कोशी प्रदेश ट्रफी टी–२० क्रिकेट प्रतियोगिता
विराटनगर । कोशी प्रदेश ट्रफी टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालामा जारी बुधबारको खेलमा दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिसले जित निकालेका छन् ।
आर्मी प्रतियोगिताको लिग चरणका सबै खेल जितेर अविजित बनेको छ । बुधबारको दोस्रो खेलमा आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरीलाई ४ विकेटले पराजित गरेको छ ।
यो पराजयसँगै सशस्त्र लिग चरणबाट बाहिरिएको छ भने आर्मी चारैवटा खेल जितेर ६ अङ्कसहित लगातार शीर्षस्थान सुरक्षित गरिरहेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको सशस्त्रले निर्धारित २० ओभरमा १९ दशमलव २ बलमा अल आउट हुँदै १३९ रन बनाएको थियो ।
सशस्त्रका लागि सुमित महर्जनले ३३ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ३३ रन बनाए । कप्तान भुवन कार्कीले २५ र पुरन विकले २३ रनको योगदान दिए । आर्मीका सुमित श्रेष्ठले ३ विकेट लिँदा तृत राज दासले २ विकेट लिएका हुन् ।
१४० रनको जबाफी लक्ष्य पाएको आर्मीले १८ दशमलव ३ बलमै ६ विकेट गुमाएर लक्ष्य पार गरेको हो ।
आर्मीको जितमा प्लेयर अफ द म्याच वसिर अहमद् ३९ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै अविजित ४६ रनको पारी खेले ।
सन्दिप रजालीले २६ रन बनाए । रमेश भट्टले २२ रन जोडे । एपीएफका भुवन कार्कीले २ विकेट लिँदा यज्ञमान कुमालले पनि २ विकेट लिएका थिए ।
समुह ‘बी’ बाट अविजित रहेको लुम्बिनी प्रदेशलाई पुलिसले ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुग्ने आफ्नो आशा जीवितै राखेको छ । त्यसका लागि पुलिसले अब बिहीबार बागमती विरुद्धको अन्तिम खेलमा फराकिलो रन रेटमा जित्नु पर्ने दवाव छ ।
अघिल्ला तीन खेल जितेर ६ अङ्क बटुलेको लुम्बिनी पुलिससँग हारेपनि नेट रनरेटका कारण समुहको शीर्ष स्थानमै रहेको छ ।
पुलिस दुई खेल जितेर ४ अङ्कका साथ तेस्रो स्थानमा उक्लिएको छ । समुह ‘बी’ मा सुदूरपश्चिम पनि ४ खेलमा ३ खेल जित्दै ६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।
बुधबारको खेलमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १५१ रन जोडेको थियो । लुम्बिनीका लागि मृनल गुरुङले ३८ बलमा ६ चौका प्रहार गर्दै ५० रन बनाए ।
कप्तान देव खनालले ३८ बलमा १ छक्का ५ चौका प्रहार गदै २९ रन एवं आकाश त्रिपाठीले ३४ रनको योगदान दिए । पुलिसका कप्तान मञ्जित श्रेष्ठ र अर्का खेलाडी अभिषेक कार्कीले समान २–२ विकेट लिएका थिए ।
१५१ रनको लक्ष्य पछ्याएको पुलिसले १६ दशमलव ५ बलमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो ।
पुलिसको जितमा प्लेयर अफ द म्याच रोहन विकले ५० बलमा ४ छक्का र ७ चौका प्रहार गरी ८० रनमा अविजित रहे । अमित श्रेष्ठले ४९ रन बनाएर आउट भएका थिए ।
लुम्बिनीका देव खनालले पनि १ विकेट लिए ।
विहीबारको पहिलो खेल मधेश प्रदेश र सशस्त्र तथा दोस्रो खेल नेपाल पुलिस र बागमती बिच हुने जनाइएको छ ।
View : 188
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved