विराटनगर । रोटरी अन्तर्राष्ट्रिय नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीले राज्यको पहुँच नपुगेका समुदाय र विपन्न वर्गलाई क्षमताअनुसार सहयोग पु¥याउनु नै रोटरीको मुख्य ध्येय रहेको बताएका छन् ।
रोटरी क्लब विराटनगरले विराटनगरमा आयोजना गरेको क्लबसभालाई संवोधन गर्दै गभर्नर कार्कीले बाढीपहिरो प्रभावित क्षेत्रमा पुनस्र्थापना, वातावरण संरक्षण र स्वच्छ ऊर्जा प्रवद्र्धनका लागि रोटरीले बृहत् मानवीय सेवा अभियान अघि बढाएको जानकारी दिए ।
उनका अनुसार चालू रोटरी वर्षभित्र बाढीपहिरो प्रभावित रसुवामा स्थानीय सरकार र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) सँगको सहकार्यमा शौचालयसहितका २०० वटा अस्थायी घर निर्माण गर्न लागिएको छ ।
प्रतिघर करिब ५ लाख रुपैयाँ लागत अनुमान गरिएको सो परियोजनामा रोटरीको तर्फबाट ३ लाख रुपैयाँ नगद तथा करिब ७० हजार रुपैयाँ बराबरको जस्तापाता उपलब्ध गराइनेछ ।
यसअघि नुवाकोट, धादिङ र रसुवाका बाढीपहिरो पीडितलाई २ करोड रुपैयाँभन्दा बढीको राहत वितरण गरिसकिएको उनले बताए ।
पर्यावरण संरक्षणतर्फ रोटरीले गत १ जुलाईदेखि नै १ लाख बोटबिरुवा रोप्ने अभियान थालेको उल्लेख गर्दै उनले रोपिएका बिरुवालाई कम्तीमा तीन वर्षसम्म हुर्काउने लक्ष्यसहित हालसम्म ८२ हजारभन्दा बढी बिरुवा रोपिसकिएको जानकारी दिए ।
त्यसैगरी, एलपी ग्यासको निर्भरता घटाउँदै वातावरणमैत्री ऊर्जा प्रवद्र्धन गर्न ग्रामीण क्षेत्रका घरधुरीमा कम्तीमा १० हजार वटा विद्युतीय चुलो वितरण गर्ने योजना अघि सारिएको उनले बताए ।
नेपालका १६४ र भुटानका २ गरी कुल १६६ वटा रोटरी क्लब तथा करिब ५ हजार ८ सय सदस्यमार्फत सक्रिय यस डिस्ट्रिक्ट ३२९२ ले चालू वर्षभित्र ३० हजार अमेरिकी डलरभन्दा बढी लागतका ३५ वटा अन्तर्राष्ट्रिय सहयोगका (ग्लोबल ग्रान्ट) परियोजना सम्पन्न गर्ने र ६ सयदेखि ७ सय जना नयाँ सदस्य थप्ने लक्ष्य राखेको छ ।
युवाहरूका लागि रोट्रयाक्ट र किशोर–किशोरीहरूका लागि इन्टरयाक्ट क्लबहरूमार्फतसमेत सामाजिक सेवाका कार्य भइरहेका छन् ।
कार्यक्रममा रोटरी क्लब विराटनगरका अध्यक्ष शिवप्रसाद अधिकारीले क्लबले विगत पाँच दशकदेखि सामाजिक सेवा, भाइचारा र सामुदायिक उत्तरदायित्वमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको बताए ।
क्लब सभाका क्रममा अंकिता राठी, विकास बेगवानी, सुरेन्द्र गोल्छा, नरेश राठी, दिनेश गर्तौला र सुनिता धाडेवाले क्लबका वर्तमान गतिविधि, सामाजिक कार्य र हासिल गरेका उपलब्धिहरूका बारेमा प्रकाश पारेका थिए ।
सो अवसरमा भावी योजनामाथि छलफल गर्दै गभर्नर कार्कीबाट आवश्यक मार्गदर्शनसमेत लिइएको थियो ।

रोटरी अन्तर्राष्ट्रियका प्रस्तावित निर्देशक वासुदेव गोल्यान, डिस्टिक सचिव गौतम श्रेष्ठ, असिस्टेन्ट गभर्नर शोभना कोइराला, भरत श्रेष्ठलगायतको उपस्थिति रहेको समारोहमा क्लबका सचिव नन्दीप अग्रवालले स्वागत मन्तव्यसहित कार्यक्रम सञ्चालन गरेका थिए भने अध्यक्ष अधिकारीको आग्रहमा गभर्नर कार्कीले क्लबको सभाको अध्यक्षता एवं सञ्चालन गरेका थिए ।
View : 41
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved