Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा एमालेसहितकै सरकार विस्तारको तयारी, एमाले भन्छ– ‘ढिलाइ हुँदै गए बजेटमा असर पर्छ’

उद्घोष सम्वाददाता
१४ कार्तिक २०८०, मङ्गलवार

विराटनगर, १३ कात्तिक : एमाले बिनाको सरकार विस्तार गर्न गठबन्धन दलहरुका नेताले दवाव दिइरहेको बेला कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमालेसँगै सरकार विस्तार र मन्त्रालय बाँडफाँटबारे छलफल अघि बढाएका छन् । सरकार विस्तार गर्ने र नियुक्त भइसकेका मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी तोक्ने बिषयमा सोमबार एमाले र मुख्यमन्त्री कार्की सहमति नजिक पुगेको स्रोतको भनाइ छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा एमालेका तर्फबाट सहभागी संसदीय दलका उपनेता एवं विनाविभागीय मन्त्री राम राना, प्रमुख सचेतक रेवतिरमण भण्डारी सहभागी थिए । मुख्यमन्त्री कार्की र उनको मन्त्रिमण्डलका विना विभागीय मन्त्री शम्शेर राई एमालेसँग छलफलमा बसेका थिए ।

दशैं अघि नै सरकार विस्तार गर्न र विस्तार हुन नसके दुई विनाबिभागीय मन्त्रीहरुको मन्त्रालय तोक्न एमालेले मुख्यमन्त्री कार्कीलाई आग्रह गरेको थियो । तर मुख्यमन्त्री कार्की आन्तरिक छलफलमा केन्द्रित हुँदा मन्त्रीहरु विनाविभागीय मै सीमित बनेका थिए । सरकार गठन भएको लामो समयसम्म पनि मन्त्रीहरुको मन्त्रालय टुंग्याउन नसकेको भन्दै मुख्यमन्त्री कार्कीमाथि एमालेले दवाव बढाएको थियो । 

सोमबारको छलफलमा भने मुख्यमन्त्री कार्की सरकार विस्तारमा सकारात्मक बनेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले बताए ।

संविधानको धारा १६८ को उपधारा (५) अनुसारको मुख्यमन्त्री बन्न सफल हुनका लागि एमालेका ३९ जना प्रदेश सभा सदस्यले समर्थन जनाएका थिए । कार्कीलाई कांग्रेस नेता डा.शेखर कोइराला निकट ८ जना सभा सदस्यहरुले सहयोग गरेका थिए । 

गठबन्धन दलका नेताहरुले दवाव दिएपनि कार्कीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन टार्न र आगामी चार बर्ष मुख्यमन्त्री बनिरहन एमाले बाहेकको सरकार गठन गर्ने विकल्प मान्न तयार छैनन् । 

गत असोज २७ मा मुख्यमन्क्री नियुत्त भएर भोलिपल्ट पद तथा गोपनियताको सपथ लिएका मुख्यमन्त्री कार्कीलाई एमाले बिनाको सरकार टिकाउन नसकिने निश्कर्षमा पुगेका हुन् । मुख्यमन्क्री नियुत्त भएको चौथो दिनमै प्रदेश सभाबाट विश्वासका मत लिएका कार्कीलाई केन्द्रीय गठबन्धन दलहरुको निर्देशन अनुसार माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले समेत विश्वासको मत दिएर दवावमा राख्न खोजेका छन् । तर मुख्यमन्त्री कार्की भने आगामी शुक्रबारसम्म एमालेसहितकै सरकार विस्तार गर्ने अन्तिम तयारीमा पुगेको जनाइएको छ ।

‘आज (सोमबार) को छलफलमा मुख्यमन्त्रीले सरकार विस्तारका लागि सकारात्मक सन्देश दिन खोज्नु भएको छ, अब मन्क्रालयको जिम्मेवारीदेखि सवै मन्त्रालयमा मन्त्रीहरु नियुत्ति हुने विश्वास गरिएको छ’ एमाले प्रमुख सचेतक भण्डारीले भने, ‘मन्त्रालय कुन कुन लिनेदेखि बजेटको प्रतिस्थापन विधेयक कहिले ल्याउने बिषयमा समेत सकारात्मक छलफल भयो, मंगलबार फेरि एक चरण बसेर सवै कुरा टुंगो लगाउने सहमति भएको छ ।’

छलफलमा मुख्यमन्त्री कार्कीले सरकार विस्तार अघि नै प्रतिस्थापन विधेयक ल्याउनुपर्ने धारणा राखेका थिए । तर सम्बन्धित मन्त्रालयमा मन्त्रीहरु नै नभई प्रदेश सभामा विधेयकमाथिको छलफल अघि बढ्न नसक्ने कुरा जानकारी गराएपछि मुख्यमन्त्री कार्की पहिले नै सरकार विस्तारका लागि तयार भएको भण्डारीले जानकारी दिए ।

‘उहाँले सरकार विस्तार पहिले प्रतिस्थापन बजेट ल्याउने कुरा पनि गर्नुभयो’ भण्डारीले भने, ‘तर सरकार विस्तार ढिलाई हुँदै गए बजेटमा असर पर्छ र मन्त्री बिना बजेट ल्याउँदा छलफल कसरी गर्ने भनेर हामीले सोधेपछि उहाँले कुरा बुझ्नुभयो ।’

कोशी प्रदेश सभाको सवैभन्दा ठुलो दल नेकपा एमालेले ४० सिट मध्ये उपसभामुख बाहेक ३९ सिटको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन् । २९ सिट रहेको कांग्रेसबाट डा.शेखर निकट ८ सांसदसहित प्रदेश सभाको न्यूनतम् बहुमत ४७ पुर्‍याएर मुख्यमन्त्री बनेका कार्कीलाई सहज रुपमा सरकारको नेतृत्व गर्न पनि सरकार विस्तार गरिहाल्नुपर्ने बाध्यता रहेको छ ।

मुख्यमन्त्री कार्कीलाई भने एकातिर आफूलाई मुख्यमन्त्री बनाउन निर्णायक भूमिका खेल्ने एमाले एवं आफू समर्थित सांसदहरु मध्येबाट मन्क्रीहरु नियुत्त गर्नुपर्ने र अर्कोतिर गठबन्धनको दवाव पनि थेग्नुपर्ने अवस्था बन्दै गएको हो । 

कोशी प्रदेश सरकार अन्तरगत हाल ९ वटा मन्क्रालय  छन् । तर नियुत्त भएका दुई मन्त्रीहरुले समेत मन्त्रालयको जिम्मेवारी पाउन सकेका छैनन् । एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित पाँचवटा मन्त्रालय पाउनु पर्ने माग राख्दै आएको छ । मुख्यमन्त्री कार्कीले मन्त्रीहरुलाई कार्यजिम्मेवारी तोक्न नसक्दा बाँकी ८ मन्त्रालयको कार्यबोझ पनि आफ्नै टाउकोमा बोकिरहेका छन् ।

एमाले स्रोतका अनुसार शुक्रबारसम्म विस्तार हुने मन्त्रिमण्डलमा पठाउनका लागि एमालेको तर्फबाट मन्त्री बन्नेहरुको नाम भने लगभग टुंगिएको जनाइएको छ । मुख्यमन्त्री कार्कीले पनि मंगलबार कांग्रेस संसदीय दलका पूर्व नेता उद्धव थापासमेतसँग छलफल गरेर सरकार विस्तारको आवश्यक तयारी अघि बढाउने जानकारी एमालेलाई गराइसकेको जनाइएको छ ।

View : 204

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved