सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा एक मतदान केन्द्र थप गर्ने निर्णयसहित निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले धरान उपमहानगरपालिकामा एक मतदान केन्द्र थप गर्ने निर्णयसहितको सिफारिस निर्वाचन आयोगमा पठाएको हो ।
मतदाताको अत्यधिक चाप रहेको भन्दै धरान–११ मा एउटा मतदान केन्द्र थप गर्ने निर्णयसहित जिल्ला निर्वाचन कार्यालय सुनसरीमार्फत केन्द्रमा सिफारिस पठाइएको निर्वाचन अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार धरान–११ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालय, न्यूरोड मतदान स्थलमा मतदाताहरुको चापलाई व्यवस्थापन गर्न वडा मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट सिफारिस आएपछि प्रक्रिया अघि बढाइएको थियो ।
सिफारिस समितिबाट धरान–११ को अनन्त शिक्षा आधारभूत विद्यालयमा मतदान केन्द्र संख्या २ (दुई) कायम गर्ने गरी १ हजार ७ सय ३ आंशिक मतदातालाई सार्नका लागि सिफारिस गर्ने सर्वसम्मत निर्यण गरिएको पौडेलले जानकारी दिए ।
सुनसरीको श्रीलंका टापुसहित अन्य केही स्थानीय तहमा समेत मतदान केन्द्र थप्न माग भएपनि सीमित स्रोत र साधनका कारण यस पटक थप्न नसकिएको र अन्य स्थानीय तहका वडामा कायम रहेका मतदान स्थललाई यथावत राखे सर्वसम्मत निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।
बैठकले मतदान केन्द्र निर्धारण सम्बन्धी मापदण्डमा भएका अनुसूची अनुसारको विवरण तयार गरी जिल्ला निर्वाचन कार्यालयमार्फत निर्वाचन आयोगमा पठाउने सर्वसम्मत निर्णय पनि गरेको छ ।
View : 269
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved