Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

सागर थापामाथिको कारवाही, कोही छैन जवाफदेही

पार्टी जिल्ला इञ्चार्ज तथा मुख्यमन्त्री कार्कीले जिल्ला कमिटीले स्वामित्व नै नलिने कारवाहीको बारे किन माथापच्ची गरेको भन्दै थापालाई लुरुलुरु पार्टी काममा लाग्न आग्रह गरेको बुझिएको छ ।
उद्घोष सम्वाददाता
१२ असार २०८१, बुधवार

विराटनगर । नेकपा एमाले मोरङले साधारण सदस्यसमेतबाट निलम्बन गरेका भनिएका विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापालगायतमाथिको कारवाही टाइँटाइँ फिस्स भएको छ । थापामाथि गरिएको कारवाहीको कार्यकर्तास्तरबाट तिब्र विरोध भएपछि यस प्रकरणलाई अगाडि नबढाउने सहमति भएको छ ।

स्रोतका अनुसार नेकपा एमाले स्थायी कमिटी सदस्य तथा मोरङ इञ्चार्ज हिक्मतकुमार कार्कीले थापामाथि गरिएको कारवाहीबाट हुने क्षतिको आँकलन गरी उनलाई थुम्थुमाएका छन् ।

थापामाथि गरिएको कारवाहीका विषयमा कोशी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका कार्कीले आफूलाई पूर्वजानकारी नगराई गरिएको, त्यसबारे बेखबर रहेको जस्तो सजिलो कुरा गरेर थापालाई परिस्थितिलाई नभड्काउन आग्रह गरिएको बुझिएको छ । त्यसका लागि उनले थापामाथि गरिएको कारवाही एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीको व्यक्तिगत भएको भनेर आश्वस्त पारेको बुझिएको छ । 

स्रोतका अनुसार मुख्यमन्त्री कार्कीले जिल्ला कमिटीले स्वामित्व नै नलिने कारवाहीको बारे किन माथापच्ची गरेको भन्दै थापालाई लुरुलुरु पार्टी काममा लाग्न आग्रह गरेका छन् । कार्कीले अहिले आफू मुद्दाका कारण सर्वोच्च अदालतलगायतका अड्डा अदालतमा व्यस्त हुनुपरेकाले फुर्सद पाउनसाथ मोरङ पार्टीमा देखिएको समस्यामा ध्यान दिने बताउने गरेको बुझिएको छ ।

मुख्यमन्त्री कार्कीले सागर थापालगायतमाथि कारवाही गरिहाल्नुपर्ने स्थिति नदेखिएको बताएर कहाँबाट यस्तो त्रुटि भयो पत्तासमेत लगाई मोरङ जिल्लाको गाईजात्रा चाँडै अन्त्य गर्ने बताएको बुझिएको छ । एमालेका एक जिम्मेवार कार्यकर्ता चाहिँ थापामाथिको कारवाही प्रकरणमा मुख्यमन्त्री कार्कीले पर्दाभित्र जे जस्तो राजनीति खेले पनि सतहमा भने सर्लक्क पानीमाथि ओभानो बनेको दावी गर्छन् ।

उनी पार्टीका इञ्चार्जलाई एक वचन नसोधी भर्खरै मनोनित अध्यक्षले कारवाही गर्ने हिम्मत नै नपुग्ने ठोकुवा गर्छन् । ‘बाहिर मलाई थाहा छैन भन्नु र भित्रभित्रै गोटी फिट गर्नु नेपाली राजनीतिको विशेषता हो’ उनी भन्छन्, ‘थापामाथिको कारवाही प्रकरणमा धेरैले बाबुराम कार्कीको काँधमाथि पेस्तोल राखेर आफ्नो निसाना साँधेका छन् ।’

एमाले मोरङमा कुनै बेला शक्तिशाली मानिएका पूर्वअध्यक्ष विनोद ढकाललाई कमजोर पार्ने मिसनमा अहिले एकपछि अर्को अभ्यास हुने गरेको एमाले वृत्तमा चर्चा छ । ढकाललाई कमजोर पार्दा हुने फाइदाहरू बताएर मोर्चाबन्दी गरिएको धेरैको बुझाइ छ । कुनै बेला कुनै एउटा समूहको रानो–मौरी मानिएका ढकाललाई अहिले धेरै कर्मी–मौरीले छाडेको अवस्था छ ।

ढकालले नै अध्यक्ष बनाउन भूमिका खेलेको भनिएका एमाले मोरङका निवर्तमान अध्यक्ष ऋषिकेश पोखरेल पनि अहिले ढकालको साथमा नभएको बुझिएको छ । स्रोतका अनुसार पोखरेललाई पनि कति ढकालको कार्यकर्ता भएर बस्नु आफै नेता हुनुपर्छ मात्र भनिएको छैन, दायाँबायाँ गरे खाइपाइ आएको पद धरापमा पर्ने भनेर तर्साइएको पनि छ । पोखरेल अहिले प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति हुन् । राज्यमन्त्री सरहको यो पद आकर्षक मानिन्छ । 

पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्धमा तिक्तता आएपछि अहिले ढकाललाई खराब देखाउन धेरैलाई सजिलो भएको छ । राजनीति कतिसम्म निर्मम हुन्छ भन्ने भाष्य स्थापित गर्न अहिले एमाले मोरङमा ढकाललाई दिनुसम्मको हण्डर दिन थालिएको छ ।

उनलाई पार्टीको प्रदेश कमिटीबाट हराएर जिल्ला, नगर र वडासम्म शून्य पार्ने रणनीतिमा पार्टीको एउटा पंक्ति लागेको ढकालनिकट एक कार्यकर्ता बताउँछन् । सोही उद्देश्य पूरा गर्न पार्टीको खासै प्रतिष्ठाको विषय नभएको मानगढ खानेपानी आयोजनाको उपभोक्ता समितिको निर्वाचनलाई निहुँ बनाएको उनी बताउँछन् ।

विराटनगर महानगरपालिकाको उत्तरी क्षेत्रका केही वडा समेटिएको मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनेर गरिएको कारवाही ढकाललाई तर्साउन गरिएको एउटा नमूना प्रयास भएको उनी दावी गर्छन् ।

ढकालनिकट सागर थापालगायत महानगर कमिटीका केही पदाधिकारी र सदस्यलाई मोरङ पार्टी अध्यक्ष बाबुराम कार्कीले गत जेठ ३१ गते निलम्बन र स्पष्टीकरणको पत्र थमाएका थिए । तर उक्त पत्रको कुनै वास्ता नगरी थापा महानगर कमिटीको अध्यक्षकै हैसियतमा पार्टी काममा लागेका छन् । ‘म निरन्तर पार्टी काममा छु, अहिले पनि पार्टी सदस्यको नवीकरण अभियानमा छु’ थापाले भने ।

View : 207

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved