Biratnagar, Morang, Nepal
२७ फागुन २०८२, बुधवार
+977 21 450305, 515728, 578305
शिक्षा

अरनिकोका विद्यार्थीले तयार पारे एआईमा आधारित उत्कृष्ट परियोजना

उद्‌घोष संवाददाता
२७ फागुन २०८२, बुधवार

विराटनगर । विराटनगर–१० स्थित अरनिको कलेजका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित विभिन्न सफ्टवेयर निर्माणसम्बन्धी परियोजना तयार पारेका छन् ।

४५ घण्टाका तालिममा सहभागी २२ वटा समूहबाट छनौट भएका ९ वटा उत्कृष्ट समूहले मंगलबार आफ्ना परियोजना प्रस्तुत गरेका हुन् ।

आइटी कम्पनी सयपत्री ग्रुपसँगको सहकार्यमा ‘अभियान ः डिजाइनिङ द फ्युचर’ भन्ने नाराका साथ सुरु भएको परियोजना तयारी र प्रस्तुतिकरण पश्चात उत्कृष्ट तीन समूहलाई २५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको जनाइएको छ ।

नौ वटा समूहले स्वास्थ्य, बाणिज्य र शिक्षा सम्बन्धी परियोजना तयार पारेर प्रस्तुतिकरण गरेको सयपत्री ग्रुपका प्रमुख कार्यकारी अधिकृत श्यामकृष्ण गुप्ताले जानकारी दिए । उनले विद्यार्थीहरूलाई तालिमपछि तयार पारिएको परियोजनाबारे प्रस्तुतिकरण गर्न लगाएर तीनवटा समूहलाई उत्कृष्ट घोषित गरिएको बताए । 

पुरस्कृत हुनेहरूमा स्वास्थ्यतर्फ टिम अप्पुका पुजा यादव र आदित्य साह, बाणिज्यका टिम स्काडका क्रोनमन भण्डारी, शक्ति रसाइली, आयुश खनाल र डेभिड थापा, शिक्षातर्फ टिम डिजास्टर डिफेण्डरका अभिशेक मेहता, मोहमद साहिद, राकेश यादव रहेको उनले बताए ।

उनले विराटनगरलाई प्रविधिमा पनि बलियो क्षेत्र बनाउन यस प्रकारको अभियानले सहयोग गर्ने दाबी गरे । 

अरनिको कलेजका प्रिन्सिपल राजेश कार्कीले सीपसहितको शिक्षामा जोड दिइएको बताए । तालिमपश्चातको परियोजना प्रस्तुतिकरणमा विद्यार्थीहरूले उत्कृष्ट परियोजना अघि सारेको बताए ।

कलेजले यसअघि पनि ‘टिम ह्याकाथन’ र ‘गेमिङ कम्पिटिशन’ लगायतका सूचना र प्रविधिसम्बन्धी प्रतियोगिता गराउँदै आएको जानकारी दिए ।

विद्यार्थीलाई प्रशिक्षकहरू अनिस दाहाल, श्यामकृष्ण गुप्ता र रबिन पौडेल लगायतले सहजीकरण गरेको जनाइएको छ । प्रस्तुतिकरणको निर्णायकमा इन्जिनियर अभय कर्ण र विकास गुप्ताले थप सहजीकरण गरेका थिए ।

View : 34

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved