Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

संगीत इतिहासकी अमर आवाज आशा भोस्ले अब सम्झनामा मात्रै

उद्‌घोष संवाददाता
३० चैत २०८२, सोमवार

विराटनगर । पूर्वीय सांगीतिक इतिहासमा जब–जब कुनै अमर धुन अनि स्वर गुञ्जिनेछ, त्यहाँ कतै न कतै आशा भोसलेको स्वरले आफनो उपस्थिति जनाइरहेको हुनेछ । 

नेपाली गीत संगीतसँग जीवनको अन्तिम क्षणसम्म बलियो सम्बन्धमा रहेकी अनि सयौं कालजयी नेपाली गीतकी उनै प्रिय गायिका आशा भोसले अब भौतिक रुपमा सदाका लागि अस्ताएकी छन् । 

संगीतज्ञहरूका अनुसार उनी समयसँगै बगेको एक यस्तो ध्वनि–यात्रा थिइन्, जसले प्रेम, पीडा, विद्रोह र जीवनका अनगिन्ती रंगहरूलाई स्वरमा रूपान्तरण गरिदिएकी थिइन् । उनको निधनसँगै एउटा युग मौन भएको छ, तर त्यो मौनताभित्र पनि उनको आवाज निरन्तर गुञ्जिरहनेछ ।

सन् १९३३ मा जन्मिएकी आशा भोसलेको जीवन सुरुवातदेखि नै संघर्षले भरिएको थियो । 

पिताको असामयिक निधनपछि परिवारको जिम्मेवारीले उनलाई सानै उमेरमा परिपक्व बनायो । संगीत उनको रगतमा थियो, तर जीवनले उनलाई त्यसमा सहज बाटो दिएन । 

दिदी लता मंगेशकरको विशाल छायाँभित्र आफनो पहिचान खोज्नु आफैंमा एउटा कठिन यात्रा थियो । तर आशाले छायाँलाई बाधा होइन, उज्यालोमा रूपान्तरण गरिन्–आफनै स्वर, आफनै शैली र आफनै पहिचान निर्माण गरिन् । 

उनको प्रारम्भिक यात्रा सजिलो थिएन । कम महत्वका फिल्मका गीतदेखि लिएर अस्वीकृतिहरूको लामो सूची पार गर्दै उनले आफूलाई प्रमाणित गरिन् । तर यही संघर्षले उनको स्वरलाई अझ गहिरो बनायो, जहाँ हरेक नोटमा जीवनको अनुभव मिसिएको हुन्थ्यो ।

समयसँगै उनले आफनो स्वरको दायरा यति फराकिलो बनाइन् कि शास्त्रीय संगीतको गहिराइदेखि आधुनिक पपको चञ्चलतासम्म, गजलको कोमलतादेखि क्याबरेको तीव्रतालाई सहजै आत्मसात गर्न सक्ने अद्वितीय गायिकाको रूपमा स्थापित भइन् ।

उनको सांगीतिक यात्रामा आरडी बर्मन र पी नय्यर जस्ता संगीतकारसँगको सहकार्यले भारतीय फिल्म संगीतमा नयाँ प्रयोग र नयाँ ध्वनि–संस्कृति जन्मायो । 

‘पिया तू अब तो आजा’, ‘दम मारो दम’, ‘चुरा लिया है तुमने’ जस्ता गीतहरू केवल लोकप्रिय भएनन्, ती त एक पुस्ताको सांगीतिक चेतनाको हिस्सा बने । आशा भोसलेको स्वरमा यस्तो शक्ति थियो, जसले गीतलाई केवल सुन्ने वस्तु होइन, महसुस गर्ने अनुभव बनाइदिन्थ्यो ।

नेपालसँग उनको सम्बन्ध पनि विशेष आत्मीय रह्यो । नेपाली संगीतप्रेमीका लागि उनको स्वर केवल बाहिरी आगन्तुक थिएन, बरु आफ्नै भावनाको विस्तारित रूपजस्तै लाग्थ्यो ।

नारायणगोपाल, रञ्जित गजमेर र तुलसी घिमिरेजस्ता स्रष्टासँगको सहकार्यले नेपाली फिल्म संगीतलाई नयाँ उचाइमा पुर्यायो । 

‘मोहनी लाग्ला है’, ‘साउने झरीमा’, ‘पहाडको माथि माथि’ जस्ता गीतहरूमा उनको स्वरले नेपाली भावनालाई गहिरो स्पर्श दिएको छ । 

हिन्दी मात्र होइन, नेपालीसहित २० भन्दा बढी भाषामा उनले स्वर दिइन् । 

उनको स्वरमा कहिले प्रेमको कोमलता सुनिन्थ्यो, कहिले पीडाको भारीपन, त कहिले विद्रोहको आगो । 

यस्तो जादुयी स्वरकी धनी आशाको ९२ वर्षको उमेरमा निधन भएको हो । 

मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । उनी केही समयदेखि अस्वस्थ थिइन् । 

मुटु र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई शनिबार आइसीयूमा भर्ना गरिएको थियो ।  

भनिन्छ, कलाकार कहिल्यै मर्दैनन्, बरु सधैँ स्वर बनेर बाँच्छन् । आशा भोसले भौतिक रुपमा अब अनुपस्थित रहने छिन् । तर, उनको आवाज नेपाल र भारतसहित विश्वका करोडौं संगीतप्रेमीको हृदयमा सदा गुन्जिरहनेछ ।

View : 183

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved