Biratnagar, Morang, Nepal
१५ असार २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले पार्टीमा कारवाही प्रकरण

अचानोमा थापा, ढकाल हुन् निसाना

कुनै बेला एउटै बेड शेयर गर्नेसम्मको सम्बन्ध भएका ढकाल र कार्कीबीच अहिले पानी बाराबारको अवस्था छ । मुख्यमन्त्री कार्कीले ढकाललाई अहंकारी भन्ने र ढकालले कार्कीलाई 'ओलीको निम्छरो चाटुककार' भन्नेसम्मका 'हेट स्पिच' दिने गरेको एक एमाले कार्यकर्ता बताउँछन् ।
उद्घोष सम्वाददाता
५ असार २०८१, बुधवार

विराटनगर, ५ असार । 
नेकपा एमाले कोशी प्रदेश कमिटीको गत चैत ६ गते बसेको बैठकले प्रदेशका १० वटा जिल्ला अधिवेशन चैत र बैशाखसम्म सम्पन्न गर्ने मिति तोक्यो । मोरङ र सुनसरीको भने केही प्राबिधिक पक्ष मिलाउनुपर्ने भन्दै तत्कालै कुनै मिति तोकिएन । त्यो मिलाउनुपर्ने प्राबिधिक पक्ष भने खासै केही थिएन । ती दुई जिल्लामा आफू अनुकूलको नेतृत्व नआउने सम्भावना देखिएपछि बाहिरी कारण 'प्राबिधिक पक्ष' देखाएर सघन घनत्व भएको दुवै जिल्लामा आफ्नो 'पपेट उम्मेदवार' जिताउनु थियो । 

नेकपा एमालेका एक जना कार्यकर्ता अहिले एमाले कोशी प्रदेश केही गणेश प्रवृत्तिको चंगुलमा परेको हाकाहाकी बताउँछन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई खुशी पार्ने नाममा आँखैअगाडि कार्यकर्ताहरूको कत्लेआम गरिएको टुलुटुलु हेर्नुपर्ने अवस्था बनेको उनको गुनासो छ । 'अब हेर्दाहेर्दै गुण्डा नाइकेहरूलाई नेता मान्नुपर्ने, उनीहरूको जीहजुरी गर्नुपर्ने भयो', उनी भन्छन्, 'कसले कसलाई सिध्याउने खेलमा सोझा साझा इमान्दार कार्यकर्तालाई यहाँ सजिलै अचानो बनाइदो रहेछ ।' उनी केही दिनयता मोरङ जिल्लाको विराटनगरमा एउटा खानेपानी आयोजनाको उपभोक्ता समितिमा भएको निर्वाचनलाई निहुँ बनाएर गरिएको कारवाहीलाई साँढेको जुधाइमा बाच्छाको हुर्मत लिइएको बताउँछन्  ।

गत प्रदेश अधिवेशनमा अध्यक्षमा पराजित भएका विनोद ढकाललाई झन् कमजोर बनाउन गरिएको रिहर्सलमा अहिले तल-तलका कार्यकर्ता पिल्सिनुपरेको उनको बुझाइ छ । 'अहिले पनि 'म विनोद ढकालको पक्षमा छैन' भनेर सागर थापाले घोषणा गरे भने उनीमाथिको गरिएको भनिएको कारवाही सेकेण्डमा फिर्ता हुन्छ' एमाले महानगर कमिटीका एक जना सदस्य भन्छन्, 'यतिखेर गत अधिवेशनमा विनोद ढकाललाई सहयोग गर्नेलाई खोजीखोजी कारवाहीको सिलसिला सुरु गरिएको छ ।'

ढकाल गत असोज १२-१३ मा विराटनगरमा सम्पन्न पार्टीको कोशी प्रदेश कमिटीको अधिवेशनमा अध्यक्षका उम्मेदवार थिए । अधिवेशनमा घनश्याम खतिवडालाई सर्वसम्मत अध्यक्ष बनाउने पार्टी नेतृत्वको इच्छाविपरीत ढकालले उम्मेदवारी दिएका थिए । कार्यकर्ता व्यवस्थापन र स्रोत परिचालनमा पार्टीका समकालीन नेताभन्दा खरो देखिएका ढकाल प्रदेशको नेतृत्वमा आउँदा आफ्नो भूमिका कमजोर हुने देखेर कुनै बेलाका ढकालकै जिग्री दोस्तहरूले विकल्पमा खतिवडालाई अघि सारेका थिए । यस कामको मूल नेतृत्व भने त्यतिखेर र यतिखेरका पनि मुख्यमन्त्री रहेका हिक्मतकुमार कार्कीले गरेको बताउने एमाले वृत्तमा अहिले छ्यापछ्याप्ती भेटिन्छन् । ढकालको शक्ति कमजोर पार्नकै लागि कार्की पार्टीको मोरङ जिल्लामा इञ्चार्जमा खटिएका छन् । कुनै बेला एउटै बेड शेयर गर्नेसम्मको सम्बन्ध भएका ढकाल र कार्कीबीच अहिले पानी बाराबारको अवस्था छ । 
मुख्यमन्त्री कार्कीले ढकाललाई अहंकारी भन्ने र ढकालले कार्कीलाई 'ओलीको निम्छरो चाटुककार' भन्नेसम्मका 'हेट स्पिच' दिने गरेको एक एमाले कार्यकर्ता बताउँछन् । उनै कार्कीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको मनसाय र धारणा यस्तो छ भनेर कोशी प्रदेशका भएभरका पार्टीको उपल्लो तहका नेताहरूलाई ढकालविरुद्ध मोर्चाबन्दी गराएको आरोप छ । सोही मोर्चाबन्दीका कारण पार्टीको ठूलो शक्ति घनश्याम खतिवडाको पक्षमा लाग्यो भने ढकालले केही चानचुने नेता कार्यकर्ताको बलमा चुनाव लड्नुपर्ने अवस्था बन्यो । सारा शक्ति खतिवडाको पक्षमा लाग्दा पनि ढकालले कडा टक्कर दिनेगरी सम्मानजनक मत ल्याए । 

उक्त अधिवेशनमा ढकालले ४३० र खतिवडाले ५१२ मत ल्याएका थिए । चारतिरबाट छेक्दा पनि ढकाल चार सय मत कटाएर आफू शक्तिसम्पन्न नै भएको सन्देश दिन सफल भए । 'ढकालविरुद्ध मोर्चाबन्दी गरेको एउटा शक्तिलाई उनलाई हराएरमात्र चित्त बुझेन, सिध्याएरै निद्रा लाग्ने देखियो' एमालेका एक महानगर सदस्य भन्छन्, 'जसको चरणवद्ध कार्यान्वयनका क्रममा आगामी जिल्ला अधिवेशनमा ढकालका मान्छे नआउन् भनेर महानगर कमिटीलाई टार्गेट गरियो ।' उनका अनुसार, विराटनगर महानगरमा मात्रै एमालेका ३५ सयभन्दा बढी संगठित सदस्य छन् । जिल्ला अधिवेशनमा अनुपातिक प्रतिनिधि छनौट गर्दा विराटनगर महानगरबाट मात्रै डेढ सयभन्दा बढी प्रतिनिधि छनौट हुने अवस्था छ ।

विगतको प्रदेश अधिवेशनमा पनि महानगरले ढकाललाई राम्रै भोट दिएको थियो । सोही सिलसिला जिल्ला अधिवेशनमा पनि जारी हुने हो भने जिल्लामा ढकालले जसलाई समर्थन गर्छन् उनैले जित्ने सम्भावना बलियो देखिन्छ । व्यवहारमा पनि अहिले एमाले पार्टीका मोरङ अध्यक्ष बाबुराम कार्कीले कारवाही गरिएका भनिएका सागर थापाको पक्षमा महानगरका १८ वटा वडा कमिटी सतिसालझै खडा भएको छ । वडा नं. ११ का अध्यक्ष बलराम कारञ्जितमात्रै थापाको कारवाहीका विषयमा बोलेका छैनन् । कारञ्जित अग्रगमन-प्रतिगमन हुँदै पछिल्लो पटक नेकपा एमाले पार्टीमा जोडिएका पात्र हुन् । बाँकी वडादेखि महानगर सिंगो कमिटी थापालाई गरिएको भनिएको कारवाहीका विषयमा विपक्षमा देखिन्छ ।
 
गएको स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट मेयर पदका उम्मेदवार थापा अहिले एमाले महानगर कमिटीको अध्यक्ष छन् । उनले आसन्न जिल्ला अधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । जिल्ला अधिवेशनमा महानगरबाट बाक्लो संख्यामा प्रतिनिधि छानिने भएकाले थापा अध्यक्ष पदमा भारी पर्ने ठानेर उनीमाथि कारवाहीको नाटक मञ्चन गरिएको महानगरस्तरीय कार्यकर्ताहरूको गुनासो छ । तिनै कारवाही गरिएका भनिएका थापाको पक्षमा पार्टी कार्यकर्ताको असाधारण समर्थन देखिएपछि उनीमाथि गरिएको कारवाहीको जिम्मेवारी लिन अहिले कोही तयार देखिएका छैनन् । थापालाई जेठ ३१ गते एमाले मोरङका भर्खरै मनोनित अध्यक्ष बाबुराम कार्कीले कारवाहीको पत्र थमाएका हुन् ।

कारवाही पत्रमा कार्कीले थापालाई मानगढ खानेपानीको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लगाएका छन् । सवा तीन लाइनको पत्रको दोस्रो लाइनमा पार्टीको विधानको दफा र तेस्रो लाइनमा थापालाई संगठित कमिटीको पदबाट हटाउने र पार्टी सदस्यतासमेतबाट निलम्वन गरिएको व्योहोरा उल्लेख छ । 

यता कारवाहीको पत्र थमाएर कार्की भने पाञ्चालीस्थित पार्टी कार्यालयको पहुँचभन्दा बाहिर बसेका छन् । स्रोतका अनुसार, पार्टी कार्यालय पाञ्चाली दिनभरि थापा पक्षको कार्यकर्ताको कब्जामा हुन्छ । साँझ परेपछिमात्र कार्की पार्टी कार्यालय पुग्ने गरेका छन् । कार्यकर्ताका तिब्र दबाब बढ्न थालेपछि कारवाहीको पत्र थमाउने हस्ताक्षरकर्ता स्वयं कार्की पनि माथिको आदेशअनुसार कारवाही गरिएको बताउन थालेको बुझिएको छ ।

'अहिले थापालगायतमाथि गरिएको कारवाहीको जिम्मेवारी लिन कोही तयार देखिएका छैनन्' एक कार्यकर्ता भन्छन् 'उही पुरानै शैलीमा अध्यक्ष ओलीको अनुमतिमा गरिएको भनेर हल्ला पिटाइएको छ ।' एमाले पार्टीमा ओलीको आदेश भनेपछि सबै थुरथुर हुने भएकाले थापामाथिको कारवाही जङ्गेको शासनमा गरिएको कारवाहीझै हुने उनको आशंका छ । 'रुख बाङ्गो देखे पनि अब कसैको गर्धन चिलाउँछजस्तो लागेन' उनले भने, 'हेर्दाहेर्दै आफ्नै भनेको पार्टी 'जाउँ कहाँ गाउँ छाडी लुक्ने शहर देख्या छैन' भन्ने गीतजस्तै हुने भयो ।'

View : 552

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved