Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

थामे बाढी अपडेट:

गाउँका धेरै मान्छे घरबाहिर भएकैले जोगियो मानवीय क्षति

हिमाली क्षेत्रबाट बाढी उर्लिएर आएपनि थामेमा रहेका होटलका कुरुवाहरु भाग्न सफल भएका थिए । केही भने बाढीमै फसेका थिए । बाढीपछि थामे क्षेत्रबाट प्रहरीले अहिलेसम्म सात जनालाई उद्दार गरिसकेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उद्घोष सम्वाददाता
३२ साउन २०८१, शुक्रवार

विराटनगर । धेरै स्थानीयबासी गाउँ बाहिर भएको बेला बाढी पसेका कारण सोलुखुम्बुको थामेमा ठुलो मानवीय क्षति टरेको छ । शुक्रबार अपरान्ह सो क्षेत्रमा अचानक आएको बाढीका कारण थामे बजारलाई लेदोसहितको बाढीले बगाएर बगरमा परिणत गरिदिएको छ ।

बर्षायाममा पर्यटक नआउने भएका कारण थामे क्षेत्रका होटल संचालक र स्थानीयहरु गाउँ बाहिरै रहेको यो घटना भएका कारण अहिलेसम्म मानवीय क्षति हुन नपाएको जनाइएको छ । 

शुक्रबार सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका–५ को थामे क्षेत्रमा भीषण बाढी पसेको हो । बाढीले अहिलेसम्म दुईवटा होटल, एउटा होस्टल र विद्यालयको छात्रावाससहित ६ वटा घर संरचना बगाएको छ ।

हिमाली क्षेत्रबाट बाढी उर्लिएर आएपनि थामेमा रहेका होटलका कुरुवाहरु भाग्न सफल भएका थिए । केही भने बाढीमै फसेका थिए । बाढीपछि थामे क्षेत्रबाट प्रहरीले अहिलेसम्म सात जनालाई उद्दार गरिसकेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

बर्खाको समयमा त्यो क्षेत्रका होटल र घरहरुमा धेरै मान्छे नबस्ने भएकै कारण ठूलो क्षतिबाट जोगिएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।

‘नाम्चेबाट उत्तरपश्चिम क्षेत्रमा थामे गाउँ पर्छ’, कोशी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीले भने ‘पर्यटकीय क्षेत्रमा पर्ने गाउँमा यो सिजनमा धेरै मानिस बस्दैनन्, हरेकजसो होटल र घरका धेरै मानिस काठमाडौंमै हुन्छन्, त्यहाँ अहिले घर र होटल रुघ्न बसेका थोरै मानिस मात्रै थिए होलान् । मैले पनि त्यै जानकारी पाएको छु, भाग्न सक्नेहरु भएकाले उनीहरु जोगिए ।’ 

सांसद राजभण्डारीका अनुसार बाढीका कारण गाउँलाई अन्यत्रसँग जोड्ने सबैजसो बाटोहरु बगाएको छ । केही पुलहरु पनि भत्केको जानकारी दिए । 

‘नाम्चेबाट उकालो लाग्दै यही गाउँ हुँदै तिब्बततिरको नाङपाला पास जाने बाटोमा यो गाउँ छ’ उनले भने ‘हिमालको कुनै हिमताल फुटेर थामेखोलामा मिसिएपछि बाढी गाउँ पसेको हुनसक्छ ।’

उनका अनुसार थामे क्षेत्रमा लेदोसहित आएको भीषण बाढी प्रवेश गरेपछि त्यहाँको अवस्था भयावह बनेको छ । 

‘अहिले गाउँमा भयावह अवस्था छ, कोही कसैले फोन उठाउने अवस्था छैन’, राजभण्डारीले भने ‘रेस्क्युको काम धमाधम चलिरहेको छ ।’ 

दुर्गम ठाउँमा भएको र बाटोघाटोहरु पनि क्षतिग्रस्त भइसकेका कारण थामे गाउँमा प्रहरी पुग्न सकस भइरहेको जनाइएको छ । अहिले बाढी प्रभावित क्षेत्रमा गएको प्रहरी बाटोमै रहेको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले बताए । 

‘थामे गाउँभन्दा १० मिनेट पैदल दुरीमा नेपाली सेना बस्ने भएकाले सेना नजिकै रहेको सूचना आएको छ’ उनले भने ।

View : 271

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved