Biratnagar, Morang, Nepal
७ मंसिर २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशमा दलहरू : पुराना घर झगडामा, नयाँ गाउँ दौडाहामा

उद्‌घोष संवाददाता
७ मंसिर २०८३, सोमवार

विराटनगर । निर्वाचन आयोगले स्थानीय र प्रदेश चुनावबारे छलफल थालेपछि त्यसको तरङ्ग देशव्यापी रूपमा सञ्चारित भएको छ । 

आयोगले निर्वाचनबारे यसरी छलफल थाल्दै गर्दा पुराना दलहरू आन्तरिक विवादको भुमरीमा छन् । तर, नयाँ राजनीतिक दलहरूले भने यसअघिदेखि नै कोशीमा चुनाव लक्षित अभियान तीव्र पारिसकेका छन् ।

नयाँ दलहरूको कतै सदस्यता अभियान चलिरहेको छ, कतै टोल र वडा तहका संगठन बनिरहेका छन् । कतै स्थानीय तहको उम्मेदवार बन्न चाहनेहरूका लागि आवेदन खुलाइएको छ । 

कोशीमा सबैभन्दा सक्रिय रूपमा लागेको दल बनेको छ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी । श्रम संस्कृतिले  झापाको केचनाकवलबाट सोलुखुम्बुको सगरमाथासम्म पुग्ने अभियान चलाइरहेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशीका १३७ वटै स्थानीय तहमा संगठनात्मक अधिवेशन सकेर स्थानीय निर्वाचनका लागि उम्मेदवार खोज्न थालेको छ । 

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले पनि कोशीबाट संगठन विस्तार र सदस्यता अभियान सुरू गर्ने घोषणा गरेको छ ।

यसरी नयाँ दलहरू चुनावी तयारीलाई संगठन निर्माणसँग जोडेर गाउँतिर केन्द्रित भइरहेका बेला पुराना दलहरू भने आफ्नै पार्टीभित्रको शक्ति संघर्ष र नेतृत्वको विवादमा व्यस्त छन् । 

नेपाली कांग्रेसमा गगन थापा र शेरबहादुर देउवा पक्षबीच पार्टीको आधिकारिकता र नेतृत्वको विवादले समानान्तर संगठन निर्माणको रूप लिएको छ । 

दुवै पक्षले जिल्ला र तल्लो तहमा आफ्ना समिति बनाइरहेका छन् । नेकपा एमालेमा कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनको विषय पटक–पटक उठिरहेको छ । नेकपा भने संगठन विस्तार र जनजागरण अभियानसँगै आगामी निर्वाचनमा एमालेसँग सहकार्य गर्ने बाटो खोजिरहेको छ ।

कोशीमा नयाँ दलहरूको संगठन विस्तार अभियानमध्ये श्रम संस्कृति पार्टीको गतिविधि अहिले गाउँस्तरसम्म देखिएको छ । 

पार्टीले गत असोज ४ गते झापाको केचनाकवलबाट ‘केचनाकवलदेखि सगरमाथासम्म हातेमालो अभियान’ सुरू गरेको थियो । 

तराईबाट पहाड हुँदै हिमाली जिल्लासम्म संगठन विस्तार गर्ने उद्देश्यसहित सुरू गरिएको अभियानमा पार्टीका अध्यक्ष हर्क साम्पाङसहित केन्द्रीय र प्रदेशस्तरका नेताहरू परिचालित छन् ।

अभियानअन्तर्गत एक सय भन्दा धेरै साना–ठूला कार्यक्रम सम्पन्न भएको पार्टीको कोशी प्रदेश नेतृत्वको दाबी छ । खोटाङ, भोजपुर, पाँचथर, इलाम र धनकुटामा टोलस्तरसम्म संगठन पुगेको प्रदेश अध्यक्ष प्रताप राई बताउँछन् । बाँकी जिल्लामा पनि संगठन विस्तार भइरहेको उनको भनाइ छ । 

‘हामी भाषण गरेर र अरूलाई गाली गरेर मात्रै राजनीति गर्ने पक्षमा छैनौँ । स्वयंसेवी श्रममार्फत जनताको दुःखमा साथ दिने र काम गरेर देखाउने हाम्रो मान्यता हो,’ राईले भने । 

उनका अनुसार श्रम संस्कृति पार्टीले संगठन विस्तारलाई श्रमदानसँग पनि जोडेको छ । हरेक शनिबार स्वयंसेवक परिचालन गर्ने र स्थानीय आवश्यकता पहिचान गरेर काम गर्ने उसको अभ्यास छ । 

अध्यक्ष साम्पाङले पनि हातेमालो अभियान सुरू भएपछि भोजपुर, पाँचथर, धनकुटा र खोटाङका कार्यक्रमहरूमा सहभागिता जनाएका छन् ।

यो अभियानको अर्को पक्ष चुनावी आधार निर्माण हो । पार्टीका प्रदेश अध्यक्ष राईका अनुसार आगामी निर्वाचनमा कोशीका १३७ वटै स्थानीय तहमा उम्मेदवारी दिने लक्ष्यसहित संगठन विस्तार भइरहेको छ । 

यसमा पूर्वमन्त्री सुदन किरातीको प्रवेशले पनि प्रदेशस्तरीय राजनीतिक अर्थ राखेको छ । भोजपुर र खोटाङबाट निर्वाचित ध्रुवराज राई र आरेन राई पार्टीका संसदीय अनुहार हुन् । 

किरातीले पनि प्रदेशका विभिन्न जिल्लामा संगठन निर्माण र स्थानीय समस्या पहिचानका कार्यक्रमलाई प्राथमिकता दिएका छन् ।

श्रम संस्कृति गाउँगाउँमा पुगिरहेका बेला संघीय सरकारको नेतृत्व गरिरहेको रास्वपा पनि स्थानीय निर्वाचनको तयारीमा जुटेको छ । 

रास्वपाले गत जेठ २७ गते कोशी प्रदेशको पहिलो अधिवेशनबाट चन्द्र राईलाई प्रदेश सभापति चयन गरेको थियो । त्यसपछि प्रदेशका १४ जिल्ला र १३७ स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको उसको दाबी छ । 
केही वडामा भने अधिवेशन बाँकी रहेको प्रदेश सभापति राई बताउँछन् ।

रास्वपाले अहिले स्थानीय तहको नेतृत्वका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । 

त्यसका लागि ‘क्यान्डिडेट क्लब’ खोलेर इच्छुक व्यक्तिबाट आवेदन मागिएको छ । 

राईका अनुसार कोशीका १३७ वटै स्थानीय तहमा प्रमुख र अध्यक्ष पदका लागि उम्मेदवारी दिन इच्छुक व्यक्तिहरूबाट आवेदन आएको छ । 

वडाध्यक्ष पदका लागि भने आवेदन तुलनात्मक रूपमा कम छन् । पहाडी क्षेत्रका केही पालिकामा वडास्तरका उम्मेदवारसमेत नपाइएको उनले स्वीकार गरेका छन् ।

‘हामीले उम्मेदवार छनोट गर्दा पुराना दलहरूको जस्तो टिकट वितरणको अभ्यासभन्दा फरक विधि र प्रक्रिया अपनाउन खोजेका छौँ,’ राईको भनाइ छ, ‘स्थानीय तहको उम्मेदवार बन्न चाहनेहरूका लागि क्यान्डिडेट क्लब खुला गरेका छौँ ।’

रास्वपाले यसपटक पहाडी जिल्लामा संगठन विस्तारलाई पनि प्राथमिकता दिएको छ । 

गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा तराईका जिल्लामा उल्लेख्य सफलता पाए पनि पहाडी क्षेत्रमा अपेक्षाकृत कम मत आएको उसको स्वीकारोक्ति छ । 

प्रदेश सभापति राई भने अहिले पहाडी क्षेत्रमा पनि पार्टीको संगठन र जनमत बढेको दाबी गर्छन् ।

रास्वपाले कोशीमा पहिचान पक्षधर राजनीतिक समूहसँग पनि सहकार्य र पार्टी एकताका विषयमा संवाद गरिरहेको जनाएको छ । प्रदेशको नामकरणसम्बन्धी विवादमा जनताको मतलाई स्वीकार गर्ने उसको सार्वजनिक धारणा छ ।

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले पनि आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गर्दै कोशीबाट संगठन विस्तार अभियान सुरू गर्ने घोषणा गरेको छ । 

गत भदौ २७ गते अध्यक्ष घिसिङले कोशी प्रदेशमा वृहत् भेला आयोजना गरी गाउँगाउँमा संगठन र सदस्यता विस्तार अभियान अघि बढाउने बताएका थिए । 

पार्टीलाई कुनै अर्को दलमा विलय नगरी आफ्नै एजेन्डासहित वैकल्पिक राजनीतिक शक्तिका रूपमा अघि बढाउने उनको सार्वजनिक अभिव्यक्ति छ । 

पछिल्लो समय पार्टीले कोशीमा संगठनात्मक जिम्मेवारीसमेत बाँडफाँट गरेको छ । प्रदेश संयोजकमा केदार धिमाल र प्रदेश इञ्चार्जमा डम्बर लावतीलाई जिम्मेवारी दिइएको छ ।

View : 4

७ मंसिर २०८३, सोमवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved