Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

धरानका मेयर साम्पाङले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाए

उद्घोष सम्वाददाता
१३ पुष २०८०, शुक्रवार

इटहरी । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले कार्यकक्षमा राखिएको नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएका छन् । सामाजिक सञ्जालमा ‘स्ट्याटस्’ लेख्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउने बताएका साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउँदै यलम्बरको फोटो टाँसेका छन् ।

बिहीबार उनले आफ्नो कार्यकक्षमा किराती राज यलम्बरको फोटो राखेपछि ताला लगाएर निस्केको एक कर्मचारीले बताए ।

साम्पङले बुधाबार सामाजिक सञ्जालमा लेखेका थिए ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु ! जय देश !’

त्यस्तो स्ट्याटस लेखेको भोलिपल्ट बिहीबार साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएका हुन् । केही दिनअघि पनि साम्पाङले धरानलाई स्वायत्तता दिनुपर्ने माग राखेका थिए ।

स्वायत्तता माग गर्दै सामाजिक सञ्जालमा लेखेका थिए, ‘धरानलाई कि त विकास देऊ नत्र स्वायत्तता देऊ ! स्वायत्तता दिए तिमेरुको केही चाहिदैन हाम्लाई ! स्वतन्त्र राज्य बनाउन नपरोस् ! बिचार चोङ्गे !’ पछिल्लो केही समयदेखि मेयर साम्पाङले धरानमा विमानस्थल बनाउनुपर्ने माग गर्दै आएका थिए ।

तर उनले माग गरे अनुसार विमानस्थल बन्ने अवस्था नभएपछि साम्पाङ संघीय सरकारप्रति आक्रोशित हुँदै आएका छन् ।

View : 156

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved