबारको दोस्रो खेल आफ्नो पक्षमा पार्नुपर्ने नेपाललाई दबाब थियो । जसका कारण स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) फ्रान्सबाट आइतबार मात्रै नेपाल आइपुगेकी थिइन् । तर प्लेइङ ११ कै उत्कृष्ट प्रदर्शनका कारण उनले बेन्चमै आराम गरिन् । 

सोमबारको उच्च स्कोरका कारण नेपाल साफ च्याम्पियनसिपको समुह ‘बी’ मा शिर्ष स्थानमा उक्लिएको छ । गोल अन्तरका कारण नेपाल भुटानभन्दा माथि पुगेको हो । 

नेपालले अब समुह ‘बी’ को अन्तिम खेल श्रीलंकासँग खेल्नुपर्ने छ । पहिलो खेलमा माल्दिभ्सलाई पराजित गरेको श्रीलंका आइतबारको खेलमा भने भुटानसँग स्तब्ध बनेको छ ।

नेपालसँग बराबरी खेलेर अंक बाँडेको भुटानले श्रीलंका विरुद्ध ४ गोल गरेको हो । 

दुई खेलमा हार बेहोर्दा माल्दिभ्सका लागि सेमिफाइनलमा पुग्ने सम्भावना समाप्त भएको छ ।

View : 152

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved