Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

‘मुक्तिनाथ एग्री–फाइनान्स ३६०’ को वृहत् मन्थन

उद्‌घोष संवाददाता
२० पुष २०८२, आइतवार

विराटनगर । नेपालको प्रतिष्ठित मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो २०औं वर्ष प्रवेशको अवसरमा कृषि क्षेत्रको आमूल परिवर्तनका लागि एउटा नवीन पहल सुरु गरेको छ । बैंकले विराटनगरमा शनिबार ‘मुक्तिनाथ एग्री–फाइनान्स ३६०’ कार्यक्रम सम्पन्न गर्दै कृषि लगानी, उत्पादनशीलता र किसानको दिगोपनका लागि भावी मार्गचित्र प्रस्तुत गरेको छ ।

कार्यक्रमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा मदन परियारले सरकारले चाँडै नयाँ कृषि नीति ल्याउन लागेको जानकारी दिए । 

उनले भने, ‘कृषिलाई प्रविधिसँग जोडेर युवा स्वरोजगार सिर्जना गर्न र साना किसानको वित्तीय पहुँच बढाउन सरकारी, सहकारी र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक छ ।’ मन्त्री परियारले महिलामैत्री कृषि विकास र कृषि बीमालाई प्राथमिकता दिइने समेत बताए ।

कार्यक्रममा कृषि मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले बैंकहरूले कृषि सम्बन्धी सहायक कम्पनी नै स्थापना गरेर काम गर्नुपर्ने सुझाव दिए । 

त्यस्तै, बैंकिङ विशेषज्ञ अजय श्रेष्ठले ‘नेपालमा कृषि उद्यम लगानीः चुनौती र अवसर’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै एआई आधारित क्रेडिट स्कोरिङ जस्ता डिजिटल सेवामार्फत कृषि कर्जाको जोखिम न्यूनीकरण गर्न सकिने औंल्याए ।

बैंकिङ विज्ञ भुवन दाहालको सहजीकरणमा भएको प्यानल छलफलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल, बैंकका सीईओ गोविन्द गुरुङ, कृषि उद्यमी विमला आचार्य दाहाल लगायतले कृषि लगानीलाई मूल्य शृंखलासँग जोड्नुपर्नेमा जोड दिए । 

छलफलले भण्डारण, नमुना खेती र बजार सुनिश्चितताका लागि प्रदेशस्तरमै संरचना बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष लीलप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा नेपाल राष्ट्र बैंक, विभिन्न वित्तीय संस्था, बीमा कम्पनी, र कृषि विज्ञ गरी करिब ३०० जनाको सहभागिता थियो ।

बैंकका सीइओ प्रद्युमन पोखरेलले कार्यक्रमको सारसंक्षेप प्रस्तुत गर्दै भने, ‘बैंकिङ क्षेत्रमा सम्भवतः यो पहिलो प्रयास हो जहाँ कृषिका सबै सरोकारवाला एउटै मञ्चमा जुटेका छन् । यसले ग्रामीण अर्थतन्त्रको समृद्धिका लागि नयाँ मार्गचित्र कोर्नेछ ।’

View : 121

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved