Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

विशेष महाधिवेशनपछिको नेतृत्व

कांग्रेसमा डिलाको फड्को

उद्‌घोष संवाददाता
२ माघ २०८२, शुक्रवार

विराटनगर । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट विराटनगरकी डा. डिला संग्रौला पन्त सहमहामन्त्रीमा निर्वाचित भएकी छन् । विशेष महाधिवेशनबाट कांग्रेसमा आठजना सहमहामन्त्री निर्वाचित भएका छन्, जसमध्ये डिला संग्रौला पन्त पनि एक हुन् ।

आमनिर्वाचनमा जानुअघि महाधिवेशन गर्नुपर्ने अडान लिंदै आएका सभापति शेरबहादुर देउवा पक्षका ३० जना केन्द्रीय सदस्यमध्ये अधिकांश विशेष महाधिवेशनमा सहभागी भएका थिए । तीमध्ये कतिपय विभिन्न पदमा निर्वाचित भएका छन् । डिला संग्रौला पन्त पनि सोही समूहबाट सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।

डिलाको राजनीतिक पृष्ठभूमि नेपाल विद्यार्थी संघ र नेपाल महिला संघसँग जोडिएको छ । उनी २०२० सालमा दाङको घोराहीस्थित टेरौटेमा जन्मिएकी हुन् । विवाहपछि विराटनगरमा स्थायी बसोबास गर्दै आएकी छन् ।

कक्षा ९ मा अध्ययनरत रहँदा २०३६ सालमा उनी दाङमा आयोजित बहुदलको आमसभामा सहभागी भएकी थिइन् । त्यस बेला बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्यलगायत कांग्रेसका शीर्ष नेताहरूको भाषण सुन्न उनी सभास्थल पुगेकी थिइन् । बहुदलको पक्षमा आयोजित सो सभामा नेताहरूलाई स्वागत गर्ने युवामध्ये डिला पनि थिइन् ।

क्याम्पस अध्ययनका क्रममा उनी नेपाल विद्यार्थी संघमा सक्रिय भइन् । विद्यार्थी राजनीतिबाटै उनले नेपाली कांग्रेसको सिद्धान्त, विचार र संगठनात्मक संरचनालाई नजिकबाट बुझ्ने अवसर पाइन् ।

२०६७ सालमा सम्पन्न नेपाली कांग्रेसको १२औं महाधिवेशनमा उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी थिइन् । तर, सो महाधिवेशनमा उनी निर्वाचित हुन सकिनन् ।

२०६८ साल माघ २१ गते उनलाई नेपाल महिला संघको केन्द्रीय तदर्थ समितिको अध्यक्षमा मनोनित गरिएको थियो । पार्टीले उनलाई नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो ।

त्यसपछि २०७२ सालमा सम्पन्न नेपाली कांग्रेसको १३औं महाधिवेशनमा डिला संग्रौला पन्त लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भइन् । महिला संघको नेतृत्वमा रहँदा उनले संगठनलाई चुस्त र दुरुस्त बनाउने काम गरिन् । 

साधारण तथा क्रियाशील सदस्यता वितरणलाई गाउँ, नगर, क्षेत्र र जिल्लासम्म विस्तार गर्दै २०७३ सालमा नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न गरिन् । महिला हक, अधिकार र सामाजिक चेतनाका क्षेत्रमा पनि उनी निरन्तर सक्रिय रहँदै आएकी छन् ।

२०७४ सालमा सम्पन्न आमनिर्वाचनबाट उनी प्रतिनिधिसभाको समानुपातिक सांसद बनिन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएर सरकार बनेको अवस्थामा कांग्रेस प्रतिपक्षमा थियो । 

सो समयमा डिला संग्रौला पन्त छायाँ सरकारमा रहेर संसद र सार्वजनिक मञ्चमार्फत सरकारको काम, कारबाहीप्रति ध्यानाकर्षण गराउने भूमिकामा देखिइन् ।

२०७८ सालमा सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट उनी पुनः केन्द्रीय सदस्यमा निर्वाचित भइन् ।

उनले ‘नेपालका सपना अधुरै’ नामक पुस्तक पनि प्रकाशित गरेकी छन् । यसरी लामो समयदेखि संगठन, महिला आन्दोलन र संसदीय अभ्यासमा सक्रिय रहँदै आएकी डिला संग्रौला पन्त अहिले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सहमहामन्त्रीको जिम्मेवारीमा पुगेकी छन् । 

विराटनगरलाई कर्मथलो बनाएकी उनी कांग्रेसको केन्द्रीय नेतृत्व तहमा पुगेसँगै पार्टी संगठनमा थप सक्रिय भूमिका निर्वाह गर्ने नेतृका रूपमा देखिएकी छन् ।

View : 103

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved