Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

पहिरो खसेर ताप्लेजुङको मैवाखोलामा १२ घर परिवार विस्थापित

उद्‌घोष संवाददाता
२ असोज २०८२, बिहिवार

विराटनगर । अविरल बर्षापछि पहिरो खसेका कारण ताप्लेजुङको मैवाखोला गाउँपालिकाको विभिन्न ठाउँमा १२ घर परिवार विस्थापित भएका छन् । पहिरो खसेर केहीको घर भत्काएको र केही चर्किएका छन् ।

वडा नम्बर २ को ढुंगेसाँघु, वडा नम्बर ४ को साँघु, वडा नम्बर ५ र ६ को सीमावर्ती फाकुम्बामा पहिरोले क्षति गरेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए ।

पहिरोका कारण ढुंगेसाँघुमा दुई घरपरिवार विस्थापित भएको जनाइएको छ । वडा नं. ४ साँघुमा पाँच घर पहिरोको उच्च जोखिममा परेका छन् । 

वडा नं. ५ मा एक घर विस्थापित नै भएका छन् । अन्य सात घर परिवार जोखिममा परेको जनाइएको छ ।

वडा नं. ६ मा भने पहिरोका कारण आठ घरपरिवार विस्थापित भएका अध्यक्ष वनेमले बताए । 

केही दिनअघि वडा नम्बर ६ स्थित मुढेडाँडाबाट पहिरो खसेर घर बगाउँदा सोही ठाउँका ६० वर्षीय लाक्पाखाङ्डु शेर्पा र ५५ वर्षीया मिङ्मालाकी शेर्पाको ज्यान जानुका साथै तीनजना घाइते भएका थिए ।

पहिरोले वडा नम्बर ४ एकबासे सडक पूर्ण रूपमा क्षति पुगेको जनाइएको छ । वडा नम्बर ४ र ५ जोड्ने याङ्देली झोलुङ्गे पुल जाने बाटोको भाग पहिरोले बगाएको छ । 

झण्डै एक दर्जन स्थानीय सडक अवरुद्ध बनेको जनाइएको छ । दसैं, तिहार लगायतका मुख्य चाडपर्व नजिकिंदै गर्दा बाढी पहिरोले ताप्लेजुङमा विपत्ति निम्तिएको पालिका अध्यक्ष वनेमले बताए । उनले अहिले पनि निरन्तर बर्षात भइरहेको जानकारी दिए ।

View : 245

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved