विराटनगर । मोरङको ग्रामथान–४ कटहरास्थित जूवाको खालबाट प्रहरीले पक्राउ गरेका ९ जना मध्ये केही व्यक्तिहरु जूवालाई कमाउने धन्दा बनाउने संगठित गिरोहमा संलग्न भएको पाइएको छ ।
उनीहरुको गिरोह पत्ता लगाउन प्रहरीले बयान लिइरहेको छ । गिरोहमा कस्ता सदस्य छन् र कहाँ कहाँका मानिस छन् भन्ने उनीहरुको बयानबाट खुल्ने स्रोतले बताएको छ । गत भदौ २९ गते पक्राउ परेकाहरुलाई प्रहरीले ५ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति लिएको थियो । शुक्रबार पुनः म्याद थप हुने बताइएको छ ।
पक्राउ परेका मध्ये केही पेशेवर पटके जुवाडे भएकाले जिल्ला प्रशासन कार्यालयबाट मात्र नभई जिल्ला अदालतबाट पनि मुद्दा चल्ने प्रहरीको भनाइ छ । जूवाको मुद्दा पटक–पटक भोगेका मोरङ उर्लाबारीका अर्जुन तुम्रोक भने जुवाको खालबाट प्रहरीलाई लडाएर भागेका थिए । मोरङ प्रहरीका अनुसार हिरासतमा रहेका जुवाडेहरु संगठित रुपमा धन्दा चलाउने भएकाले उनीहरुसँग कस कसको संलग्नता छ भनेर बयान लिने काम भई रहेको छ ।
उनीहरुको बयानका आधारमा तुम्रोकबिरुद्ध पनि मुद्दा चल्न सक्ने देखिएको छ । ‘गाडीमा मोबाइल जूवाको खाल बोकेर हिंड्नेहरु छन्, उनीहरु संगठित छन्’ एक प्रहरी अधिकृतले भने । पक्राउ परेका मध्ये केही बिभिन्न ठाउँमा जूवा खेल्न हिड्छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दशैं तिहार लक्षित गरेर सुरक्षा सुनिश्चितता अभियान सञ्चालन गरेर जूवाको खाल खोजी गरेको थियो । कटहरामा जूवाको खाल सामुदायिक भवनमा चलाइएको थियो ।
पक्राउ पर्नेहरुमा मोरङ ग्रामथान–४ का ५५ वर्षीय अहिलाल माझी, ग्रामथान–४ का ५९ वर्षीय शिवनारायण माझी, सुन्दरहरैंचा नगरपालिका–१ का ४५ वर्षीय जयकिश्वर साह, सुन्दरहरैचा–१ का ५० बर्षीय जनककुमार मास्केलगायत छन् । अन्यमा सुन्दरहरैंचा–३ का ३० बर्षीय प्रताप भन्ने इच्छा राई, लेटाङ नगरपालिका– ९ का ३८ बर्षीय लोकनाथ सापकोटा, झापा दमक नगरपालिका–१० का ४६ बर्षीय ऋतुबर्ण नेम्वाङ छन् ।
यसैगरी धरान–१५ का ४५ बर्षीय युवक राई र महोत्तरी गौसाला नगरपालिका–१ का ४५ वर्षीय महेश साह छन् । प्रहरीले जुवाको खालबाट कौडा १६ थान, तास १२ बुक, पाउडर २ बट्टा, कपडाको झोला २ थान, मोबाइल १५ थान र नगद १८ लाख ४९ हजार ५ सय रुपैयाँसमेत बरामद गरेको छ ।
View : 87
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved