Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

प्रदेशसभा बैठक : हात्ती नियन्त्रणदेखि प्रहरी समायोजनसम्मको माग

उद्घोष सम्वाददाता
२४ मंसिर २०८०, आइतवार

विराटनगर : कोशी प्रदेश सभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले जंगली हात्तीका कारण भइरहेको क्षति न्यूनीकरण र नियन्त्रणदेखि प्रदेशमा प्रहरी समायोजनसम्मका विषयलाई जोडदारका साथ उठाएका छन् । उनीहरूले सरकारले प्रभावकारी रूपमा काम गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

नेपाली कांग्रेसका सांसद इस्राइल मन्सुरीले सुनसरीमा मन्दिरको जग्गा व्यक्तिले हड्पेर मनोमानी गरेको भन्दै कडा कारवाहीको माग गरेका छन् । उनले बर्जु गाउँपालिका–१ गोपीचोकमा मन्दिरको नाममा रहेको ९ कट्ठा जग्गालाई सट्टा गरी मन्दिर व्यवस्थापन समितिकै पदाधिकारीले उक्त जग्गा आफ्नो नाममा पारेको आरोप लगाए ।

मन्दिरको नाममा रहेको जग्गालाई पदाधिकारीले जोगाउनु पर्नेमा व्यक्तिको नाममा पारेको भन्दै त्यसको छानबिन गरी दोषी उपर कडा कारवाही गर्न सरकारसँग माग गरे । 

साथै जाडो सुरू भएसँगै शीतलहर चलेकोले नागरिकहरूलाई बचाउनका लागि जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीच समन्वय गरी आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

नेकपा एमाले संसदीय दलकी सचेतक कमला दर्नालले दलित महिलालाई आश्रममा बस्नबाट रोकिएको भन्दै जातिय रूपमा विभेद गर्नेहरूलाई कानुन अनुसार कारवाही गर्न माग गरिन् । उनले उर्लाबारी नगरपालिका–३ की एक सुन्दास थरकी महिलालाई विराटनगरको महिला जागृति बृद्धाश्रमले दलित भएका कारण बस्न नदिएको दाबी गरिन् । बृद्धाश्रम सञ्चालकविरूद्ध मंसिर २० मै प्रहरीमा उजुरी दर्ता भइसकेका कारण आवश्यक कारवाहीको माग गरिन् ।

एमाले सांसद किशोरचन्द्र दुलालले राजनीतिक रूपान्तरण भए पनि सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरण हुन नसकेको उदाहरण दलित महिलालाई बृद्धाश्रममा बस्न नदिइएको घटनालाई लिनु पर्ने बताए । उनले प्रदेश सरकारले चाँडो दलित अधिकार ऐन बनाएर जातभातका आधारमा हुने विभेद अन्त्य रोक्नुपर्ने धारणा राखे ।

एमाले सांसद जयप्रकाश चौधरीले कलंकको रूपमा जातिय छुवाछूत कायम रहेको बताए । उनले बृद्धाश्रममा पठाइएकी शोभा सुन्दासलाई दलित भएकै कारण त्यहाँ बस्न नदिइएको भन्दै अमानवीय व्यवहार अन्त्य गर्नुपर्ने बताए । चौधरीले दलित अधिकार सम्बन्धी ऐन ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

माओवादी केन्द्रकी सांसद गीता तिम्सिनाले मोरङको बेलबारी नगरपालिका–८ र ९ मा जंगली हात्तीको समूहले स्थानीयको अन्नबाली खाइदिनुका साथै दुईजनाको ज्यान लिइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

उनले हात्तीका कारण मानिसहरूले राति निदाउन समेत नपाएको बताइन् । ‘नागरिकहरू रातमा निदाउन फाएका छैनन्, असुरक्षित बनेकोले आक्रोस व्यत्त भइरहेको छ’ उनले भनिन्, ‘स्थानीय तहको प्रयासबाट साइरन बजाउने र लाइट बाल्ने काम भइरहेको छ, तर बच्चासहितको हात्तीको समूहले त्यो क्षेत्र छोड्ने अवस्था देखिएको छैन ।’ 

उनले प्रदेश सरकारले तुरून्तै जनताको सुरक्षामा पहल गर्नुपर्ने बताइन् । तिम्सिनाले हात्ती भगाउन ड्रोनबाट हात्तीको कानको छेउमा कराउने र ट्रेन्चहरू बनाउनुपर्ने माग गरिन् ।

राप्रपाका सांसद गोपालबहादुर विश्वकर्माले मुख्यमन्त्री कार्कीले इटहरीमा आगोले पोलेका मानिसहरूको उपचारका लागि अस्पताल बनाउने कुरा गरे पनि त्यसको कार्यान्वयन हुन नसकेको बताए । उनले पनि हात्तीको प्रकोप बढ्दै गएको भन्दै पीडितहरूलाई प्रदेश सरकारले उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरे । 

माओवादीका सांसद गोम्बु शेर्पाले प्रदेशमा प्रहरी हस्तान्तरण हुन नसक्नुको कारण सरकारले दिनुपर्ने बताए । केही दिनअघि मात्रै सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरूले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर तत्कालै प्रहरी हस्तान्तरण गर्न आग्रह गरेको तर त्यसको जवाफबारे जानकारी नभएको भन्दै जवाफ दिन सरकारलाई आग्रह गरे । 

‘प्रहरी प्रदेश अहिलेसम्म हस्तान्तरण भएको छैन, सातै प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीले प्रधानमन्त्री र गृहमन्त्रीलाई तत्काल हस्तान्तरण गर्न समन्वय र दवाव गर्नुभएको थियो’ उनले भने, ‘त्यतिबेला जवाफ के आयो, कहिले हस्तान्तरण हुन्छ, जवाफ चाहन्छु, त्यसको थप पहल गर्न ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले सरकारले पहिचानवादी आन्दोलनरत पक्षहरूसँग वार्ता गर्न ढिलाई गरिरहेको भन्दै त्यसको समेत कारण स्पष्ट पार्न माग गरे ।

एमालेकी मीना श्रेष्ठले विराटनर–इटहरी–धरान नगर बस सञ्चालन गर्नुपर्ने बताइन् । त्यसका लागि इटहरी र धरान सडक खण्डको कालोपत्रेको बाँकी कामसमेत छिटो सम्पन्न गर्न प्रदेश सरकारले पहल गर्नुपर्ने माग गरिन् ।

कोशी राजमार्ग विस्तारका क्रममा इटहरीमा सडक छेउछाउमा घर भत्काएपछि तीन महिनाभित्रै सडक निर्माण गर्ने प्रतिवद्धता जनाइएको तर अहिलेसम्म ड्रेन पनि नबनेकोमा उनले ध्यानाकर्षण गराइन् ।

एमालेकै रोहितबहादुर कार्कीले आगलागीका घटनाबाट गरीवहरू मारमा परेको भन्दै राहत र क्षतिपूर्तिका लागि सरकारसँग माग गरे । उनले सुनसरी जिल्लामा मदरसाहरूमा अंग्रेजी विषयको शिक्षकको अभाव रहेको भन्दै त्यहाँ शिक्षक पठाउन माग गरे ।

View : 168

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved