Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

उद्‌घोष संवाददाता
१० माघ २०८२, शनिवार

काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम ६ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा एक अर्ब ७५ करोड भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो ।

बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकले कर्जा प्रवाह गरिरहेको जानकारी दिए ।

“हाल पुँजीबजार, निर्माण, सेवा, लगानी प्रवर्द्धन एवं विकास निर्माणका क्षेत्रमा सकारात्मक संकेत देखिएका छन्, यसले अर्थतन्त्रमा आशाको सञ्चार गरेको छ”, उनले भने ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवीन सोच र संकल्पका बैंकले वित्तीय सेवा प्रवाह गर्दै आएको बताए ।

कर्जा प्रवाह बढाउनु चुनौती भएको स्वीकार गर्दै उनले भने, “बैंकको पुँजीको आधार सुदृढ बनाउन तीन खर्ब बराबरको ऋणपत्र निष्कासनको तयारीमा रहेको छ । बैंकसँग हाल कर्जा निक्षेपको अनुपातका आधारमा रु एक खर्ब ७१ अर्ब तथा तरलताका आधारमा एक खर्ब ३९ अर्बको लगानीयोग्य रकम देखिएतापनि पुँजी पर्याप्ताका आधारमा थप रु १८ अर्ब मात्र कर्जा प्रवाह गर्ने अवस्था छ ।”

कार्यक्रममा दिइएको जानकारीअनुसार बैंकले निक्षेपतर्फ ४७ लाख ४३ हजार र कर्जातर्फ दुई लाख २६ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।

चुक्ता पुँजी १५ अर्ब ६३ करोड भएको बैंकले चालु आवका छ महिनामा कुल निक्षेप रु पाँच खर्ब ५३ अर्ब संकलन तथा १९ अर्ब बराबरको कर्जा प्रवाह गरेको छ ।

सोही अवसरमा बोल्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको संस्कृति कमजोर रहेकाले लगानीको सही क्षेत्र पहिचान हुन नसकेको बताए । उनले वित्तीय सेवा प्रदायक संस्थाले अध्ययन–अनुसन्धान नगर्दा देशमा तरलता थुप्रिने, बेरोजगारी बढ्ने र उपभोगमुखी अर्थतन्त्र विस्तार भएको बताए ।

देशमा भित्रिने विप्रेषणको ठूलो भाग उत्पादनशील क्षेत्रमा परिचालन नभएकामा चिन्ता व्यक्त गर्दै अर्थमन्त्री खनालले कुन क्षेत्रमा नयाँ लगानीका अवसर सिर्जना गर्न सकिन्छ, अर्थतन्त्रको आकार विस्तार गर्न सकिन्छ, रोजगारी सिर्जना गर्न सकिन्छ र उत्पादन बढाउन सकिन्छ भन्ने विषयमा बैंक तथा वित्तीय संस्थाहरूले गम्भीर अध्ययन–अनुसन्धान गर्ने परम्परा विकास गर्नुपर्नेमा जोड दिए ।

उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नसके तरलताको प्रभावकारी उपयोग हुने, आन्तरिक उत्पादन बढ्ने र आयात घट्ने बताउँदै उनले बैंक तथा वित्तीय संस्थाले उत्पादनमुखी लगानीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

बैंक तथा वित्तीय क्षेत्रमा समष्टिगत रूपमा केही समस्या देखिए पनि समग्र वित्तीय प्रणाली कमजोर नरहेको उनले स्पष्ट पारे । फरक प्रसङ्गमा अर्थमन्त्री खनालले वर्तमान सरकारको प्रमुख दायित्व आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हो भन्दै समाजका हरेक वर्गले त्यस निम्ति सहयोग गर्नुपर्ने बताए ।

View : 107

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved