विराटनगर । समस्याग्रस्त अवस्थामा रहेको विराटनगर–७ स्थित धरणीधर बहुमुखी सहकारी संस्थाले बचतकर्तालाई तीन महिनाभित्र बचत रकम फिर्ता दिने सहमति जनाएको छ ।
प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाका रजिष्ट्रार हरिबहादुर खत्रीसमेतको उपस्थितिमा सोमबार भएको छलफलमा सहकारीका अध्यक्ष रामबहादुर घिमिरेले बचत रकम पिर्ता गर्ने सहमति जनाएका हुन् ।
उक्त छलफलमा सहकारीको सञ्चालक समितिको तर्फबाट भने अध्यक्ष घिमिरेमात्रै उपस्थित भएका थिए । छलफलपछि भएको सहमतिमा यसअघि निवेदन दिएका बचतकर्ताहरूको रकम आज (सोमबार) का मितिबाट ३ (तीन) महिनाभित्र बुझाउने निर्णय भएको उल्लेख छ ।
३ महिना भित्र बचत रकम फिर्ता नभए बचतकर्ताहरूले कारवाही प्रक्रिया अगाडी बढाउने समेत निर्णय गरिएको जनाइएको छ ।
धरणीधर सहकारीका बचतकर्ताहरू राजकुमार कार्की, राजेन्द्र तिम्सिना, मनीषराज विश्वास, चन्दा भट्टराई, सतिश गौतम, विरेन्द्र ठाकुर र पिन्टु ठाकुर लगायतले बचत फिर्ता माग्दै प्रदेश सहकारी रजिष्ट्रार कार्यालयमा उजुरी दर्ता गरेका थिए ।
सहकारीले विराटनगरसहित नेताचोक र बेलबारीमा समेत कार्यालय स्थापना गरेर आर्थिक कारोबार गरेको थियो । तर विगत दुई वर्षदेखि उक्त सहकारी समस्याग्रस्त बनेपछि बचतकर्ताहरूले बचत फिर्ता माग्दै आएका छन् । धरणीधर सहकारीमा करिब साढे ६ हजार बचतकर्ताको बचत रकम रहेको जनाइएको छ ।
सोमबार सहकारीका अध्यक्ष घिमिरे, प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका प्रतिनिधिहरू र बचतकर्ताहरूसहितको छलफलबाट पहिलो चरणमा निवेदक बचतकर्ताको रकम फिर्ता गर्ने सहमति भएको हो ।
छलफलमा अध्यक्ष घिमिरेले सहकारीबाट कर्जा लिएर त्यसको साँवाब्याज नतिर्ने ऋणीहरूको नाम समेत सहकारी रजिष्ट्रार कार्यालयका प्रतिनिधिहरूलाई सार्वजनिक गरेका थिए । उक्त सहकारीबाट बिना धितो ६५ लाख रुपैयाँसम्म ऋण लगानी भएको खुल्न आएको जनाइएको छ ।
छलफलमा सञ्चालक समितिका अध्यक्ष घिमिरे उपस्थित भएपनि व्यवस्थापक लोचन राईलगायतका पदाधिकारीहरू फरार रहेका छन् ।
अन्य सञ्चालकहरू सूर्यबहादुर कार्की, निरा सुवेदी, सुभद्रा भट्टराई र विक्रम कार्की भने सोमबार बोलाइएको छलफलमा उपस्थित भएनन् ।
धरणीधरले बचतकर्ताहरूको करिब ४ करोड ५० लाख रुपैयाँ बढी रकम फिर्ता दिनुपर्ने जनाइएको छ । सहकारीका अध्यक्ष घिमिरेले पहिलो चरणमा बचतकर्ताको ब्याजबाहेकको बचत रकम फिर्ता दिने प्रतिवद्धता जनाएको छलफलमा सहभागी एक बचतकर्ताले बताए ।
View : 99
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved