विराटनगर । सोलुखुम्बुको उच्च हिमाली खुम्बु क्षेत्रमा रहेका दुईवटा हिमताल फुटेका कारण शुक्रबार खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे बस्ती बगाउने बाढी आएको पुष्टि भएको छ । बाढीका कारण थामे बस्तीमा ठूलो क्षति भएको छ । बाढीमा परेर हराइरहेका एक सर्वसाधारण फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा शनिबार सोलुका प्रतिनिधि सभा सदस्य एवं नेपाल सरकारका रक्षामन्त्री मानवीर राईको नेतृत्वमा गएको जलबायु विज्ञहरूसहितको टोलीले बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट अवलोकन गर्दा हिमताल फुटेको तथ्य सार्वजनिक भएको हो ।
थामेभन्दा उत्तरी क्षेत्रमा रहेका ६ वटा हिमताल मध्ये सबैभन्दा माथिल्लो ताल फुटेर त्यसभन्दा तलको अर्को तालमा पानी भरिएको र उक्त ताल पनि फुटेपछि थामे खोलामा लेदो सहितको भिषण बाढी आएको जनाइएको छ । हेलिकप्टरबाट हिमताल रहेका क्षेत्रको अवलोकन गर्दा हिमताल फुटेको पाइएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताए ।
उनले पीडितहरूसँग भेटघाट गरेर घरहरू पूर्णरूपमा क्षति भएका परिवारलाई तत्काल बसोबासको व्यवस्थाका लागि नगद ५० हजार रूपैयाँसहित आवश्यक थप राहत सामग्री उपलब्ध गराइएको जानकारी दिए ।
अध्यक्ष शेर्पाका अनुसार थामे बाढीका कारण १५ परिवार पूर्ण रूपमा विस्थापित भएका छन् । त्यसैगरी ३० घर परिवारको घर आंशिक क्षति भएकोले प्रति परिवार १० हजार रूपैयाँ उपलब्ध गराइएको बताए ।
थामेमा ४६ वटा घरहरू रहेको जनाइएको छ । सोही अवसरमा गृह मन्त्रालयले बाढीका पूर्णरूपमा बिस्थापित भएका १५ परिवारलाई तत्काल बसोबासको व्यव्यस्थापन गर्न प्रति परिवार १५ हजार रूपैंया वितरण गरेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् ।
दिउँसोको समयमा बाढी आएका कारण ठुलो जनधनको क्षति हुनबाट बचेको थामेस्थित आधारभूत विद्यालयका प्रधानाध्यापक ओमप्रसाद भट्टराईले बताए । विद्यालयमा करीव ५० जना विद्यार्थी र ८ जना शिक्षकहरू कार्यरत रहेकै बेलामा थामे खोलामा ठूलो बाढी आएको खबर पाएपछि सुरक्षित स्थानमा पुग्न सफल भएको ऊनले बताए ।
‘हिजो हाम्रो विद्यालयमा कार्यक्रम थियो, कार्यत्रम सकेर होस्टलमा खाना खाने बेलामा ठूलो बाढी आएको खबर आयो’ उनले भने, ‘स्कुलको छेउबाटै खोला बग्यो, हामीले समयै बाढी आएको थाहा पाएका कारण बच्न सफल भयौँ ।’
हिमताल फुटेर उर्लिएको थामे खोला दुधकोशीमा मिसिँदा आएको बाढीले सोलुखुम्बुको पर्यटकीय खुम्बु क्षेत्र जोड्ने मितेरी पुल क्षतिग्रस्त बनाएको छ । माप्य दुधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने उक्त पुलमा क्षति गर्दा दुई गाउँपालिकाबिचको सडक सम्पर्क टुटेको जनाइएको छ ।
सोलु सदरमुकाम सल्लेरीदेखि लुक्ला हुँदै सगरमाथा आधार शिविर जोड्ने सडक खण्डमा पाँच वर्षअघि निर्माण गरिएको उक्त ट्रष्ट पुल बाढीले क्षति गरेको सोही क्षेत्रका प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले बताए ।
उनले दुधकोशीको बाढीले माप्य दुधकोशी गाउँपालिका–१ मा रहेको पुलको बेस बगाउँदा उक्त पुल भासिएको जानकारी दिए । बाढीले सडक समेत कटान गरेर क्षति पुर्याएको जनाइएको छ । पुल भासिएपछि खुम्बु क्षेत्रका लागि चल्ने सवारी साधनको आवत जावत बन्द भएको छ ।
तत्कालीन संघीय सांसद हेमकुमार राईको संसदीय विकास कोषबाट १ करोड, प्रदेश सरकारको २ करोड र बाँकी रकम माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकाको संयुक्त लगानी गरी कुल ७ करोड २९ लाख ९७ हजार २ सय रूपैयाँको लागतमा पुल निर्माण भएको थियो ।
४८ मिटर लामो र ६ मिटर चौडाइको उक्त पुलको उद्घाटन २०७७ मंसिर ६ गते कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले गरेका थिए ।
View : 207
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved