विराटनगर । नेपाल किसान महासंघ विराटनगर महानगर समितिले किसानहरूले भोग्दै आएको समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउन नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई आग्रह गरेको छ ।
शुक्रबार विराटनगर आएका कांग्रेस महामन्त्री थापालाई भेटेर नेपाल किसान महासंघ महानगर समितिले तीन बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै त्यसबारे संघीय सरकारको ध्यानाकर्षण गराउन आग्रह गरेको हो ।
महासंघ महानगर समितिका अध्यक्ष देवेन्द्र पोखरेलका अनुसार किसानहरूले प्रयोग गर्दै आएको किटनाशक औषधि तथा कृषि औजारमा लगाइएको मूल्य अभिबृद्धि कर खारेजीको पहल गर्न माग गरिएको छ ।
हालै सरकारले ल्याएको बजेट मार्फत किटनाशक औषधि तथा कृषि औजारमा मूल्य अभिबृद्धि कर लगाउँदा किसानलाई निकै समस्या हुने अध्यक्ष पोखरेलले बताए ।
यसैगरी सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले सात महिनादेखि किसानहरूलाई दूधको भुक्तानी नदिएको भन्दै रोकिएको भुक्तानी उपलब्ध गराउन पहल गरिदिन र किसानहरूलाई समयमै मलखादको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउन महासंघले माग गरेको छ ।
नेपाल किसान महासंघ मोरङका अध्यक्ष बसन्त होमागाईं, महानगर अध्यक्ष देबेन्द्र पोखरेल लगायतको टोलीले बुझाएको ध्यानाकर्षणपत्र बुझेपछि महामन्त्री थापाले त्यसबारे सरकारको ध्यानाकर्षण गराउने बताएका थिए ।
View : 139
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved