Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
वातावरण

विज्ञानको आविष्कारको गलत प्रयोगले जलवायु परिवर्तन : आचार्य

उद्घोष सम्वाददाता
२७ मंसिर २०८०, बुधवार

विराटनगर । कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्यले मानव विकासक्रम वर्तमान युगमा आइपुग्दा वैज्ञानिक आविष्कारको उपयुक्त प्रयोग नभएको भन्दै त्यसैका कारण श्रृजित गलत परिणामका रुपमा जलवायु परिवर्तनको समस्या बढिरहेको बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा द एशिया फाउण्डेशन र कम्यूनिटी इन्गेजमेन्टको सहकार्यमा जलवायु विक्त र बजेट सम्बन्धी अन्तरत्रियामा बोल्दै आचार्यले जलवायु परिवर्तनको समस्यालाई वैज्ञानिक आविष्कार र नयाँ प्रविधिको विकासको उचित प्रयोग नभएका कारण उत्पन्न भइरहेको बताएका हुन् ।

उनले नेपालमा सम्मृद्धि सम्भव भए पनि कुल ग्रार्हस्थ उत्पादनको आधाभन्दा बढी हिस्सा अमेरिका, चीन र भारत जस्ता केही देशले ओगटेको र उनीहरूले हाँसिल गरेको आर्थिक बृद्धिका लागि प्रयोग गरिएका प्रविधिको दुष्परिणाम नेपाल लगायतका देशहरूले भोग्दै आएको बताए ।

उपाध्यक्ष आचार्यले जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा लगानीका लागि विकसित देशहरूलाई बाध्य पार्न सक्नुपर्ने बताए । विकसित देशहरूले आफ्नो कुल ग्रार्हस्थ्य उत्पादनको दुई प्रतिशत बजेट जलवायु परिवर्तन न्यूनीकरणका क्षेत्रमा लगानी गर्नुपर्ने बताए । त्यसका लागि सरकारले आन्तरिक क्षमता र कुटनीतिक दक्षता बढाउन आवश्यक रहेको सुझाव दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सरकार र निजी क्षेत्रको साझेदारी आवश्यक देखिएको बताए । उनले प्रदेश सरकार र  निजी क्षेत्रबीच हातेमालो आवश्यक रहेको बताए । 

विद्युत आपुर्ति सहज नहुँदा जनेरेटर चलाएर उद्योग व्यवसाय चलाउनुपर्ने बाध्यता रहेको बताउँदै अध्यक्ष राउतले सोही कारण हरितगृह ग्यास उत्पन्न हुनेतर्फ सरकारको ध्यानार्षण गराए । 
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्याम भण्डारीले प्रदेश सरकारका सबै निकायले जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणका लागि कार्यक्रमहरू गर्दै आएको बताए । तर त्यसको प्रभावकारिकता अझै बढाउँदै लैजानुपर्नेमा जोड दिए । 

बजेट निर्माण र त्यसको कार्यान्वयनको प्रक्रियामा समेत जलवायु बजेटको दृष्टिकोणबाट हेरिनुपर्ने र बजेट विश्लेषण गर्न क्षमता अभिबृद्धि र कार्यविधिगत स्पष्टता बढाउन प्रदेश सरकारले समेत काम गर्नुपर्ने अवस्था उत्पन्न भएको बताए । 

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव गोपिनाथ मैनालीले जलवायु बजेटसम्बन्धी अवधारणा, जलवायु परिवर्तनको कारण र असर, जलवायु विक्त र जलवायु बजेटका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमिति सदस्य रविन दाहाल, पर्यटन, वन तथा वातावरण मन्त्रालयका जलवायु विभागमा कार्यरत अधिकृत विनोद खतिवडा, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका शम्भु शाह लगायतले जलवायु परिवर्तन, जलवायु वित्त र जलवायु बजेटका बारेमा आफ्ना धारणा राखेका थिए । 

View : 183

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved